न्याय माग्दै पत्रकार सडकमा

न्याय माग्दै पत्रकार सडकमा

वीरगन्ज : सन्चारकर्मीलाई कुटपिट र दुर्व्यवहार गर्ने प्रहरीलाई कार्वाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारहरुले मङ्गलबार पनि सडकमा धर्ना दिंदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा पत्रकारहरुले मङ्गलबार पनि घण्टाघर चोकमा १ घण्टा धर्ना दिंदै प्रदर्शन गरेका हुन् । 
 
यसअघि सोमबार पनि घण्टाघरमै पत्रकारहरूले प्रहरी ज्यादतीको विरोधमा आधा घण्टा धर्ना दिएर प्रदर्शन गरेका थिए । मङ्गलबार बिहान १० देखि ११ बजेसम्म घण्टाघर चोकस्थित सडकमै धर्ना दिएका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापन पत्र पनि बझुाएका छन् । पत्रकारलाई कुटपिट र दुर्व्यवहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

 
वीरगन्जको नारायणी एफएम र नयाँ पत्रिकाका संवाददाता तिवारी यादवलाई प्रहरीले गत आइतबार एफएम स्टेशनबाटै पक्राउ गरेर हातपात पनि गरेको थियो । ४ घण्टासम्म प्रहरी हिरासतमा राखिएका पत्रकार यादवलाई, पत्रकार महासंघको दबावपछि भने प्रहरीले बेलुकी साढे ६ बजेपछि मात्रै रिहा गरेको थियो ।
घटना भएको ३ दिन बितिसक्दा पनि घटनाको बारेमा छानबिन गरी दोषी प्रहरीलाई कार्वाही गर्न प्रहरी प्रमुखले चासो नदेखाएको पत्रकार महासंघको आरोप छ । 

दोषी प्रहरीलाई कार्वाही गर्न जिल्लका प्रहरी प्रमुखले कुनै चासो नदेखाएपछि न्यायका लागि बाध्य भएर मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको महासंघ पर्साका अध्यक्ष बन्जाराले बताए । '३ दिनको अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएका छौँ', उनले भने, ‘३ दिनभित्र दोषी प्रहरीलाई निलम्बन गरि विभागीय कार्वाही भएन भने अझ शसक्त आन्दोलनमा उत्रिन्छौँ।' 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कार्कीले पत्रकार महासंघको मागका विषयमा सम्बन्धित प्रहरी प्रमुखको ध्यानाकर्षण गराउने आश्वासन दिए । 

पिडित पत्रकार यादवको मोबाइल ३ दिनदेखि प्रहरीको कब्जामा 

प्रहरीले कुटपिट गर्दै पक्राउ गरी ४ घण्टा  हिरासतमा राखेर रिहा गरेका पत्रकार तिवारी यादवको मोबाइल , प्रहरीले फिर्ता नदिइ ३ दिनदेखि आफ्नो कब्जामा राखेको छ । गत आइबार पत्रकार यादवलाई पक्राउ गर्ने क्रममा प्रहरीले ३ थप्पड हिर्काउँदै उनको मोबाइल खोसेको थियो । तर घटना भएको ३ दिन बितिसक्दा पनि यादवको मोबाइल प्रहरीकै कब्जामा छ । 

मङगलबार प्रजिअलाई ज्ञापन पत्र बुझाउने क्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष बन्जाराले भने, ‘खोसेर राखेको मोबाइल ३ दिनदेखि प्रहरीकै कब्जामा छ , प्रहरीले पत्रकार यादवको मोबाइल दुरुपयोग गरेर उनलाई अर्कै कुनै झुठा अपराधमा फसाउने षडयन्त्र गरिरहेको आशंका हामीलाई छ', उनले भने,‘यदि पत्रकार यादवलाई न्याय दिनुको सट्टा कुनै झुठा अपराधमा फसाउने दिवा सपना प्रहरीले देखिरहेको छ भने त्यो प्रहरीकै लागि आत्मघाती हुनेछ, यो कुरा प्रहरीले अहिले नै बुझे हुन्छ ।' 

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने घटनाका विषयमा अनुसन्धान भइरहेको र अनुसन्धानमा दोषि देखिए मातहतका प्रहरी कर्मचारीलाई नियम अनुसार कार्वाही हुने बताइन् । पत्रकार यादवको मोबाइल प्रहरी कार्यालयमै रहेको भन्दै उनले भनिन् ,‘मोबाइल हामीले रोकेर राखेका हैनौँ, सम्बन्धित पत्रकार आफ्नो मोबाइल लिन आए फिर्ता दिन्छौँ भनेर  बारम्बार भनिरहेका छौँ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.