अछाममा सुरु भयो रोपाइँ

अछाममा सुरु भयो रोपाइँ

अछाम : पुरै देश बन्दाबन्दीमा रहेका बेला सुदूरपश्चिमको अछाममा भने रोपाइँ सुरु भएको छ । बन्दाबन्दीको बेला सहरबजार सुनसान भएपनि गाउँघरमा चहलपहल बढेको छ । 

खेतीपातीको समय भएकाले गाउँघरमा चहलपहल बढेको हो। हिउँदे खेती भित्र्याएका किसान अहिले रोपाइँ गर्न व्यस्त छन् । वैशाखको अन्तिम साताबाट अछाममा रोपाइँको चटारो सुरु हुन्छ । अहिले अछामका कृषलाई मानो रोपेर मुरी उब्जाउन भ्याइ नभ्याइ छ । 

सिँचाई सुविधा पुगेका खेतमा वैशाखको अन्तिमबाट रोपाइँ गर्न सुरु हुन्छ । यो वर्ष वैशाखमा पर्याप्त पानी परेकाले पनि सिँचाइ पुगेका खेतमा रोपाइँ गर्न किसानलाई सजिलो भएको छ । 

अछामको साँफेबगरलगायत सिँचाइ सुविधा पुगेको ठाउँमा वैशाखको अन्तिमबाट रोपाइँ सुरु भएको हो । साँफेबगर र आसपासका क्षेत्रमा बुढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिँचाइ सुविधा भएकाले हरेक वर्ष वैशाखको अन्तिमबाट धान रोपाइँ सुरु हुने गर्दछ । 

साँफेबगर नगरपालिका १ स्थित देशकै चार धाम मध्येको एक बैद्यनाथ धाममा रहेका पिरले नजिकै मष्टामाण्डौमा रहेको गुठी जग्गामा वैशाख ३० गतेका दिन पोथी सार्ने (पहिलो पटक धान रोप्न सुरु) काम गरेपछि मात्र जिल्लामा आधिकारिक रुपमा धान रोप्न सुरु हुने परम्परा रहि आएको छ । तर अहिले भने यो परम्परा हराउँदै गएको छ । 

वैद्यनाथ धाममा रहेका पीर तथा बटुकले बाजागाजासहित आएर साँफेबगरमा रहेको गुठीको जग्गामा प्रत्येक वर्ष वैशाख ३० गते धान रोप्ने गर्दछन्।  साँफेबगर नगरपालिका ४ मष्टामाण्डौमा सिँचाइ पुगेको बुढीगंगाको किनारमा रहेको खेतमा लगभग रोपाइँ सकिएको स्थानीय उमेश कुँवरले बताए । 

रोपाइँको समयमा यो पटक पर्याप्त पानी परेका र सिचाई सुविधा पुगेकोले छिटै रोपाइँ गरिसकिएको उनले बताए । उनले भने, 'वैशाखमा पानी पनि धेरै पर्‍यो, सिचाइको सुविधा पनि छ, त्यसैले यहाँका कृषकले समयमै रोपाइँ गर्न पाएका छन्।'

साँफेबगरमा चैतमा नै धानको बेर्ना राखेर वैशाख अन्तिमबाट धान रोप्न सुरु हुने गर्छ । यसवर्ष खडेरी नपरेकाले धानको बेर्ना जोगाउन र रोपाइँ गर्न त्यति मुस्किल नभएको कृषकले बताए।

यति बेला रोपाइँ गरेर कतिपय महिलालाई आम्दानी गर्ने स्रोत पनि बनेको छ । एक दिनभरी रोपाइँ गरे बापत ३ देखि ४ सय रुपैयाँ ज्याला लिने गरेको साँफेबगर नगरपालिका-३ की पबित्रा बिकले बताइन् । 

आयआर्जनको कुनै बाटो नभएकाले पबित्रालाई रोपाइँको सिजनबाट कमाइ हुने र घर खर्च चलाउन केही सहज हुने गरेको छ । उनले भनिन् 'घरमा कमाउने कोही छैन, रोपाइँको सिजन आयो भने घर खर्च चलाउन सजिलो हुन्छ ।'

कृषि ज्ञान केन्द्रका अनुसार अछाममा करिब साढे १६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरिन्छ ।  जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा, ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिन्छ । 

जंगली जनावर बँदेलले हिउँदे बाली मात्र नभइ बर्खेबाली तथा तरकारी बाली खाएर किसानलाई हैरान थालेपछि खेतीयोग्य जमिन पनि खेती नगरेर बाँझै छोड्ने गरेको किसानको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.