२ किलो चिनीको झोलामा ९ लाख ल्याउने भारतीय पक्राउ
राजविराज : दुई किलो चिनीको पोकाभित्र ९ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक भारतीय नागरिक शनिबार सप्तरीबाट पक्राउ परेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १४ कोशी पलारस्थित नेपाल–भारत दशगजा क्षेत्रमा भारत बिहारको सुपौल जिल्ला बथनाहा गाउँ पञ्चायत– १७ का २८ वर्षीय फुलकुमार मेहता पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।
नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई प्रहरीले देख्ना साथ हडबडाएपछि शंका लागि झोला चेकजाँच गर्दा ९ लाख फेला परेको प्रहरी चौकी रामपुर मल्हनीया, सप्तरीका प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुरले बताए ।
हातमा झुन्ड्याउने नाईलनको झोलामा दुई किलो चिनी बोकेर आइरहेका उनलाई निकै डराएको देखि चिनी बाहेक अरु पनि केही हुनुपर्छ भन्ने अनुमान गरेर चिनीभित्र हात हालेर खोजतलाश गर्दा रुपैयाँ फेला परेको हो ।
प्रहरी चौकी रामपुर मल्हनीया, सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताए ।
प्रतिक्रिया दिनुहोस !