धनकुटामा ८४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ, अस्पतालमा विशेष ओपीडी क्लिनिक सुरु
धनकुटा : धनकुटामा पछिल्लो समय गरिएको ८४ जनाको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारी, संक्रमित व्यक्तिका आफन्त र बिरामीको कुरुवा, केही एम्बुलेन्स चालक, औषधि पसलका संचालक गरी ८४ जनाको पीसीआर टेस्ट गर्न बिहीबार स्वाब संकलन गरिएको थियो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोख्रेलले बताए । धनकुटामा यसअघि जेठ ४ एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि जेठ ५ गते अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब संकलन गरिएको थियो ।
तीमध्ये अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
१७ जनाको स्वाब पठाइयो
त्यस्तै स्वास्थ्य कार्यालय धनकुटाले शनिबार १७ जनाको स्वाब संकलन गरी आइतबार धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरी पीसीआर टेस्ट गर्न धरान पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईंले बताए ।
अस्पताल परिसरमा विशेष ओपीडी क्लिनिक सुरु
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी सातजनामा कोरोना संक्रमित पुष्टि भएपछि बन्द रहेको जिल्ला अस्पतालको सेवा परिसरमा विशेष ओपीडी क्लिनिक सुरु गरिएको छ । अस्पताल परिसर त्रिपालको टेण्ड बनाएर विशेष ओपीडी क्लिनिक सुरु गरिएको सूचना अधिकारी पोखरेलले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि जिल्ला अस्पताल संचालनमा ल्याउने निर्णय गरेको थियो । सोही अनुरुप विशेष क्लिनिक संचालनमा आएको हो ।
विशेष क्लिनिक संचालन गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि चिकित्सकसहित सात सदस्यीय स्वास्थ्यकर्मीको टोली आएको छ । जसमा ३ जना डाक्टर र ४ जना नर्स छन् । विशेष ओपीडी क्लिनिकमा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको छ । अस्पतालको सबै कक्ष बन्द रहेको कारण बार नै पूर्जी काट्ने व्यवस्था गरेको छ।
पूर्जी काट्न कुनै शुल्क लाग्दैन । अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीमध्ये संक्रमित व्यक्ति प्रदेशको कोरोना विशेष अस्पतालमा उपचारत छन् । ६० भन्दा वढी व्यक्तिलाई ५ गतेदेखि १४ दिनको क्वारेन्टाइनमा राखिएको हो । १४ दिनको क्वारेन्टाइनपछि गरिने पीसीआर टेस्टमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा फकार्इने बताइएको छ ।
जेष्ठ ४ गते पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै जिल्ला अस्पताल सहित बजार क्षेत्र सिल गरिएको थियो । केही दिन अघि मात्रै अस्पताल वाहेक बजार क्षेत्रको सिल स्थानीय प्रशासनले हटाएको थियो । शनिवार नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा अस्पताल सहित आसपासको क्षेत्रमा सेनिटाइजर छर्किएको थियो ।
लक लाउनमा कडाइ
कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालसहित बजार क्षेत्रको गरिएको 'सिल' स्थानीय प्रशासनले हटाउने निर्णय गरेपछि लकडाउनमा थप कडाइ गरेको छ । केही दिनअघि मात्रै जिल्लास्तरको कोभिड-१९ कमाण्डो फोर्सको बैठकले बजार क्षेत्रको सिल हटाउने निर्णय गरेको थियो । उक्त बैठकले टाइम कार्ड समेत लागू गरेको थियो ।
टाइम काड लागू भएपछिको समयमा लकडाउनलाई कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । बजार क्षेत्रमा टाइम कार्ड लागू भएपछिको समयमा स्थानीय बासिन्दालाई हिँडडुल गर्न दिइएको छैन । बजार क्षेत्रको विभिन्न मुख्य चोकमा सुरक्षाकर्मी तैनाथ छन्।
प्रतिक्रिया दिनुहोस !