सप्तरीमा १२ संक्रमित थपिए
![सप्तरीमा १२ संक्रमित थपिए](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus-covid-19-test_20200527054749_RJilj6GmVr.jpg)
राजविराज : सप्तरी जिल्लाको राजगढ नगरपालिकामा आइतबार १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा राजगढ गाउँपालिका–२ का १७ देखि ४५ वर्ष उमेरका १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।
भारतको विभिन्न राज्यबाट आएका १७, २२, २३, २४, २७, २८, ३०, ३४, ३५, ४०, ४० र ४५ वर्षका पुरुष संक्रमित भएको राजगढ गाउँपालिकाका स्वास्थ्य संयोजक सिनियर अहेव रामचन्द्र यादवले बताए । संक्रमित हुने अधिकांश राजगढ गाउँपालिका २ का बासिन्दा रहेका छन् । राजगढ गाउँपालिका–३ स्थित जनता शंकर मावि नर्घोमा बनाइएको क्वारेन्टाइनबाट गत मङ्गलबार स्वाब संकलन गरिएको थियो । क्वारेन्टाइनमा हाल ६४ जना रहेका छन् ।
डाकनेश्वरी नगरपालिकामा शनिबार १८ वर्षीया एक महिलासहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ५४ पुगेको छ । जसमध्ये २४ जना राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । आइतबार पुष्टि भएका डाकनेश्वरी नगरपालिकाका १२, डाकनेश्वरी र बोदे बर्साइन नगरपालिकाका ९-९ जना गरी ३० जना सम्बन्धित क्वारेन्टाइनमै राखिएको छ ।
भारतबाट आउने र संक्रमित हुनेको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ । स्वाब परीक्षणले तीव्रता पाएसँगै संक्रमित हुनेको सङ्ख्या पनि बढेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा. चुमनलाल दासले बताए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशन वार्डमा २४ जनालाई राखिएको छ । राजविराजस्थित साईकृष्ण कलेज एण्ड हस्पिटलमा ९२ वेडको आइसोलेसन कक्ष बनाउने तयारी अन्तिम चरणमा पुगेको भिम दल गण राजविराजका गणपति गुप्त कुँवरले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)