बैतडीका थप एकजनामा कोरोना संक्रमण पुष्टि
बैतडी : बैतडीका थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैतडी पाटन नगरपालिका ८ का ३४ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।
ती व्यक्ति यही जेठ ८ गते भारतको मुम्बइबाट स्वदेश आइपुगेको बताइएको छ । गौरीफन्टा नाका हुँदै स्वदेश आएका ती पुरुष ८ गते राति घरमा गएका र ९ गते मात्रै क्वारेन्टाइनमा ल्याइएको महराले बताए ।
‘ती व्यक्ति भारतबाट स्वदेश आएपछि एक रात घर बसेका खुलेको छ । जेठ ९ गतेदेखि ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ,’ महराले भने । ती व्यक्तिमा ज्वरो आउने, घाँटी दुख्ने लक्षण देखिएका कारण यही जेठ १५ गते स्वाब संकलन गरिएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमित ती पुरुषलाई अलगै कोठामा राखिएको छ । महराले भने ‘कोरोना संक्रमित ती व्यक्तिको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो । हामीले लक्षणका आधारमा थ्रोट स्वाब संकलन गरेर पठाएका हौं । परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।’
भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा बसेका सबै ३१ जनाको स्वाब संकलनको तयारी समेत भएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।
यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गर्न कन्ट्याक्ट ट्रेसिङको काम समेत गरिने उनले बताए । सोमबार थप एकजनामा कोरोना पुष्टि भएसँगै बैतडीका ६ जनामा कोरोना पुष्टि भइसकेको छ । बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय पुरुषमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा कोरोना पुष्टि भएपछि अहिले पनि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
यस्तै भारतबाट फर्केका शिवनाथ गाउँपालिकाका ४ जनामा सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा जेठ १० गते कोरोना पुष्टि भएको थियो । उनीहरुको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था भने समान्य रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ४ जना संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेकाहरु भने स्वाब संकलन गरिएको छैन् । बैतडीमा भारतबाट आएका ५ हजार ३८६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । पछिल्लो समयमा भारतका कोरोना अति प्रभावित क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएका भए पनि उनीहरुको परीक्षण हुन नसक्दा कोरोना जोखिम बढ्दै गएको छ ।