रुकुममा दुई सातादेखि दाजुभाइ वेपत्ता
रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दाजुभाइ दुई सातादेखि वेपत्ता छन् ।
स्थानीय पलबहादुर नेपालीका १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएको आफन्तले जानकारी दिएका छन् । पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए । दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् ।
थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिएका छन् । हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गर्दै प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।