दैलेखमा कोरोना संक्रमितको संख्या ३०८ पुग्यो, निषेधाज्ञा जारी
दैलेख : दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ८ जना पुगेको छ। बिहीबारसम्म २ सय १७ जना थियो। शुक्रबार एकै दिन ९१ जनामा कोरोना पुष्टि भएको हो। शुक्रबार दुल्लु नगरपालिकाका २७ र महाबु गाउँपालिकाका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ८ पुगेको हो।
हालसम्म जिल्लाको नारायण नगरपालिकामा मात्रै १ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ। दुल्लु नगरपालिकामा ३६, महाबु गाउँपालिकामा ६५, डुङ्गेश्वर गाउँपालिकामा ३, गुराँस गाउँपालिकामा २, आठबीस नगरपालिकामा १ र नौमूले गाउँपालिकामा ७ जनामा कोरोना पुष्टि भईसकेको छ। एक जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना भाइरसको संक्रमण फैलिन नदिन शुक्रवार साँझ ६ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी युवराज कटेलले शुक्रबार एक सूचना जारी गरेर जिल्लाको नारायण नगरपालिका र दुल्लु नगर क्षेत्रमा निषेधाज्ञा गरिएको हो। कोरोना संक्रमणको सम्भावित उच्च जोखिमलाई मध्यनजर गरेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो।
कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण र संक्रमण फैलन नदिनका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए। अत्यावश्यक सेवाहरु औषधी पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा तथा खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोर मैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवा तथा स्थलहरु अनिश्चितकालका लागि बन्द गरिएको छ।
सूचनामा जिल्लाको नारायण नगरपालिकाको पूर्वमा पर्ने लोहोरे खोला, पश्चिममा छामघाट–भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजार भित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा पर्ने माथिल्लो डुङ्गेश्वर, चुप्रा–शिरस्थान, पश्चिममा पर्ने पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा पर्ने भैरबी गाउँपालिका र दक्षिणमा पर्ने तल्लो डुङ्गेश्वर भित्र निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोनाको संक्रमणबाट जोगिन भेटघाट, जमघट र भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ। सूचनामा आदेश पालना नभएमा कानून बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !