मनसुन ढिलो भित्रिने र ढिलै अन्त्य हुने भएपछि हेरफेर हुँदै क्यालेन्डर

मनसुन ढिलो भित्रिने र ढिलै अन्त्य हुने भएपछि हेरफेर हुँदै क्यालेन्डर

काठमाडौं : नेपालको मनसुनी क्यालेन्डर परिवर्तन हुने भएको छ। ढिलो गरी भित्रिने मनसुन ढिलै अन्त्य हुन थालेपछि क्यालेन्डर हेरफेर गर्ने तयारी गरिएको हो। अंग्रेजी महिनाको जुन १० जेठ (२७/२८) देखि सेप्टेम्बर २३ (असोज पहिलो साता) सम्मको अवधि नेपालको मनसुनी क्यालेन्डर हो। यो अवधि हेरेफेर गर्न जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाका प्राविधिक तीन दशकयताको मौसमी तथ्यांक विश्लेषणमा जुटेका छन्।

मनसुनी क्यालेन्डर हेरफेर गर्न वर्षौंअघिको मौसमी तथ्यांकलाई सूक्ष्म ढंगबाट विश्लेषण गर्नुपर्ने भएकाले प्राविधिक सो कार्र्यमा जुटेका विभागका महानिर्देशक सरजकुमार वैद्यले बताए। ‘मनसुनको स्वरूप परिवर्तन हुन थालिसकेको छ, मनसुनको सुरुवात पूर्वनिर्धारित समय आसपासमा हुने भए पनि बर्हिगमन अवधि निकैपछि धकेलिन थालेको छ’, उनले भने, ‘त्यसैले क्यालेन्डर हेरफेर गर्ने तयारी हुँदैछ।’

यसको तयारी केही समय अघिदेखि भए पनि वर्षासहित समग्र मौसमी तथ्यांक विश्लेषण गर्न समय लागेको र यस वर्षको मनसुन भित्रिने अवधि नजिकिएकाले आगामी वर्षदेखि क्यालेन्डर हेरफेर हुने वैद्यले बताए। विश्वव्यापी अभ्यास र विश्व मौसम संगठन (डब्ल्युएमओ) को दिशानिर्देशअनुसार नयाँ क्यालेन्डरका लागि तयारी भइरहेको विभागकी सिनियर डिभिजलन मेट्रोलोजिष्ट डा. इन्दिरा कँडेलले जानकारी दिइन्। अन्तर्राष्ट्रिय हवाई उडानका लागि मौसमी सूचना र तथ्यांक प्रदान गर्ने उद्देश्यका साथ सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत मौसम शाखा स्थापना भएयता नेपालले मौसमी क्यालेन्डर हेरफेर गरेको छैन। सो वर्ष डब्ल्युएमओको सदस्य बनेपछि नेपालले मौसमी सूचना सम्प्रेषणको औपचारिक अभ्यास सुरु गरेको मानिन्छ।

छिमेकी मुलुक भारतले समेत यो वर्षदेखि क्यालेन्डर हेरफेर गरेको र नेपालको मनसुन विदा हुने अवधि दुई साताभन्दा बढी धकेलिन थालेपछि विभागका प्राविधिक गृहकार्यमा व्यस्त छन्। भारतीय मौसम विभागले यो वर्षदेखि विभिन्न ११ प्रान्तका ६३ सहरको मौसमी क्यालेन्डर हेरफेर गरेको छ। नयाँ क्यालेन्डर अनुसार जुन २७ दिल्लीका लागि नयाँ क्यालेन्डर हो, गत वर्षसम्म त्यहाँ जुन २३ लाई मनसुन सुरु हुने अवधि मानिएको थियो। भारतमा सबैभन्दा छिटो जुन १ तारिख आसपासमा केरलामा मनसुन सुरु हुने गरेकोमा त्यहाँको तालिका भने हेरफेर गरिएको छैन। मनसुन बंगालको खाडी दक्षिण भारत हुँदै क्रमशः म्यानमार, भारतकै कोलकाता, सिक्किम, बंगलादेशहुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ।

पछिल्ला वर्षमा नेपालसहित दक्षिण एसियाली मुलुकमा मनसुन अवधि धकेलिँदै गएको छ। गत वर्ष जुन २० (असार ५) मा नेपालमा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै विदा भएको थियो। एक दशकभन्दा अघिदेखि मनसुन विदा हुने अवधि सेप्टेम्बरमा मात्रै हुन थालेकाले क्यालेन्डर हेरफेर गर्न ढिलो भएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन्। मौसमी उतारचढावअनुसार नेपालमा क्यालेन्डर हेरफेर गर्न ढिलो भएको उनको बुझाइ छ। ‘नेपालले मौसमी सूचना सम्प्रेण गर्न थालेको पाँच दशकभन्दा लामो अवधिमा क्यालेन्डर हेरफेर भएको छैन, यसबीचमा धेरै मौसमी परिवर्तन आइसकेको छ’, उनी भन्छन्, ‘क्यालेन्डर हेरफेर गर्न डब्ल्युएमओले ३० वर्षको अवधिलाई स्ट्रायन्डर्ड मान्ने गर्छ।’

अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो। करिब चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहारीमा पानी पर्ने विभागको तथ्यांक छ। मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्रा एक हजार चार सय ९६ दशमलव सात मिलिमिटर र काठमाडौंको वार्षिक औसत वर्षा एक हजार चार सय ५४ दशमलव आठ मिलिमिटर हो। मनसुनमा नेपालमा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा हुने गर्छ। सो भेगमा चार हजार ६ सय ८६ दशमलव ३० मिलिमिटर हाराहारीमा वर्षा हुने विभागले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.