इन्भेस्टमेन्ट बैंकले इटलीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने

इन्भेस्टमेन्ट बैंकले इटलीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने

काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले इटलीको उच्च अदालतबाट मुद्दा जितेको छ। यससँगै तनहुँ हाइड्रोपावर कम्पनीलाई यसअघि बैंक जमानतबापत भुक्तानी गरेको करिब २ अर्ब १० करोड रुपैयाँ प्राप्त गर्ने बाटो खुलेको बैंकले बताएको छ। ‘हामीले इटलियन बैंकको विश्वासमा काम गरेको हो, त्यसैले हामीलाई अब इटलीको बैंकले पैसा दिनुपर्छ’, बैंकका वरिष्ठ प्रबन्धक दीपक श्रेष्ठले भने।

नेपाल इन्भेस्टमेन्ट बैंकले इटलीको बैंक इन्टेसा सानपाओलोको विश्वासमा इटलियन कम्पनी कोअपरेटिभा मुराटोरी सिमेन्टीसिटी डि रेभेन्ना (सीएमसी)लाई बैंक ग्यारेन्टी दिएको थियो। तनहँु हाइड्रोपावरको ठेक्काका लागि सीएमसीलाई ८५ करोड १४ लाख रुपैयाँ र ४७ लाख ४९ हजार युरो (कुल रु. २ अर्ब १० करोड) बराबरको बैंक ग्यारेन्टी दिएको थियो।

मेलम्ची खानेपानी आयोजनाको समेत ठेक्का पाएको सीएमसी भागेपछि तनहँु हाइड्रोले गत वर्षको फागुनमा इन्भेस्टमेन्ट बैंकसँग जमानत जफत गरेको थियो। इन्भेस्टमेन्ट बैंकका तर्फबाट मुद्दा लडेका अधिवक्ता गान्धी पण्डितले विदेशी बैंकको बैंक ग्यारेन्टी सरकारी ठेक्कामा मान्य नहुने हुँदा इन्भेस्टमेन्ट बैंकले इटलीको बैंकको तर्फबाट बैंक ग्यारेन्टी दिएको बताए।

यो मुद्दामा जितेसँगै नेपाली बैंकले विदेशी ठेकेदारसँग काम गर्नुपरेको अप्ठ्यारोमा केही आत्मबल मिलेको बताए। यसअघि मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ब्युरो–१५ लाई चिनियाँ बैंकको विश्वासमा जारी गरिएको बैंक ग्यारेन्टीमा तत्कालीन बैंक अफ काठमान्डू र हिमालयन बैंकले यस्तै समस्या भोगेका थिए।

इन्भेस्टमेन्ट बैंकले तत्कालै उक्त रकम तनहुँ हाइड्रोलाई तिरे पनि इटलियन काउन्टर बैंकले पैसा तिरेको थिएन। तर, ठेक्का पाएको कम्पनी सीएमसी यसबीचमा टाट पल्टेको समाचार आएपछि इन्भेस्टमेन्ट बैंकको नाफामा असर पर्ने जोखिम बढेको अनुमान सेयर बजारमा गरिएको थियो। यसअघि अदालतले एकपक्षीय सुनुवाइमार्फत इन्भेस्टमेन्ट बैंकलाई हराइदिएपछि यस्तो त्रास अझै बढेको थियो।

ठेक्का पाएको कम्पनी टाट पल्टिए पनि बैंकको विश्वासमा जारी भएको जमानत रकम त्यहाँको बैंकले तिर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए। बैंकले पुनः बद्मासी गरेको अवस्थामा बाहेक अब यति ठूलो रकम नेपाली बैंकले प्राप्त गर्ने बाटो खुलेको छ। मंगलबार भएको सुनुवाइपछि इटालीको उच्च अदालतले तीन न्यायाधीशको पूर्ण इजलासबाट इन्भेस्टमेन्ट बैंकलाई इन्टेसाले जमानत बराबरको रकम भुक्तानी गर्न आदेश गरेको छ।

बैंकका अधिरकारीहरू यति ठूलो रकम नेपाल भित्रिनुले अर्थतन्त्रलाई नै लाभ पुर्‍याउने बताउँछन्। पूरा रकम इन्भेस्टमेन्ट बैंकले पाएमा राष्ट्र बैंकलाई पनि विदेशी विनिमय सञ्चिति उकास्न सघाउ पुग्छ। यो पैसाले मात्रै अहिलेको अवस्थामा झन्डै एक दिनको आयात धान्न पुग्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.