रोल्पामा थप १४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १७ पुग्यो
रोल्पा : रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट रोल्पामा १ महिलासहित १४ जनामा कोरोना संक्रमण देखिएको हो । अब जिल्लामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
बिहीबार दिउँसो साढे १ बजे अस्पतालले जारी गरेको सूचनामा एक महिला र १३ पुरुषमा कोरोना संक्रमण भएको जनाइएको छ । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ का आठ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ का १७ वर्षका एक पुरुष र वडा नं. ८ का ५ पुरुषको पिसिआर परीक्षणबाट कोरोना पोजिटिभ आएको हो ।
वडा नं. ४ मा ७ वर्षे बालक र ४४ वर्षीया एक महिलामा समेत संक्रमण देखिएको छ । अन्य कोरोना संक्रमितमा वर्ष १६, १८, २४, २७, ३० र ४४ का पुरुष छन् । वडा नं. ८ का वर्ष १८, १९, २१, २३ र ३२ का पुरुषमा कोरोना संक्रमित रहेका छन् । सुनिलस्मृति गाउँपालिकाको स्वास्थ्य शाखाकी प्रमुख सावित्रा थापाका अनुसार स्वाब पठाइएका २ सय ७६ जनामध्ये १४ जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएका सबै भारतबाट गाउँ फर्किएका हुन् । उनीहरु गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसिरहेका छन् ।
सुनिलस्मृति गाउँपालिकाले आफ्नै पहलबाट भिटिएम खरिद गरि स्वाब संकलन गरेर पिसिआर जाँचका लागि अस्पताल पठाएको हो । केही दिन परीक्षणका लागि पेन्डिङमा रहेका पिसिआरको परीक्षण नतिजा आएको हो ।
यसअघि जेठ २५ गते सुनिलस्मृति गाउँपालिकाको वडा नं. ५ र ६ का तीन पुरुषमा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १७ पुगेको जनाइएको छ । बुधबार सुनिलस्मृति गाउँपालिका–८ कि एक महिलामा कोरोना संक्रमण भएको सूचना दिइएको थियो । भेरी अस्पतालले भूलवश अछामको संक्रमित रोल्पाको सूचिमा उल्लेख हुन गएको जनाएको छ ।