रुकुम घटना : ३४ जनाविरुद्ध आजीवन कारावासको माग गर्दै मुद्दा, पाँच फरार
रुकुम : गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले आजीवन कारावासको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती घटनामा भएको सामूहिक आक्रमणपछि ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको अदालततका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रुपमा राखिएको छ ।
अन्य ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको श्रेस्तेदार बोहराले बताए । ‘धेरै मान्छे भएकाले आइतबार मुद्दा दर्ता मात्रै भएको छ,’ उनले भने, ‘सोमबारबाट थुनछेक बहस सुरु हुन्छ ।’ ३४ जना विरुद्ध मुद्दा दर्ता भए पनि अहिलेसम्म २९ जना पक्राउ परेको र बाँकी ५ जना फरार रहेको प्रहरीको भनाइ छ ।
उक्त घटनामा जाजरकोट परी भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनाको मृत्यु भएको थियो । गत जेठ १३ गते पीडित परिवारले २० जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दर्ता गरेका थिए ।