बर्खामा डुबान, हिउँदमा सुख्खा

बर्खामा डुबान, हिउँदमा सुख्खा

काठमाडौं : भारतले सीमा क्षेत्रमा एकलौटी बाँधैबाँध र तटबन्ध बनाएकाले तराई–मधेश हरेक बर्खामा डुब्छ। हिउँदमा पानी सबै उतै लैजाँदा नेपाली जग्गा जमिन बाँझै रहन्छन्।

नेपालको पश्चिमबाट पूर्वी सीमासम्म भारतले बनाएका बाँध र तटबन्ध २१ वटा पुगिसकेका छन्। ३० मिटर चौडा १७ सय ५२ किलोमिटर सडक बनाएको छ। राष्ट्रिय मानवअधिकार आयोगले यसलाई नेपाल ‘थुन्ने प्रयास’ का रूपमा लिँदै गहन अध्ययन गरी प्रतिवेदन बनाएको छ।

बाँध, तटबन्ध र ३ देखि ७ मिटर उचाइका सडकका कारण बर्खाको बाढी यतै फर्किन मद्दत पुगिरहेको छ। त्यही कारण नेपाली बस्ती डुबानमा पर्छन्।

आयोगको प्रतिवेदनअनुसार भारतले नेपालसँगको सीमानजिक टनकपुर, शारदा, कैलाशपुरी, लक्ष्मणपुर, कोइलाबास, महलीसागर, रसियावाल खुर्दलोटन, डन्डाफरेना, गण्डक, सप्तकोसी र लुनालगायत बाँध निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ। बाँध, तटबन्ध र सीमा सडकका कारण नेपालतर्फ तराई÷मधेसको सीमावर्ती ठूलो भूभाग डुबानमा पर्दै आएको छ। त्यसबाट लाखौं नेपाली प्रभावित छन्। भारतको यस्तै भौतिक संरचनाका कारण सीमावर्ती क्षेत्रमा नदीनालाको प्राकृतिक बहाव रोकिन गई डुबान, कटान, पटान भई धनजनको क्षति हुने गरेको छ।

सीमारेखाबाट १२ किलोमिटर माथि र तल सम्बन्धित देशको सहमतिबेगर बाँधजस्ता संरचना निर्माण गर्न नपाइने व्यवस्थाविपरीत भारतले काम गरेको हो। उसले बाँके हुँदै बग्ने राप्ती नदीमा नेपाली सिमानाबाट चार किलोमिटर दक्षिणतर्फ आफ्नै भूमिमा लक्ष्मणपुर बाँध बनाएको छ। दसगजासँगै जोडेर २२.५ किलामिटर लामो भनिएको कलकलवा (करकरवा) तटबन्धमाथि कालोपत्रे सडक निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ।

बाँकेमा दसगजासँग जोडेर भारतले ३० मिटर चौडा पक्की सडक बनाएको विषय ६ वर्षअघि यही संवाददाताले अन्नपूर्ण पोस्ट्मार्फत उजागर गरेको थियो। त्यही समाचारका आधारमा नेपाल–भारत उच्चस्तरीय बैठकमा उक्त विषय उठाइएको बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखक बताउँछन्।

कपिलवस्तु भएर बग्ने महसई नदीबाट २ सय मिटर दक्षिणमा महलीसागर बाँध बनाइएको छ। रूपन्देहीको मर्चवार क्षेत्र हुँदै बग्ने डन्डा र दानव नदीको बहाव रोक्न भारततर्फ रसियावाल खुर्दलोटन बनाइएको छ। यस्तै, डन्डा नदी र सुइया नालाको बहाव रोक्न दसगजासँगै जोडेर भारतले डन्डा फरेना तटबन्ध निर्माण गरेको छ। यस्ता संरचनाले नेपालको ठूला भूभाग डुबानमा पर्ने उल्लेख छ।

मोरङ भएर बग्ने बव्रmाहा नदी भारतमा पुगेपछि त्यसमाथि भारतले करिब ३ सय मिटर लामो लुना बाँध बनाएको छ। भारतको बरडंगासँग जोडिएको भूभागमा उक्त बाँध निर्माण गरिएको हो। त्यही संरचनाका कारण बव्रmाहा नदीको प्राकृतिक बहाव रोकिन गई नेपाली भूभाग डुबानमा पर्ने गरेको छ।

सुनसरी र सप्तरीको सिमानाको कोसी नदीमा नेपाल र भारतबीच २०११ वैशाख १२ गते (२५ अप्रिल १९५४) को कोसी सम्झौताबमोजिम सप्तकोसी बाँध बनाइएको छ। उक्त बाँध २०२२ वैशाख २२ गते उद्घाटन भएको मानिन्छ। त्यही बाँधका स्परको मर्मत–सम्भार तथा व्यवस्थित तरिकाले सञ्चालन नहुँदा सुनसरीको पश्चिमी क्षेत्र जोखिममा रहँदै आएको प्रतिवेदनमा उल्लेख छ।

नेपालले सप्तरी (हाल सप्तरी र सुनसरी) जिल्लाका ५९ मौजाको १३ हजार ३ सय ३१ बिघा जमिन भारतलाई उपलब्ध गराएर सो बाँध निर्माण भएको जनाइएको छ। बाँधसँगै हनुमाननगरबाट ३ माइल माथि ब्यारेज, एफलक्स बन्ड, तटबन्ध, सुरक्षात्मक कार्य, नहर निर्माणलगायत सम्झौता भएको थियो। तर, त्यसको कार्यान्वयन प्रभावकारी हुन नसक्दा कोसीले तीनपटक तटबन्ध फुटाएर नेपाली गाउँबस्ती डुबाएको छ। पछिल्लो पटक २०६५ भदौ २ गते बाँधका दुई स्पर र तटबन्ध भत्किँदा सुनसरीका पश्चिम कुसाहा,  श्रीपुर, लौकही, हरिपुर, बसन्तपुर, घुस्कीलगायत क्षेत्रमा बाढी पसेको थियो। ती क्षेत्रका ५० हजारभन्दा बढी स्थानीय विस्थापित हुनुपरेको जनाइएको थियो। दक्षिण–पश्चिमी क्षेत्र एकातर्फ तटबन्ध, अर्कोतर्फ कोसी बाँधका ५६ वटा ढोकामध्ये अधिकांश भारतले आफ्नो अनुकूलमा खोल्ने, बन्द गर्ने गरेका कारण निरन्तर प्रभावित हुँदै आएको छ।

कोसी बाँधको १२ किलोमिटर उत्तरतर्फ साबिक प्रकाशपुर गाविसको भूगोलमा पर्ने एउटा वडा छ। उक्र क्षेत्रलाई  श्रीलंका टापु नामबाट चिनिने गरेको पाइयो। उक्त वडालाई बीचमा पारी कोसी नदी दुईतिर बगेको छ। टापुमा बसोबास गर्ने नागरिकको दैनिक जीवनयापन कष्टकर छ। उनीहरू वडा कार्यालयसम्म जान पनि डुंगाको असुरक्षित यात्रा गर्न बाध्य रहेको प्रतिवेदनले देखाएको छ।

भारतले सप्तरीको तिलाठीसँग जोडेर कुनौलीमा अर्को तटबन्ध बनाएको छ। जिल्ला सदरमुकामबाट १० किलोमिटर दक्षिणमा नेपाल–भारत सीमामा छ। २ किलोमिटर लम्बाइको तटबन्धको उचाइ ४ मिटर रहेको अनुमान गर्न सकिन्छ। त्यही संरचनाका कारण सप्तरीका तिलाठी, रमपुर्वा, मल्हानिया, लौनिला, कोइलाडी, सकपुरा, बिसहरिया, बर्साइन, इनर्वा, बमनगामाकट्टीलगायत क्षेत्र डुबानमा पर्ने गरेका प्रतिवेदनमा उल्लेख छ।

सिरहाको सीमा क्षेत्रमा सिरहा तटबन्ध निर्माण गरिएको छ। जिल्ला सदरमुकामबाट दक्षिण–पूर्वी क्षेत्रको हरकट्टी सीमापारि भारतीय भूमिमा सो तटबन्ध बनाइएको हो। दसगजा क्षेत्रमै परेको उक्त संरचनाका कारण नजिकका नेपाली भूमि वर्षात्को समयमा डुबानमा पर्ने गरेका छन्। ८ फिट अग्लो संरचनाका कारण सिरहाका हरकट्टी, सुखीपुर, जानकीनगर, सन्ठैहा क्षेत्र डुबानमा परेका छन्। स्थानीयको घरबस्ती डुबानमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

महोत्तरीको मटिहानीसँग सिमाना जोडिएको भारत मधुवनी जिल्लाको मधवापुर नाकामा भारततर्फ पक्की नाली बनाइएको छ। त्यसको संरचना नेपाली भूभागभन्दा अग्लो छ। त्यहीका कारण नेपालको मटिहानीतर्फको भूभाग वर्षात्को समयमा डुबानमा पर्छ। महोत्तरी हुँदै बग्ने रातु नदीमा उचित तटबन्ध अभावमा जिल्लाका बस्ती मात्र होइन, सदरमुकामसमेत हरेक वर्ष डुबानमा पर्ने गरेको छ।

रौतहटको सिमानामा बनाइएका लालबकैया, बैरगनिया र वाग्मती तटबन्ध व्यवस्थित नगरिँदा नेपाली भूभाग डुबानमा पर्ने गरेको छ। गौर नगरपालिकासहित औरही, औरैया, सिर्सिया, बैरिया पिपरा, पुरेनवा, बन्जराह, सिर्सियालगायत क्षेत्रका केही भाग हरेक वर्ष डुबान हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

नवलपरासीेको नेपाल–भारत सीमामा पनि भारतले गण्डक बाँध बनाएको छ। करिब ८ सय मिटर दक्षिण नेपालतर्फ त्रिवेणीको रानीनगर र भारतको भैंसालोटनमा पर्ने गरी नारायणी नदीमा ३६ ढोका भएको भैंसालोटन बाँध निर्माण गरिएको छ। त्यो बाँध सिमानामै पर्छ। बाँधका ३६ ढोकामध्ये १८ नेपालतर्फ र १८ भारततर्फ छन्। तर, बाँध निर्माणपछि सम्झौतामा उल्लेख भएबमोजिम समानुपातिक रूपमा सेवा विस्तार हुन सकेको छैन। नहर तथा बाँध निर्माणसँगै भारतले नेपाली भूभागमा डुबान हुन नदिन निर्माण गरेका चारवटा साइफनमध्ये टाँगिकोट गाउँनजिकको साइफन नं. ४ बिनासूचना बन्द गरेको छ। अन्य साइफनको पनि उचित मर्मत हुन सकेको छैन। त्यसको परिणाम नवलपरासीका साबिकका गुठी सुरापुरा, गुठी परसौनी, त्रिवेणी सुस्ता, पक्लिहवा, रूपौलिया, बेदौली, प्रतापपुर, कुडियालगायत गाविस डुबानमा पर्ने गरेका छन्। जिल्लाका रूपौलिया, कुडिया, नरसिंह, प्रतापपुरगढी पर्सौनी, जमुनिया, सोमनी, ठुलो खैरटोवा र बैदौलीमा बसोबास गर्ने करिब ५० हजार नागरिक बाढीबाट बढी प्रभावित हुने गरेको बुझिएको प्रतिवेदनमा उल्लेख छ।

दाङको दक्षिणी सिमाना कोइलाबास क्षेत्रको दाराखोलामा भारतले बाँध बनाएको छ। त्यसकारण सो क्षेत्रका नेपाली नागरिकले खेतमा लगाएको बाली र घरखेत पनि डुबानमा पर्ने गरेको छ। बर्दियाको जमुनीलगायत सीमा क्षेत्रमा पनि भारतीय पक्षले दसगजा क्षेत्रमा एस्काभेटर प्रयोग गरी माटो खनेर नेपालतर्फ अग्लो डिल बनाउँदा नेपालीे भूभाग डुबानमा परेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

। दसगजासँग जोडेर भारतीय पक्षले निर्माण सुरु गरेको सीमा सडकले कञ्चनपुरको दक्षिणी भूभाग डुबानमा पर्ने अवस्था उत्पन्न भएको उल्लेख छ। भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको १८४ नम्बर स्तम्भभन्दा भारततर्फ १ किलोमिटर भित्रबाट भारतले वन पैदावार रोक्न भन्दै बाँध बाँध्न सुरु गरेको छ। कैलालीको सीमाक्षेत्रमा पनि रहेको यो सडक विस्तार हुने बुझिएको प्रतिवेदनमा उल्लेख छ। दार्चुलाको सिमानाबाट केही टाढा धौलीगंगामा उसले धौलीगंगा जलविद्युत् आयोजना निर्माण गरेको बुझिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.