आइसोलेसन अभावमा ऋषिङका १९ संक्रमित क्वारेन्टाइनमै
दमौली : शनिबार बिहान ऋषिङका तीन क्वारेन्टाइनमा रहेका २१ जनामा कोभिड १९ संक्रमण देखियो । धेरै संक्रमित भेटिए पनि गाउँपालिकाभर आइसोलेसन नै नभए पछि कहाँ र कता राख्ने अन्यौलमै शनिबार बित्यो । यस्तैमा सोही दिन अर्का एक थपिए । तर आइतबार पनि संक्रमितलाई कता लैजाने भन्ने विवाद र अन्यौलमै गयो । गाउँपालिकामा एउटा पनि आइसोलेसन वार्ड छैन । आइतबार साँझ तीन संक्रमितलाई शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा राखेपछि त्यो पनि भरिएपछि बाँकीलाई कता राख्ने अन्यौल छ ।
'संक्रमितलाई छुट्याएर बाँकीलाई अर्को कोठामा राखेका छौं,' गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले भने, 'गाउँपालिकामा राख्ने ठाउँ नहुँदा के गर्ने अन्यौल छ ।' 'हामीकहाँ जम्मा दुई स्वास्थ्य चौकी छन् । चारजना अट्ने बेड पनि छैन । एकै चोटी २१ जनामा संक्रमण देखियो । सीडीओले भनेको ठाउँमा राख्न पाइएन । बालबालिका र महिला पनि छन् । प्रदेश र संघ सरकारले नहेर्दा हामीजस्तो पूर्वाधार नभएको ठाउँमा बिजोग हुने भो ,' ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने।
एकैसाथ २२ जनामा संक्रमण देखिए पनि तीन बाहेक अरुलाई राख्ने आइसोलेसन व्यवस्थापन गर्न गाउँपालिकाले सकेको छैन । आइतबार थप एकजनामा संक्रमण देखिएको छ । 'पहिले सीडीओले भीमादमा राख्ने भनेर तयारी गरियो,' उनले भने,'रात पर्नै लाग्दा फेरि त्यहाँ नदिने भनियो । अनि फेरि गाउँमै राख्नु भनेर सीडीओले भने,' अध्यक्ष श्रेष्ठ भने।
आफूहरुसँग तत्काल गाउँमा राख्नका लागि सुविधायुक्त अस्पताल, चिकित्सक र सहज बाटो केही पनि नभएको उनको गुनासो छ । 'हामी पन्छन खोजेका होइनौं, उनले भने, 'एका एक यति धेरैजनालाई राख्न सुविधा नपुग्दा भोली हुने जोखिम कस्तो होला ?'
तनहुँमा सबैभन्दा धेरै संक्रमित ऋषिङ गाउँपालिकामा देखिएका छन् । भारतबाट आउनेको संख्या पनि गाउँपालिकामा बढी छ । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन भरिएका छन् । यसले गर्दा पनि आइसोलेसन तत्काल राख्न नसकिएको गाउँपालिकाको भनाई छ ।'सबै क्वारेन्टाइन भरिएका छन्,' अध्यक्ष श्रेष्ठले भने, 'अनि आइसोलेसन राख्ने ठाउँ नै छैन । भारतबाट आउने आइरहँदा क्वारेन्टाइन नै राख्ने ठाउँ नभए कसो गर्ने ?'
उनले सहरमा रहेका तह र गाउँका तहलाई एकै नजरमा हेर्न नहुने भन्दै कोरोना प्रदेश र संघ सरकारको दायित्व नभएको जस्तो देखिएको गु्नासो गरे । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले पहिले भीमादको प्राविधिक शिक्षालयमा राख्ने भनिए पनि स्थानीयस्तरमा सहमति नजुट्दा समस्या देखिएको बताए । 'हामीले गाउँपालिकाकै स्वास्थ्य केन्द्रमा राख्न अनुरोध गरेका हौं, उनले भने, 'व्यवस्थापन गर्ने हो भने सकिन्छ ।'
उनले बालबालिका र महिलालाई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा राख्न पहल गर्ने बताए । 'तहले आफ्ना ठाउँमा आफै आइसोलेसन बनाएमा समस्या समाधान गर्न सहजता हुन्थ्यो, उनले भने, 'आवश्यक चिकित्सक हामी पठाउँछौं ।'
प्रतिक्रिया दिनुहोस !