फिल्म नगरीमा ‘स्टाटस आतंक’

फिल्म नगरीमा ‘स्टाटस आतंक’

काठमाडौं : कोरोना भाइरसका कारण चार महिनादेखि मनोरञ्जन उद्योग ठप्प छ। तर फुर्सदको यो समयमा सिर्जनशील काम गर्नुको सट्टा कलाकार, निर्माता तथा निर्देशक भने सामाजिक सञ्जालमा ‘स्टाटस आतंक’ मच्चाइरहेका छन्। यो प्रवृत्ति अहिले व्यक्तिगत गालीगलौज हुँदै कानुनी कारबाहीमा जाने अवस्थासम्म पुगेको छ। सामाजिक सञ्जालमा निम्न स्तरका टिप्पणी छताछुल्ल भइरहेका छन्। कसैलाई बोल्दा चिप्लिएको आफ्नो जिब्रो सच्याउँदैमा फुर्सद छैन भने कसैलाई स्पष्टीकरण दिँदैमा।

सामाजिक सञ्जालमा केही दिन यतादेखि चलेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको जुहारीले अर्कै मोड लिएको छ। साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको उल्लेख गरेकी थिइन्। उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै भुवनले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै जवाफ फर्काएपछि साम्राज्ञी अझ खुलेर आइन्।

यसपछि अभिनेता भुवनले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन नै दर्ता गराएका छन्। अहिले निवेदन संघको अनुशासन समितिमा पुगेको छ। उनको निवेदनमा उल्लेख छ, ‘म विगत चार दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु। यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ। साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु। आजभन्दा पाँच ६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुव्र्यवहार गरेको छैन। यो कुरा त्यति बेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ।’ अनावश्यक कुरा सामाजिक सञ्जालमा राखेर आफ्नो चरित्र हत्या गर्ने दुस्साहस भएको उनको भनाइ छ। भुवनले संघमा निवेदन दिनुभन्दा अगाडि फेसबुकमा साम्राज्ञीलाई सम्बोधन गर्दै पत्र लेखेका छन्।

भुवनले आफ्नो मान–प्रतिष्ठामा आघात पुग्ने गरी पुनः सामाजिक सञ्जालमा आए प्रचलित साइबर कानुन र मानहानिसम्बन्धी कानुन प्रयोग गरी आफूलाई पुग्न गएको मानसम्मानको हानिनोक्सानीउपर यथोचित क्षतिपूर्ति गराउने पनि उल्लेख गरेका छन्।

यसैबीच साम्राज्ञीले पनि इन्स्टामा अर्को भिडियो सेयर गर्दै भविष्यमा यस्ता व्यवहार भए के गर्ने भनेर चाँडै कानुनी परामर्श लिन लागेको बताएकी छन्। ‘आशा गर्छु, भविष्यमा यस्ता कुरा नहून्। यस्ता कुरा भयो भने अब म कानुनी बाटो रोज्छु। चाँडै म यो विषयमा कानुनी सल्लाह पनि लिने सोचमा छु। म अरूलाई पनि अन्याय सहेर नबस्न सल्लाह दिन्छु’, उनले भनेकी छन्।

साम्राज्ञीको समर्थन गर्दै केही कलाकारले स्टाटस लेखेका छन्। प्रियंका कार्की, आशिरमान देशराज जोशी, शुभेच्छा खड्का, सुनिशा बजगाईं, सन्ध्या केसी, निशा अधिकारी, निर्माता अर्जुन कुमार, निर्देशक कुमार भट्टराईलगायतले साम्राज्ञीलाई समर्थन गर्दै आफूमाथि भएको शोषणविरुद्ध बोल्ने हिम्मत गरेकोमा उनको प्रशंसा गरेका छन्। अभिनेता कर्मा शाक्यले साम्राज्ञीले निर्माता तथा निर्देशकबाट सहनु परेको नराम्रो व्यवहारबाट आफू लज्जित भए पनि अचम्मित नभएको बताएका छन्। इन्स्टा स्टोरीमा उनले लेखेका छन्, ‘यस्तो परिस्थिति सामना गरेपछि आफ्नो मन र मुटुबाट कुरा गर्नका लागि साहस र हिम्मत चाहिन्छ।’ भुवनको समर्थनमा पनि वाल भरिँदै गएको छ।

उता ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपा श्री निरौला पनि आफ्नो अभिव्यक्तिका कारण आलोचित भएकी छन्। एक अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधिमाथि प्रश्न उठाउँदा सामाजिक सञ्जालमा उनले विरोधको सामना गर्नु परेको छ।

आफ्नो अभिव्यक्ति विवादित बनेपछि दीपा श्रीले हमालका प्रशंसकसँग माफी मागेकी छन्। राजेश हमाललाई ‘सुपरस्टार’ होइन भन्ने आफ्नो हैसियत नभएको उनको भनाइ छ। दीपा श्रीले फेसबुकमा लेखेकी छन्, ‘के प्रधानमन्त्री, के महानायक, के कलाकार अथवा के भगवान्। सबैसँग गुनासो गर्न पाइन्छ। एउटा उच्च सम्मानमा बसेको मान्छेबाट केही आशा हुन्छ नै, मेरो आशय त्यत्ति मात्र हो। राजेश हमाललाई सुपरस्टार नै होइन भन्ने हैसियत मेरो थिएन, छैन र हुने पनि छैन। मेरो पहिलो फिल्मको नायक हो उहाँ, उहाँलाई अत्यन्त सम्मान गर्छु।’

उनले लेखेकी छन्, ‘काठमाडौंमा पाउरोटीसमेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकी म सामान्य कलाकार हुँ। मेरो विगतले नै मलाई घमण्ड गर्ने अनुमति दिँदैन। म यो क्षेत्रमा ३० वर्षदेखि छु। टुप्पोबाट पलाएको पनि छैन। हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ।’ उनले आफ्नो अभिव्यक्तिले हमाल सुपरस्टार होइनन् भन्ने बुझिन गएकोमा माफी मागेकी छन्।

अहिले नायिकाद्वय पूजा शर्मा र सुषमा कार्कीबीच कटाक्ष चलेको छ। अभिनेत्री पूजाले नेपालमा १४ वटा जिल्ला रहेको भन्दै जवाफ फर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेत्री सुषमाले पूजाको कटाक्ष गरेकी हुन्। उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो। छिः छिः।’

यसैबीच कलाकारले मनपरी बोल्न थालेपछि नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै कलाकारलाई अनुशासित हुन अपिल गरेको छ। साथै आफ्ना भनाइ राख्दा कलाकारलाई संयमता अपनाउन र विचार पु¥याएर मात्र बोल्न संघले अनुरोध गरेको छ। संघका अध्यक्ष रवीन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा आरोप–प्रत्यारोपभन्दा पनि आपसी वार्ताबाट विवाद हल गर्न आग्रह गरिएको छ।

अभिनेता भुवन र अभिनेत्री साम्राज्ञीबीचको विवादबारे संघको ध्यानाकर्षण भएको र संघमा भुवनले न्यायका लागि निवेदन दिएको जानकारी गराउँदै त्यसबारे सहजीकरणको भूमिका निर्वाह गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.