विद्युत् उत्पादन सुचारु
![विद्युत् उत्पादन सुचारु](https://annapurnapost.prixacdn.net/media/albums/kaligandaki-A_20200711022753_QPirJUSCvq.jpg)
काठमाडौं : भिषण वर्षाका कारण शुक्रबार बिहानदेखि अवरुद्ध विद्युत् उत्पादन साँझबाट सुचारु भएको छ। वर्षासँगै आएको बाढीले विद्युत् उत्पादनमा असर पुर्याउँदा सरकारी तथा निजी क्षेत्र गरी करिब ५ सय मेगावाट विद्युत् उत्पादन शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो।
‘पानीको सतह बढेका कारण शुक्रबार बिहानदेखि अवरुद्ध विद्युत् उत्पादन साँझबाट सुचारु भएको छ। आवश्यक मर्मत सम्भारपछि सुचारु गरिएको हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘तर, वर्षाका कारण पुनः पानीको सतह बढ्दै जाने हो भने उत्पादन फेरि बन्द हुन सक्छ।’
बाढीको भेलले विद्युत् प्रशारण लाइनमा अवरोध आउनुका साथै उत्पादन गृहमासमेत बाढी पस्दा करोडौं मूल्यबराबरको उपकरण बगाएको छ। प्राधिकरणका अनुसार प्राधिकरण स्वामित्वको २४० र निजी क्षेत्रको २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको थियो।
कालीगण्डकीमा शुक्रबार विहान करिब ३६ सय क्यूसेकसम्म पानीको सतह बढेको थियो। यसले गर्दा १४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमस्ङ्र्यादी, १६ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाको विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको थियो।
यी चारवटा आयोजनाको शुक्रबार साँझबाटै पुनः उत्पादन सुरु भएको उत्पादन निर्देशनालयका प्रमुख मदन तिमिल्सिनाले बताए। यसबाहेक १० मेगावाटको सुनकेसी आयोजनाको विद्युत् साँझसम्म पनि सुचारु हुन सकेको छैन। तिमिल्सिनाका अनुसार बाढीका कारण बन्द भएका आयोजना तत्कालै सञ्चालनमा ल्याउन प्राविधिक टोलीलाई कार्यक्षेत्रमै तैनाथी अवस्थामा राखिएको छ।
यसवाहेक निजी क्षेत्रबाट सञ्चालनमा रहेका विद्युत गृह पनि अवरुद्ध पश्चात केही सञ्चालनमा आएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए।
बिहीबारको भारी वर्षाका कारण प्राधिकरणले निर्माण गरिरहेको १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनामा क्षति पुगेको छ। उक्त आयोजनाको करिब १ अर्ब रुपैयाँबराबरको विभिन्न उपकरण बाढीले बगाएको छ।
विद्युत् गृह प्रभावित भएपछि करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको थियो। उत्पादनमा अवरोध सिर्जना भएपछि विद्युत्को माग पूरा गर्न भारतबाट आयात गर्न सुरु गरिएको छ। ‘मागअनुसार आपूर्ति गर्न भारतबाट करिब २ सय मेगावाट विद्युत् आयात गरेका छौं’, घिसिङले भने। उनकाअनुसार कटैया–ढल्केवर प्रसारण लाइनमार्फत उक्त विद्युत् आयात गरिएको हो।
लकडाउनका कारण पछिल्लो समय विद्युत्को माग घटेसँगै प्राधिकरणले भारतबाट विद्युत् आयात बन्द गरेको थियो। तर, पछिल्लोपटक बाढीले उत्पादन बन्द भएपछि भारतबाट विद्युत् आयात गरिएको हो। ‘उत्पादन बन्द भएका सबै विद्युत् गृहबाट उत्पादन पूर्ववत् रूपमा सुचारु नहुँदासम्म भारतकै विद्युत् आयात हुन्छ’, उनले बताए।
निजी र प्राधिकरणबाबाट उत्पादित बिजुली गरी अहिले करिब १३ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। लकडाउन अवधिमा करिब ९ सय मेगावाटमा झरेको विद्युत्को माग अहिले १३ सय मेगावाट हाराहारी पुगिसकेको प्राधिकरणले जानकारी दिएको छ।
बाढीकै कारण इलामको सिद्घीथुम्कास्थित कावेली करिडोर प्रसारणलाइनमा क्षति पुगेको छ। उक्त प्रसारण लाइनमा जोडिएको करिब १७० मेगावाट विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ। वर्षा र बाढीले रुख ढल्दा वितरण तथा प्रसारण लाइनको तार र पोलमा क्षति पुर्याएको छ।ऊर्जा उत्पादकले बाढीका कारण बर्सेनि ४ देखि ५ प्रतिशतसम्म घाटा हुने गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)