छटपटीका ३६ घण्टा

छटपटीका ३६ घण्टा

बेनी : पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै घण्टौं बिताउनु परेको हो ।

बेनी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत दिउँसै पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याइयो । यसैगरी, शनिबार १ बजे हेलिकप्टरबाट बेनी अस्पताल ल्याइएकी ८८ वर्षीया गौमती सुनार पनि पहिरोमा भाग्दाभाग्दै हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी थिइन् । ‘गाउँबाट बाहिर जाने बाटो पहिरोले बगाएकाले स्वास्थ्य चौकीसम्म पनि लैजान सकेनौं’, गौमतीका नाति हरिले भने,

‘हेलिकप्टरको पर्खाइमा छट्पटाउँदै बस्नुभयो ।’ शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने रिखकी हीरा जुग्जालीको योजना पनि उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । ‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र पत्नीलाई बचाउन खोज्दाखोज्दै पहिरोले बगायो ।’ बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुरकी पत्नी, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।

जुग्जालीका छोरा अर्जुन र अर्की छोरी रीतु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा खपेर बसेका धनबहादुरले अस्पताल आएपछि दुखाइ कम भएको सुनाए ।

‘अन्नबाली उब्जाउने खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ । न जीवनमा साथ दिने पत्नी र साना छोरी रहे ।’ पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मञ्जितासहित मालिका–७ बिमका ४० वर्षीय पूर्ण परियार, धवलागिरि–६ का बालसिंह रोका, सफल श्रीपाली र ताकमकी ६७ वर्षीया सतदेवी बिटालुलाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।

राम्चेकी सुनार, रिखका जुग्जालीसहित २२ वर्षीय दीपक श्रीपाली, ३५ वर्षीय कुशल पुन, १२ वर्षका अंकित पुन, १५ वर्षका बिर्सना जुग्जाली र ताकमका ७३ वर्षीय हरिबहादुर बिटालुको बेनीमै उपचार भइरहेको छ । भौगोलिक रूपमा विकट क्षेत्रमा पर्ने पहिरो प्रभावित ठाउँमा सडक र घोरेटो बाटो बगाएकाले पैदल तथा गाडीमार्फत शुक्रबार सुरक्षाकर्मी पुग्न सकेनन् । दुई पटक गएको हेलिकप्टरसमेत खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्किएको थियो । शनिबार बिहानैदेखि पहिरोमा बेपत्ता भएकाको खोजी र घाइतेको उद्धारमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन भएको सीडीओ ज्ञाननाथ ढकालले बताए । बेनी र छिमेकी गाउँबाट युवाको स्वयंसेवक टोलीसमेत परिचालन भएका छन् ।

‘भौगोलिक विकटता र प्रतिकूल मौसमले बेपत्ताको खोजी तथा घाइतेको उद्धारमा ढिलाइ भएको हो’, उनले भने, ‘पालिका, युवा क्लब र आमा समूहसँग समन्वय गरेर जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा सारेका छौं ।’ पहिरोपीडितलाई ५० बोरा चामल, ८४ कार्टुन चाउचाउ, ८० कार्टुन तेल, दुई बोरा दालसहित तेल, मसलासहितको खाद्यान्न राहत हेलिकप्टरमार्फत लगिएको छ । राहत र व्यवस्थापनलाई सहज बनाउन सडक र घोरेटोबाट मर्मत गरिने धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

अपत्यारिलो ठाउँमा पहिरो

पहाडको शिरमा समथर जमिन भएको राम्चे र पहाडको फेदीमा भएको रिख गाउँमा यसअघि कहिल्यै पहिरो गएको थिएन । रातो माटो भएको गाउँलाई जोगाउन स्थानीयले बस्तीभन्दा तलबाटै सडक खनेका थिए । कहिल्यै नसोचेको ठाउँमा पहिरो गएको राम्चेका प्रेम लामगाडेले बताए । ‘हावाहुरीले घर र स्कुलको छानो उडाएर दुःख दिन्थ्यो’, उनले भने, ‘बारीका कान्ला र खरबारीबाट पहिरो खसेर घर पुरिएका छन् । नसोचेको ठाउँमा पहिरो गयो ।’

समथर भूगोल भएको बिमको तल्लो गाउँमा पनि पहिरो जाला भनेर नसोचेको वडाध्यक्ष रेशम जुग्जाली बताउँछन् । पछिल्लो समय म्याग्दीका धेरै बस्ती सडकका कारण जोखिममा परे पनि रिख, राम्चे र बिम तल्लो गाउँको पहिरोको कारण अत्यधिक वर्षा र कमजोर भूबनोट देखिएको सीडीओ ढकालले जानकारी दिए । जिल्ला व्यवस्थापन समितिले सडकका कारण पहिरोको उच्च जोखिममा रहेको मंगला–५ अर्मनका ७७ परिवारलाई हालै सुरक्षित ठाउँमा सारेको थियो । जेठ अन्तिम साता सडकको भल व्यवस्थापन नहुँदा गएको पहिरोले रघुगंगा–६ पाखापानीमा २ जनाको ज्यान गएको थियो ।

२७ जनाको मृत्यु

म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका ३ जना जीवितै सम्पर्कमा आएका छन् । ४ जना अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको डीएसपी किरनजंग कुँवरले बताए ।

उनका अनुसार धवलागिरि–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हीरामती जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दीप्ति जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ ।

मालिका–७ बिमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपालीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो । मराङको रिखको पहिरोमा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रीतुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन् । पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् । प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५ सय ९०, मालिकाका १ सय ९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

हेलिकप्टरबाट ११ को उद्धार

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा घाइते भएका ११ जनाको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ । मराङकी एक गर्भवतीसहित १० जना र बिमका एकको उद्धार गरेर बेनी ल्याइएको हो । नेपाली सेना र प्रभु एअरको हेलिकप्टरले घाइतेको उद्धार गरेका हुन् । शुक्रबार बिहान गएको पहिरोमा घाइते भएका उनीहरूको करिब ३६ घण्टापछि उद्धार भएको हो । उद्धार गरिएकामध्ये चारलाई हेलिकप्टरबाट पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको र सातको बेनी अस्पतालमा उपचार भइरहेको डीएसपी किरनजंग कुँवरले बताए । ६ महिनाकी गर्भवती २२ वर्षीया मञ्जिता श्रीपाली, मालिका–७ बिमका ४० वर्षीय पूर्ण परियार, धवलागिरि–६ राम्चेका ७ वर्षीय सफल श्रीपाली र ताकमकी ६७ वर्षीया सतदेवी बिटालुलाई पोखरा रेफर गरिएको बेनी अस्पतालले जनाएको छ ।

भौगोलिक रूपमा विकट क्षेत्रमा पर्ने पहिरो प्रभावित ठाउँमा सडक र घोरेटो बाटो बगाएकाले पैदल तथा गाडीमार्फत शुक्रबार सुरक्षाकर्मी पुग्न सकेनन् । दुईपटक गएको हेलिकप्टरसमेत खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्किएको थियो । शनिबार बिहानैदेखि पहिरोमा बेपत्ता भएकाको खोजी र घाइतेको उद्धारमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन भएको सीडीओ ज्ञाननाथ ढकालले बताए । बेनी र छिमेकी गाउँबाट युवाको स्वयंसेवक टोलीसमेत परिचालन भएका छन् । पहिरोपीडितलाई ५० बोरा चामल, ८४ कार्टुन चाउचाउ, ८० कार्टुन तेल, दुई बोरा दाल, मसलालगायत राहत हेलिकप्टरमार्फत लगिएको छ । राहत र व्यवस्थापन सहज बनाउन सडक र घोरेटो बाटो मर्मत गरिने धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

धवलागिरि गाउँपालिका–६ कल्लेनीको पहिरोमा हराएकाको खोजी गर्दै प्रहरी र स्थानीय । सौजन्य भुवानी पौडेल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.