खोला कटानले गर्जुवा गाउँ जोखिममा
धनकुटा : केही दिन यताको भारी वर्षाले लेउती र गर्जुवा खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका -७ गर्जुवा गाउँको बस्ती जोखिममा परेको छ । दुवै खोलाको संगम स्थलमा ९ घर रहेको बस्ती छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गर्न थालेको स्थानीय भनाइ छ ।
खोलामा पानीको बहाव बढिरहेको छ । स्थानीयमा त्रास रहेको स्थानीय यामबहादुर राईले बताए। खोला कटालने उनको शौचालय समेत बगाइसकेको छ भने घर जोखिममा रहेको छ । केही स्थानीय आफन्तको घरमा सर्न थालेका छन् । बस्तीमा रहेको घरपरिवारका बासिन्दा लेउती खोलामा बालुवा चालेर जिविकोपार्जन गर्ने मजदुर हुन् ।
गर्जुवा खोलामा आएको बाढीले धरान-धनकुटा कोशी राजमार्ग समेत पटक पटक अवरुद्ध हुने गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् । पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिलो जाने गर्छ । सोही पहिरोको माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ । सडक डिभिजन कार्यालयले पहिरो पन्छाउन डोजर परिचालन गरेको छ । पहिरोले छिन् छिनमै बाटो अवरुद्ध भइरहेन्छ।
खोलामा रहेको ह्युमपाइप पुरिएपछि माटो सडकमा थुप्रिने गरेको छ । त्यस्तै गर्जुवाभन्दा केही पर रहेको सिस्ने पनि बाढीको जोखिममा छ । गाउँभन्दा माथि कोशी करिडोरको बाटो निर्माणाधिन छन् भने तल कोशी राजमार्ग । कोशी कोरिडोरको माटो पानीले बगाएर बस्ती हुँदै कोशी राजमार्गमा ल्याएर थोपारिने गर्छ । थुप्रिएको माटो सडक डिभिजनको डोजरले पन्छाएर सडक सूचारु गर्ने गरिएको सुपरभाइजर राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस !