संरक्षण गर्नुपर्ने स्थल

संरक्षण गर्नुपर्ने स्थल

विकसित देशमा आफ्ना महत्वपूर्ण कविहरूसँग स्थान, विषय र सामग्रीलाई सरकारी निकायबाटै संरक्षण गर्ने चलन हुन्छ। नेपाल अविकसित मुलुकभित्र परेर होला, यस किसिमको संरक्षण गर्ने अभ्यास राम्ररी बसिसकेको देखिन्न। तर राज्यसत्ताले राजनीतिक दलका नेताका नाममा भने प्रतिष्ठान र संग्राहलय आदि खोल्ने गरेको देखिन्छ। यसबाहेक दल विशेषका नेताहरूका घरजग्गाको संरक्षणमा समेत राज्यसत्ताको चासो रहेको छ। राज्यसत्ताले ठूला कवि वा साहित्यकारतर्फ यस्तो चासो लिएको देखिन्न। २०७६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारलाई गुहारेर दुईजना कवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समको घरजग्गा संरक्षण गर्ने कार्यको थालनी भने गरेको छ। यस परिप्रेक्ष्यमा नेपाली भाषामा आदिकवि ठानिएका भानुभक्त आचार्यकै वैयक्तिक जग्गा जमिनदेखि उनीसँग सम्बन्धित ठाउँ र विषयको संरक्षण हुन ढिलाइ भइसकेको छ।

संरक्षणका निम्ति संघीय सरकारबाहेक गण्डकी प्रदेश सरकार, भानु नगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानसमेत सक्रिय हुन सक्छन्। त्यसो त नेपाल सरकारले भानु जन्मस्थलको विकास होस् भन्ने हेतुले २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन गरेको थियो। समितिको नियमले भानु जन्मस्थल भनेर पूर्वमा मस्र्याङ्दी, पश्चिममा पल्याङ खोला, उत्तरमा फाउँदी खोला र दक्षिणमा वर भञ्ज्याङ डाँडो भनी परिभाषित गरेको छ। नियममा समितिको कार्य क्षेत्र विशेषगरी भौतिक विकाससँग सम्बन्धित देखिन्छ। यसको प्रचार–प्रसारमा भने भानुभक्त र भानु जन्मस्थललाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन र अन्य संरचना निर्माण गरी साहित्यिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न गठन भएको समिति भनिन्छ। यसो गर्न त भानुभक्तलाई सम्झना जीवन्त राख्ने ठाउँ र वस्तुको संरक्षण आवश्यक हुन्छ। यसको नियममा भानुभक्तका सम्झना संरक्षण गर्नुपर्ने कामको उल्लेख देखिन्न। नियममै प्रचार–प्रसारमा आएका कुरा उल्लेख गरी भानुभक्तका सम्झना स्थलहरूको संरक्षण, संवद्र्धन र निर्माण यस समितिलाई जिम्मा दिन आवश्यक छ।

यस्तो संरक्षण राष्ट्रिय गौरवको विषय भएकाले संघीय सरकार, प्रदेश सरकार र भानु नगरपालिकामध्ये जुनसुकैले पनि यसको स्वामित्व लिन सक्छन्। तर भानुभक्त राष्ट्रिय धरोहर भएका कारण यसको जिम्मा संघीय सरकारले लिन आवश्यक हुन्छ। अहिले संघीय सरकार आफ्नो मातहतको उक्त समितिलाई नगरपालिकाको जिम्मा लगाएको बुझिन्छ। यसबाट संघीय सरकार राष्ट्रिय गौरवको विषयबाट पन्छिएको सन्देश प्रवाहित भएको छ। हुन त नेपाल प्रज्ञा प्रतिष्ठानले पनि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समको जन्मघर र घरघडेरी संरक्षण गर्न अग्रसरता देखाए झैं भानुको वास्तविक घडेरीलाई संरक्षण गर्न अग्रसरता देखाउन सक्छ तर भानुभक्तका सम्झनालाई जीवन्त राख्ने ठाउँ धेरै भएको र भानु जन्मस्थल विकास समिति गठन भई कार्यक्रम गरिरहेको परिप्रेक्ष्यमा भानुभक्तका सम्झनालाई संरक्षण र जीवन्त बनाउने जिम्मा पनि यही समितिलाई दिइनुपर्छ।

नेपाली भाषामा आदिकवि ठानिएका भानुभक्त आचार्यकै वैयक्तिक जग्गा जमिनदेखि उनीसँग सम्बन्धित ठाउँ र विषयको संरक्षण हुन ढिलाइ भइसकेको छ।

त्यसो भए भानुभक्तलाई जीवन्त बनाइराख्न सक्ने सम्झना के–के छन् ? यहाँ १४ ओटा भानु सम्झनास्थलका नामको सूची दिन खोजिएको छ। सर्वप्रथम भानुभक्तको घरघडेरीबाट यसको चर्चा प्रारम्भ गरौं। भानुभक्तको घरघडेरी भन्नेबित्तिकै तीनोटा घडेरी देखिन आउँछन्, पहिलो बाबुहरू छुट्टिई भिन्न भएपछि बनेको शिखर कटेरीको घडेरी, दोस्रो भानुभक्तका ६ जना बाबुहरू सगोलमा छँदाको चुँदीबेंसीको पुरन्डिहीको घरघडेरी र तेस्रो बाबुहरू छुट्टीभिन्न भएपछि बनेको चुँदीबेंसीको भानुभक्तको आफ्नै स्वामित्वको घरघडेरी। यी तीनोटामध्ये उनकै स्वामित्वको रम्घाको घडेरी (शिखर कटेरी) र सगोलको चुँदीबेंसीको घडेरी (पुरन्डिही) संरक्षण हुँदै जान लागेका देखिन्छन्। यो पुरन्डिहीको घरघडेरीमा भानुभक्तको अक्षरारम्भ, व्रतबन्ध र दुइटा बिहे भएका थिए। तर बाबुहरू छुट्टीभिन्न भएपछि धनञ्जयले बनाएको र भानुभक्तले दीर्घ जीवन बिताएको चुँदीबेंसीको घडेरी भने अद्यापि संरक्षणको प्रतीक्षामा छ। त्यस घडेरीले चर्चेको अन्दाजी ३०÷३५ रोपनी जमिन उनकै सन्ततिको भोगचलनमा छ। भानुभक्त निश्चित रूपमा शिखर कटेरीमै बसेकाले यसको संरक्षणको औचित्य प्रस्टै छ। यसलाई पत्ता लगाउने श्रेय भने गोपाल पाँडेको नेपाली शिक्षा परिषद्लाई जान्छ। किनभने यो परिषद् २०२९ साल असारमा साहित्यिक कार्यक्रम गरी भानु जयन्ती मनाउन चुँदीरम्घा पुगेको थियो। त्यसैबेला यसले चुँदीरम्घामा भानुभक्तको जन्मस्थानको खोजी गर्‍यो र शिखर कटेरीमा भानुभक्तको गाउँको घर थियो भनी पत्ता लगायो। भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रूपमा विकास गरियोस् भनी परिषद्ले २०२९ पुस १९ गते तत्कालीन श्री ५ को सरकारका शिक्षामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष भानु जन्मस्थल विकाससम्बन्धी एघारबुँदे स्मृतिपत्र पनि बुझाएको थियो।

घरघडेरीको चर्चापछि भानुभक्तले पानी खाने गरेका चुँदीरम्घाका कुवा र तेल पेल्ने कोल भएको स्थलको चर्चा गरौं। उनले पानी खाने गरेको कुवाहरू चारोटा र एउटा तेल पेल्ने स्थल छन्, ती हुन्, रम्घाको पँधेरो, कदमे कुवा, साउने पानी कुवा र भ्याकुते कुवा, कोल्डाँडो। भानुभक्तको रम्घाको घर शिखर कटेरीदेखि अलिकति हिँडेर पुग्न सकिने रम्घाको पँधेरो शिखर कटेरीको पश्चिमोत्तर दिशामा अवस्थित छ। रम्घागाउँमा बस्दा भानुभक्तले यही पँधेराको पानी खान्थे। कदमे कुवा भानुभक्तको चुँदीबेंसीको पुरन्डिहीको सगोलको घरघडेरीदेखि दायाँ पछाडिपट्टि अवस्थित छ। कदमको रूखमुनि साधारण ढुंगाका छपनी ओछ्याएर बनाएको कुवा भएकाले यसलाई कदमे कुवा भनिएको हो। भानुभक्त र उनको संयुक्त परिवारले यसै कुवाको पानी खान्थे। पुरन्डिहीकै बायाँ उत्तरतर्फ साउने पानीको कुवा छ। यो पानी मीठो मानिन्छ। साउन लागेपछि धेरै पानी र हिउँदमा सुक्न पनि सक्ने कुवा भएकाले यसलाई साउने पानी कुवा भनिन्छ। यो कुवा पनि भानुभक्त र उनको संयुक्त परिवारले पानी खाने कुवा हो। छुट्टीभिन्न भएपछि बनेको धनञ्जयले पुरन्डिहीदेखि थोरै पूर्वतर्फ घरघडेरी बनाए। त्यो संरक्षणको प्रतीक्षामा रहेको यस घडेरीको घरबाट भानुभक्तले भ्याकुते कुवाको पानी खान्थे। तेल पेल्ने ठाउँ कोल्डाँडो पुरन्डिहीकै शीर्ष भागसँग जोरिएको छ। केही डँडेसो परेको यस भागमा तोरी, तिल पेल्ने कोल भएकाले त्यसलाई कोल्डाँडो भनिन्थ्यो, अचेल कोल छैन। कोलको गाडेको मक्किएको मुड्कोसम्म पंक्तिकारको नजरमा परेको थियो। त्यही कोलमा पेलेको तेल भानुभक्तले लगाएका थिए। त्यसैले भानुभक्तले पानी खाने गरेको यी चारोटा कुवा र तेल पेल्ने कोल निर्मित कोल्डाँडो भानुभक्तको सम्झनालाई जीवन्त बनाउने स्थल हुन्। भानुभक्तलाई सम्झाउने उल्लिखित आठोटा स्थलबाहेक अरू भानु नगरपालिका वा चुँदीभित्र चारोटा र चुँदी रम्घाबाहिर दुइटा स्थल छन्। चुँदीभित्रका चारोटा स्थलमध्ये एउटा हो– कुल देवताको स्थान। यो पुरन्डिहीको घडेरीदेखि ठीक पूर्वपट्टि खोल्सामा अवस्थित छ। यहाँ भानुभक्तले प्रत्येक १२ वर्षको पहिलो वैशाख महिनामा आफ्ना अन्य चारजना बाबुका सन्तानसँग मिलेर कुलपूजा गर्थे।

अर्को हो– वराह कुलो र पिप्लेको चौतारो। गिरिधारीसँग झगडा गरी भानुभक्तले खनाएको वराह कुलो यही चौतारासम्म थियो। चौतारासम्म चुँदी खोलाको पानी बहेको वराह कुलो बाल्यवस्थामा पंक्तिकारले पनि देखेको थियो। अर्को मस्र्याङ्दी नदीको गाईथुने घाट, जहाँ भानुभक्तले अन्तिम सास लिएका थिए। अर्को स्थल भानु पुस्तकालय हो, जहाँ भानुभक्तका हस्तलिखित कागतपत्र छन्। यिनीहरू दीर्घकालीन संरक्षणको प्रतीक्षामा छन्। यो पुस्तकालय पनि भएकाले यसलाई भानु अनुसन्धान केन्द्रमा विकास गरी यसबाट भानुभक्तसम्बन्धी अनुसन्धान गराउन सकिन्छ। चुँदी रम्घाबाहिरका दुई स्थलमध्ये लमजुङ जिल्लामा पर्ने भोर्लेटार भनुभक्तका मावली गाउँ र तनहुँको सदरमुकाम दमौलीदेखि पश्चिमतर्फ देखिने अग्लो मानुङको डाँडो ससुराली गाउँ हुन्। भोर्लेटार गाउँमा भानुभक्तको पोथी फुकेको (पहिलोपल्ट सप्ताह भनेको) र कलाधरलाई मन्त्र सुनाएको ठाउँ हो। मानुङ गाउँ अहिले पर्यटकीय क्षेत्र बनेको छ, जहाँ भानुभक्तले दोस्रो बिहे गरेका थिए। आदिकवि भानुभक्त आचार्यलाई सम्झना दिलाउने यी १४ ओटा स्थल संरक्षण र संवर्धनको प्रतीक्षामा छन्। नेपाल सरकार, सरोकारवाला संस्था र निकायले यतातर्फ पनि चासो दिनु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.