पैदलै सदरमुकाम
भोजपुर : निरन्तरको वर्षाले भोजपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। वर्षाले डेढ दर्जनभन्दा बढी सडकखण्डमा हिलाम्मे हुनुका साथै पहिरो खसेपछि यातायात पूर्णरूपमा ठप्प छ।
मनसुन सुरु भएसँगै ग्रामीण क्षेत्रका कच्ची सडकमा सवारी चल्न नसक्दा यात्रु र खाद्यान्न ढुवानीमा समस्या थपिएको छ। व्यक्तिगत र सरकारी कामकाजका लागि दुर्गम भेगका स्थानीय पैदलै सदरमुकाम र गाउँपालिका केन्द्र धाउन बाध्य छन्। ‘सदरमुकाम पुग्नै गाह्रो छ, हिँडेर जान दिन बित्छ, खाँदबारी तरेर लेगुवा घुम्नुपर्छ’, नेपालेडाँडाका सौगात गौतम भन्छन्, ‘सरकारी काम, नागरिकता, राहदानी बनाउन धाउँदा घरको काम पनि बित्छ होटल लजको बसाइ पनि महँगो हुन्छ।’ उनीजस्तै उत्तरी क्षेत्रका स्थानीय कष्टकर रूपमा घण्टौ पैदल हिँड्न बाध्य छन्।
वर्षाले भोजपुर दिङ्ला सडकखण्ड, भोजपुर घोरेटार सडकखण्ड, आमचोक गाउँपालिका १० पाङ्चा राङ्चास्थित बालंखा–रानीटार कच्ची सडकखण्ड, हतुवागढी गाउँपालिका ९ हसनपुर साफिङटारस्थित घोडेटार–मचुवाटार सडकखण्डलगायतका मुख्य ग्रामीण सडक बिग्रिएका छन्। त्यस्तै ६५ किलोमिटरको भोजपुर लेगुवा सडकखण्ड र ४२ किलोमिटर दूरीको पुष्पलाल राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ।
भोजपुर सदरमुकाम र उत्तरी भेग जोड्ने भोजपुर दिङ्ला सडकखण्ड बर्सेनि बिग्रिँदा यात्रुले चरम सास्ती व्यहोर्नुपर्छ। वर्षायाम सुरु भएसँगै दिङ्ला क्षेत्र, उत्तरी साल्पासिलिछो क्षेत्रका बासिन्दा खाँदबारीदेखि धनकुटाको लेगुवाहुँदै सदरमुकाम धाउनुपर्ने बाध्यता छ। त्यस्तै दक्षिणी भेगका स्थानीय सदरमुकाम आउन र अरुण तरेर धरान विराटनगर जान बाधा पुगेको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको व्यावसायी सचिन उदासले बताए। वर्षाले जताततै सडक बिग्रिएपछि ढुवानीका सवारीसाधन बाटोमै फस्ने र ग्राहकको माग अनुसार पसलमा सामान पुर्याउन समस्या भएको छ। सडक अवरुद्ध भएपछि बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ।
घोरेटार, दिङला बजार क्षेत्रमा सामान ढुवानी गर्न समस्या थपिएको उदासले बताए। ग्रामीण सडकको अवरुद्ध भएपछि वृद्ध र बिरामीलाई बढी सास्ती पुग्ने गर्छ। सदरमुकामदेखि हेलौँछाको तीनतलेसम्म १३ किलोमिटर सडकखण्ड र षडानन्द नगरपालिकाको किमालुङ, बैदारभन्ज्याङ, धारापानीहुँदै दिङ्लाबजारसम्मकोे सडकखण्ड हिलाम्मे बनेपछि सवारी साधन चल्ने अवस्था छैन। ‘बिरामीलाई अस्पताल पुर्याउनै गाह्रो छ। सडकको दुर्दशाले अकालमै बिरामीको ज्यान जाने स्थिति छ’, दिङ्लाका स्थानीय दीलकुमार राईले भने। सम्भाव्यता अध्ययनबिना जथाभावी सडक खन्दा र जथाभावी वन विनाश हुँदा पहिरोको जोखिम बढेको उद्योग वाणिज्य संघ भोजपुरका महासचिव नवीन प्रधान बताउँछन्।
प्रतिक्रिया दिनुहोस !