३२ पक्की पुलको उद्घाटन

३२ पक्की पुलको उद्घाटन

हेटौंडा : बागमती प्रदेशका विभिन्न जिल्लामा निर्माण गरिएको ३२ वटा पक्की पुल एकैपटक उद्घाटन गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक कार्यक्रमका बीच बुधबार पानसमा बत्ती बालेर निर्माण सम्पन्न भएका पक्की पुलहरू उद्घाटन गरेका हुन्। मकवानपुरको कैलाश गाउँपालिकास्थित दुवोखोला पक्की पुलसँगै एकसाथ ३२ वटा पक्की पुल उद्घाटन गरिएको हो।

सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका काम बिस्तारै देखिने चरणमा रहेकोले पाँच वर्षको अवधिमा जनस्तरमा दरिलो उपस्थिति देखिने बताए। साथै समय र खर्च कटौती गर्न निर्माण सम्पन्न भएका सबै पुलको एकैसाथ फरक ढंगले उद्घाटन गरिएको उनको भनाइ थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयको अनुसार ६ वटा पूर्वाधार विकास कार्यालयमार्फत उक्त पुल दुई वर्षको अवधिमा ७३ करोड ७६ लाख ४३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो। ३२ वटा पक्की पुलको लम्बाइ ९ सय ९२ दशमलव ९० मिटर रहेको छ।

पूर्वाधार विकास कार्यालय ललितपुरबाट कर्मनाशा खोला, गँगटे खोला, सपनतीर्थ, खानीखोला, धोबीखोला र नखुखोला पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। त्यस्तै, काभ्रेस्थित रोशी खोलाअन्तर्गत बल्थली ढांड, पुण्यमता दोभान, माम्ती, कटुन्जे, नाला पुल निर्माण भएको छ। त्यस्तै भक्तपुर स्वाल्पा खोला, चितवनको बाँदरमुढे खोला, किरुगाखोला, आँप खोल्सी सडक पुल र दुबुखोला सडक पुल निर्माण भएको छ।

नुवाकोटको खारेखोला बडरे हिमानीटार कल्भर्ट पुल, थोपलखोला पुल, कुथुंग खोला पुल र ढिकुरे खाल्टे खहरे पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक सहदेव भण्डारीले बताए। सिन्धुपाल्चोक कार्यालयमार्फत सबैभन्दा धेरै नौ वटा पक्की पुल निर्माण सम्पन्न भएको उनले जानकारी दिए। जसमा हाँडी खोला, महादेश खोला, सिपा खोला, खहरे खोला, पाखर खोला, ढाँडे (बराम्ची) खोला, सोरुङ खोला, अँधेरी खोला र चर्नावती खोला पुल रहेका छन्।

रामेछापमा वाक्सु खोला पुल र भटौती खोला पुल निर्माण भएको निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्ष २०७७/७८ मा १ सय २० वटा पुल निर्माण हुने भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.