बिरामीमा कोरोना संक्रमण : गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष सिल
राजविराज : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष सिल गरिएको छ। उपचार गराइरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय एक बिरामीमा अहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताए।
अस्पतालमा कार्यरत ३२ वर्षीया नर्स र ३६ वर्षीया सरसफाई कर्मचारीमा गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि नयाँ बिरामी भर्ना लिन छाडेको अस्पतालमा उपचाररत बिरामीमा समेत शुक्रबार साँझ कोरोना देखिएपछि आकस्मिक कक्ष सिल भएको हो।
स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय, सप्तरीको जानकारी बिना भारतबाट कुनौली हुँदै घर आएर बसेका राजविराज नगरपालिका–६ का ७३ वर्षीय व्यापारीको साउन १ गते कोरोना संक्रमण पुष्टि हुने बित्तिकै मृत्यु भएको थियो। मृतक व्यापारीकै सम्पर्कमा रहेका सरसफाई कर्मचारी र नर्समा समेत कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक र बिरामीहरुको पीसीआर परीक्षण गर्दा थप एक बिरामीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
नर्स र सरसफाई कर्मचारीमा संक्रमण देखिएपछि अस्पतालमा कार्यरत १ सय ९८ जना कर्मचारी, चिकित्सक तथा ४६ जना बिरामीको स्वाब पीसीआर परीक्षण गरिएको छ। जसमध्ये विष सेवन गरी भर्ना भएका ५० वर्षीय पुरुषमा शुक्रबार साँझ कोरोना संक्रमण देखिएको छ। अन्य कर्मचारी, चिकित्सक र बिरामीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ।
आकस्मिक कक्षमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु भयभित बनेका छन्। आकस्मिक कक्षका बिरामीमा कोरोना देखिएकाले केही समयका लागि सेवा बन्द गर्न लागिएको जानकारी दिँदै निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले आकस्मिक कक्ष बाहेक भर्ना भएका अन्य बिरामीहरुको उपचार र सेवा चालु रहने बताए।
आकस्मिक कक्षका रहेका बिरामीहरुलाई अन्य वार्डमा सिफ्ट गरिएको छ। आकस्मिक कक्षलाई निसंक्रमण गरिएको छ। बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नियमित परीक्षण र रेखदेखमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सकसहितको टोली क्वारेन्टिन बस्नुपर्ने अवस्था आएकोले अस्पतालको सेवा प्रभावित हुने भएको छ।
भारतबाट घर आएर बस्दा संक्रमण फैलियो
मृत्यु भएका व्यक्तिको सम्पर्कमा आएका उनको परिवारसहित २९ जनामा हालसम्म कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृतक परिवारका पाँच जना, उनको पसलको कामदारको परिवारका पाँच जना, पसल अगाडिको चियानास्ता पसलको परिवारका चार जना, पसलको आयव्ययको लेखा दुरुस्त पार्ने परिवारका तीन जना, छिमेकी दम्पति, उनको कलेजका व्यवस्थापक र श्रीमती, घरमा काम गर्ने सरसफाईकर्मी, मृतकलाई ल्याउने–लैजाने सवारी चालकलगायतमा कोरोना पुष्टि भइसकेको छ।
संक्रमितको संख्या बढेर ४ सय १९ पुगेको जनाउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले खुला सीमाका कारण एक व्यापारी परिवारका मानिसहरु जानकारी नदिई घरमा आएर बसेकोले उनको माध्यमबाट कल्पना नै नगरेको अवस्था सृजना भएको तर सबैको प्रयासले अवस्था नियन्त्रणमा आउने विश्वास व्यक्त गरे। भारतमा चार महिना रहेका व्यापारीको परिवार घरमै बसेको कुरा स्वास्थ्य कार्यालय र प्रशासनलाई जानकारी नदिने जनप्रतिनिधीको कमजोरी भएकाले उनीहरुले नै यसको जिम्मेवारी लिनु पर्ने समेत यादवले बताए।
प्रतिक्रिया दिनुहोस !