म्युजिक भिडियोको बाढी

म्युजिक भिडियोको बाढी

काठमाडौं : लकडाउनका कारण चार महिनाभन्दा बढी समयदेखि ठप्प नेपाली मनोरञ्जन उद्योगले टाउको उठाउने प्रयास गरेको छ। मूलधारका फिल्म, टीभी सिरियल तथा हल सञ्चालनमा खासै प्रयास नभए पनि म्युजिक भिडियो उत्पादन तथा रिलिजमा सर्जकहरू लागिपरेका छन्। यसले सुस्ताएका कलाकार तथा प्राविधिकमा केही उत्साह थपेको छ।

विगतमा यति बेला पार्टी प्यालेस, पार्क तथा रमणीय स्थलमा तीज गीतका म्युजिक भिडियो सुटिङ भइरहेको यत्रतत्र भेटिन्थ्यो तर यसपालि त्यो माहोल छैन। यति हुँदाहुँदै पनि कलाकारले परम्परा धान्न भए पनि सानो झुण्डमा जम्मा भएर आफ्ना सिर्जना प्रस्तुत गर्ने जमर्को गरिरहेका छन्। यसपालिको तीजका भाकामा केही परिवर्तन आएका छन्। प्रस्तुतिको शैली पनि फेरिएको छ।

अहिलेको अवस्थामा मनोरञ्जनका अन्य गतिविधि ठप्पप्रायः भए पनि म्युजिक भिडियोले भने केही हदसम्म धानेको छ। लकडाउनकै अवस्थामा पनि विभिन्न उपाय अपनाएर केही म्युजिक भिडियो आएका थिए। अहिले परिस्थिति केही सहज हुँदै गएपछि भिडियो उत्पादनले राम्रै गति लिएको छ। एक हिसाबले भन्नुपर्दा संगीतकर्मी जुर्मुराएका छन्। तर यी गीत रिलिजको प्लेटफर्म भने युट्युब च्यानलबाहेक अरू हुन सकेको छैन। यसरी रिलिज गरिएका केही गीतले छोटो समयमै श्रोताको असीमित माया पनि पाएका छन्।अहिले हरेक दिन नयाँनयाँ गीत र त्यसको भिडियो रिलिज भइरहेका छन्।

यसै क्रममा नेपाल आइडलकी अस्मिता अधिकारी र किरण भुजेलको आवाज र अभिनयमा तयार भएको ‘आँखामा बसाऊ मलाई’ बोलको गीत रिलिज गरिएको छ। मायाप्रेमको भाव प्रस्तुत गरिएको गीतमा शब्द रचना, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको छ।

हरेक हप्ता एकपछि अर्को भिडियो रिलिज गर्दै गरेका निर्देशक विधान कार्कीले यो भिडियोमा तारिफयोग्य काम गरेका छन्। भिडियोमा गायक र गायिकालाई नै फिचर गराई निर्देशक कार्कीले उनीहरूबाट निखारिएको अभिनय गराउन खेजेका छन्। भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ। द डिभाइन म्युजिकको प्रस्तुतिमा नेप्सिने कम्पनीको सहकार्य भिडियो निर्माणमा छ।

यसैगरी गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काको संयुक्त स्वर रहेको ‘जुनी जुनी’ बोलको भिडियो पनि दर्शकमाझ आएको छ। संगीतकार मनोज चौलागाईंले युट्युब च्यानल गीत रिलिज गरेका हुन्। भिडियोमा गायक खड्का र ऋचा थापाले अभिनय गरेका छन्। गीतको शब्द हस्त गौतम मृदुलले लेखेका हुन् भने भिडियो निर्देशक सियोन श्रेष्ठ हुन्।

नेपाली महिलाको महान् चाड तीज नजिकिँदै गर्दा गत वर्षभन्दा कम गीत सार्वजनिक भइरहे पनि विभिन्न स्थानमा छरिएर रहेका सर्जकले परम्परा धान्ने प्रयास गरिरहेका छन्। ‘पहिलाको जस्तो माहोल नभए पनि निरन्तरता दिन खेजेकी हुँ’, दुबईमा रहेकी गायिका इन्दिरा भट्टराईले बताइन्। आफू उतै रहे पनि यहाँका साथीसँग सहकार्य गरेर तीज गीत ‘नाचौं गाऊँ रमाऊँ’ दर्शकमाझ ल्याएको उनी बताउँछिन्। पहिलाजस्तो यसपालि तीजका गीतमा लगानी नभएको र रहर पूरा गर्न मात्रै सीमित गीतका भिडियो आउने म्युजिक कम्पनी सञ्चालकको अनुमान छ।

चल्तीमा रहेका प्रायः कलाकार तीजका अवसरमा आयोजना हुने विभिन्न समारोहमा सरिक हुन आफ्ना नयाँ सिर्जना पस्कन्थे तर अहिले यस्ता कार्यक्रम हुने सम्भावना नभएकाले पनि उत्पादनमा कमी आएको केहीको बुझाइ छ।

तीजबाहेक अन्य विधाका गीतका भिडियोले पनि बजार तताइरहेका छन्। संगीतकर्मी वसन्त सापकोटाको स्वर, शब्द तथा संगीतमा ‘वनैमा मजुर’ सार्वजनिक भएको छ। गीतमा सापकोटासँगै गायिका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ। भिडियो निशान कश्यपले निर्देशन गरेका हुन् भने गीतमा मोडल सृष्टि खड्का र विशाल सेनले अभिनय गरेका छन्।

नेपाली म्युजिक भिडियो इतिहासमा युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलतापश्चात् गायक आशिष सचिनको अर्को प्रस्तुति ‘गलबन्दी पछ्यौरी’ले अहिले युट्युबमा राम्रो भ्यु पाएको छ। पिरिम नलाउने समूहकै सहभागितामा गलबन्दी पछ्यौरी तयार भएको हो। गायक आशिष सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन्।

यसैगरी नायक पल शाह र स्वस्तिमा खड्काले अभिनय गरेको म्युजिक भिडियो ‘मायालु तिमी कता छौ–२ (सिरिरी सिरिरी)’ युट्युबको ट्रेन्डिङमा छ। गज्जब टीभी युट्युब च्यानलमार्फत रिलिज गरिएको म्युजिक भिडियोमा शब्द दिनेश थपलिया, संगीत राजनराज सिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज सिवाकोटीको छ। भिडियो निर्देशन सरोज ओलीले गरेका छन्।

गीत रेकर्डिङ, म्युजिक भिडियो सुडिङ तथा यसका अन्य प्राविधिक कार्य भइरहँदा फिल्मका नायक नायिका तथा निर्देशक पनि यतातिर आकर्षित हुन थालेका छन्। पल शाह, नाजिर हुसेन, आँचल शर्मा, वर्षा राउत, नम्रता सापकोटा, स्वस्तिमा खड्का लगायतका कलाकारका नयाँ भिडियो दर्शकले हेर्न पाउने भएका छन्। म्युजिक भिडियो हुँदै खुलेको मनोरञ्जन उद्योग विस्तारै अघि बढ्ने विश्वास उनीहरूको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.