आयो कोरोनाको चेतना गीत
काठमाडौं : विश्वव्यापी महामारी कोभिड १९ बाट नेपाल निकै प्रभावित भइसकेको छ। रोगको त्रास त छँदैछ, चेतना अभावमा यसले सामाजिक समस्यासमेत निम्त्याउँदै गएको छ। यसैलाई ध्यान दिएर रामकृष्ण बान्तवाले लेखेका छन्, ‘सद्भाव सन्देशयुक्त चेतना गीत। त्यसमा संगीत भरेका छन् सीएल शर्माले। र, स्वर दिएका छन्, सीएल, महेश शिल्पकार र सुरेनचन्द ठकुरीले।
कोभिड १९ जति आक्रान्त कोरोना भाइरस हो, यसका केही सकारात्मक पाटा पनि छन्। यो समयमा साहित्य सिर्जनासमेत बढिरहेका छन्। सुन्दर व्याख्या गरिएका रचना उत्तिकै जन्मिइरहेका छन्। किनकि, विपत्तिलाई सुन्दर बिम्बमा ढाल्नु सर्जकको विशेषता हो। त्यही मेसोमा बान्तवा लेख्छन्,
कोभिड १९ ले सिकाइदियो
जाति धर्म जेसुकै होस् हामी मान्छे एउटै
धनी गरिब फरक नक्सा
फरक भूगोल जेसुकै होस् धरती छ एउटै
हुन पनि कोरोना भाइरस यस्तो शक्ति बनेर आइदियो, न यसले न वर्ग हेर्यो, न जाति, न धर्म, न भूगोल। सबैलाई सराबरी प्रभाव पार्यो। तर, यसको अर्थ ‘राम्रो’ होइन। तर, मान्छेको लापरबाहीले ठूलो दशा निम्त्याएको वास्तविकता भने पक्कै हो। मान्छे कोहीसँग हार्दैन भन्ने अह्मले सारा दुनिया हरुवा बन्न सक्ने गीतको चेतावनी छ।
गीतले भन्छ, विज्ञान–प्रविधिले रोबट र एपी जेनेटिक्सको युग ल्यायो भन्दैमा मान्छे सर्वेसर्वा भइसकेको छैन। नत्र ‘कोहीसँग नहार्ने’ मान्छे सुक्ष्म जीवसँग कसरी हाथ्र्यो ? र, त्यसमा सुझाव दिइएको छ, रोग प्रतिरक्षा प्रणाली बलियो बनाऔं। प्रकृतिलाई माया गरौं। कोरोनासँग नडराऔं।
‘कता हिँडेको, कसलाई खोजेको भनन भन ए बिरानो परदेशी’ जस्ता गीतका रचनाकार बान्तवाले ‘कोभिड १९’ लाई चेतनामूलक रूप दिएका छन्। स्वर/संगीतले त्यसमा बल दिएको छ। गीत समयले मागेजस्तै बनेको छ।
प्रतिक्रिया दिनुहोस !