समुदायमा संक्रमण फैलिएपछि सप्तरी जिल्लामा निषेधाज्ञा
राजविराज : सप्तरीको राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा ठूलो सङ्ख्यामा संक्रमित बढेपछि सप्तरी जिल्लामा कोरोना संक्रमित हुनेको संख्या पाँच सय नाघेको छ। राजविराज नगरपालिका–६ र तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियामा पुष्टि भएका संक्रमितको सम्पर्कका व्यक्तिहरुमा गरिएको परीक्षणपछि जिल्लामा संक्रमितको सङ्ख्या ५ सय ३१ पुगेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सप्तरीले ५१ जनामा संक्रमण पुष्टि गरेको थियो। मंगलबार सात जना नयाँ संक्रमित फेला परेकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। जसमध्ये ६ जना प्रहरी र एक जना बिमा कम्पनीका कर्मचारी हुन्। उच्च अदालत जनकपुर, राजविराज इजलासबाट स्वाब संकलन गरिएका १ सय ९ मध्ये ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
मङ्गलबार नयाँ पुष्टि हुने सात जना संक्रमित सबै राजविराजका हुन्। स्थानीय तह १८ वटा भएको सप्तरी जिल्लामा संक्रमितको संख्या ५ सय ३१ पुग्दा राजविराज नगरपालिकामा सबैभन्दा बढी ९० र तिलाठी कोइलाडी गाउँपालिकामा ७९ जना रहेका छन्। कोरोना संक्रमण समुदायमा फैलिएपछि मङ्गलबारदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकोमा मङ्गलबार बिहान ५ बजेदेखि आगामी सोमबार साँझ ५ बजेसम्मका लागि सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस !