सप्तरीका कोरोना संक्रमितको काठमाडौंमा मृत्यु
राजविराज : कोरोना संक्रमणले सप्तरीका थप एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–७ का ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । ग्राण्डी अस्पताल, काठमाडौंमा उपचारका क्रममा उनको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
राजविराजमै पीसीआर परीक्षणका लागि नाम लेखाई सकेका उनलाई निरन्तर ज्वरो आएर निमोनियाको समस्या देखिएपछि एक साता अघि उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंमै रहेका दुई छोराहरुले राम्रो उपचारका लागि बोलाएपछि उनी श्रीमतीसहित काठमाडौं गएका थिए । मृतकका छोराका अनुसार ‘प्रोस्टेट’ को रोगले पीडित मृतकको पिसाब रोकिएर महिना दुई महिनामा ज्वरो आइरहने गर्दथ्यो ।
उपचारार्थ भर्ना भएका उनको बिहीबार निजी क्लिनिकमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको र मृत्यु लगत्तै नेपाली सेनाको निगरानीमा काठमाडौं पशुपतिमा रहेको विद्युतिय शवदाह गृहमा अन्त्यष्टि गरिएको उनका छोराले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको संक्रमणबाट मृत्यु भएको शुक्रबार पुष्टि गरे पछि सोधखोज गर्दा शनिबार मात्र स्वास्थ्य कार्यालय सप्तरीले जानकारी पाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यो समेत सप्तरीमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।
यसैगरी सप्तरीमा शुक्रबार मृत्यु भएका थप दुई जनाको स्वाब संकलन गरिएको छ । कोरोनाको आशंकामा मृत्यु भएका डाकनेश्वरी नगरपालिका–८ की ३३ वर्षीया महिला र सुरुङ्गा नगरपालिका–२ का ३७ वर्षीय पुरुषको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उच्च ज्वरो आएपछि औषधि किनेर सेवन गरिरहेका उनीहरुको ज्वरो निको नभए पछि उपचारका लागि अस्पताल जाने तयारीमा रहेका बेला मृत्यु भएपछि कोरोना संक्रमण यकिन गर्न स्वाब संकलन गरिएको हो ।
रूपनी गाउँपालिका–४ का ४० वर्षीय पुरुष र सुरुङ्गा नगरपालिका घर भई राजविराज नगरपालिका–६ स्थित घरमा बस्ने ३५ वर्षीया महिलाको स्वास्थ्य अवस्था बिग्रिए पछि उचित उपचारका लागि धरानस्थित बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले राजविराजमा भेण्टिलेटरको अभावमा सम्भावित जोखिम कम गर्न उनीहरूलाई धरान लगिएकोमा हाल अवस्थामा सुधार आएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !