रिपोर्ट नआउँदा तनाव

रिपोर्ट नआउँदा तनाव

हेटौंडा : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले परीक्षणका लागि स्वाब दिएको ३ दिनसम्म रिपोर्ट आएन। हेटौंडा–१० स्थित प्रादेशिक कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (प्रयोगशाला) ले रिपोर्ट दिन ढिलाइ गरेपछि उनले काठमाडौं गएर स्वाब परीक्षण गराइन्।

काठमाडौंमा गरिएको परीक्षण पोजिटिभ देखिएपछि उनी होम आइसोलेसनमा छिन्। हेटौंडाको रिपोर्ट अहिलेसम्म आएको छैन। साउन २७ मा धरानबाट हेटौंडा आएका हेटौंडा–१९ का हीरालाल ढकालले परीक्षणका लागि स्वाब दिएको एक सातामा मात्र रिपोर्ट आयो। सूर्य नेपाल प्रालिका कर्मचारी ढकाल कोरोनाको जोखिमयुक्त क्षेत्रबाट आएको र कोरोनाको लक्षण देखिएका कारण घर नगई हेटौंडामै होटल बुक गरेर क्वारेन्टाइनमा बसे।

२९ गते स्वाब संकलन भएपछि उनलाई मानसिक रूपमा तनाव थपियो। ‘दुई दिनमा रिपोर्ट आउँछ भनेका थिए तर एक साता होटलमा एक्लै बसेर रिपोर्ट कुर्नुपर्दा मानसिक रूपमा विचलित भएँ’, उनले भने, ‘भदौ ३ गते रिपोर्ट नेगेटिभ आएपछि मात्र घर बस्न पाएँ।’ उनीहरूजस्तै करिब एक हजार जना रिपोर्टको प्रतीक्षामा छन्। तर, रिपोर्ट कहिले आउँछ थाहा छैन।

रिपोर्टको प्रतीक्षामा रहेकी हेटौंडा–८ की एक महिलाले भनिन्, ‘हामीभन्दा पछि स्वाब दिएकाको रिपोर्ट आइसक्यो तर हाम्रो अझै पालो आएको छैन। डरैडरले बिरामी हुन थालिसकँे।’ प्रयोगशालामा बाग्मतीसँगै प्रदेश २ का केही जिल्लाको पनि स्वाब परीक्षण भइरहेको छ। हेटौंडाबाट मात्र दैनिक करिब एक सय स्वाब संकलन भइरहेको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए। बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता पुरुषोत्तम सेढाईंले दैनिक ५ सयभन्दा बढी स्वाब प्रयोगशालामा आउने गरेको बताए। ‘हामीसँग भएको मेसिनले दैनिक ३ सयभन्दा बढीको रिपोर्ट दिन समस्या छ। जनशक्ति पनि कम छ’, उनले भने, ‘अब पीसीआर मेसिन थप्दै छौं।’

हेटौंडामा परीक्षण ढिलाइ भएपछि ५ सय स्वाब आइतबार बिहानै धुलिखेल पठाइएको सेढाईंले बताए। लकडाउन खुलेपछि कोरोना संक्रमित ह्वात्तै बढेका छन्। त्यसका कारण कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरूको स्वाब संकलन धमाधम भइरहेको जानकारी उनले दिए।

चार प्रयोगशाला थपिँदै

कोरोना संक्रमण दर तीव्र बढेपछि कोरोना परीक्षण गर्न थप चारवटा प्रयोगशाला स्थापना गरिने भएको छ। बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, मकवानपुरको हेटौंडा अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा प्रयोगशाला स्थापना गर्न लागेको सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले बताए। ‘शनिबार खरिद प्रक्रिया अघि बढेको छ, एक साताभित्र अस्पताहरूमा मेसिन पुर्‍याउने लक्ष्य छ’, उनले भने।

एउटा मेसिन ६० लाख रुपैयाँको दरमा खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ। ‘पीसीआर मेसिन आएपछि परीक्षण रिपोर्ट अहिलेको भन्दा छिटो दिन सक्छौं’, सचिव काफ्लेले भने, ‘प्रयोगशाला दीर्घकालीन रूपमा अन्य रोगको परीक्षणका लागि पनि उपयोग गर्न सकिन्छ।’ प्रदेश सरकारले २०७६ चैत अन्तिममा हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरेको थियो। यहाँ दैनिक ३ सयको हाराहारीमा स्वाब परीक्षण हुँदै आएको छ। प्रदेश सरकारले काभ्रेको धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ।

आइतबार साँझसम्म बाग्मती प्रदेशमा ४ हजार ५ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ३ हजार ७ सय ४५ जनाको उपचार भइरहेको छ। प्रदेशभित्र ३१ जनाको मृत्यु भएको मन्त्रालयका कोभिड प्रवक्ता सेढाईंले बताए। प्रदेशभित्र ९ हजार ९ सय १ क्वारेन्टाइन बेड रहेकामा ८ सय ८६ जना क्वारेन्टाइनमा छन्। १ हजार २ सय ४० जना होम क्वारेन्टाइनमा छन्। बाग्मती प्रदेशमा २ हजार ४ सय ७५ वटा आइसोलेसन बेड रहेकामा १ हजार ७ सय ६७ जना आइसोलेसनमा छन्। हालसम्म बाग्मती प्रदेशका ५१ हजार १ सय १६ जनाको पीसीआर गरिएको छ।

आइसोलेन बेड अभाव

प्रदेश राजधानी हेटौंडासहित विभिन्न जिल्लामा आइसोलेसन बेड अभाव हुन थालेको छ। हेटौंडामा व्यवस्थित आइसोलेसन अभावमा एक दर्जनभन्दा बढी संक्रमित घरमै छन्।

हेटौंडा–४ स्थित ४० बेडको आइसोलेसन वार्डमा बिरामी नअटेपछि हेटौंडा–६ स्थित गौरीटार रंगशालाको छात्रावासमा आइसोलेसन निर्माण गरिएको छ। सय बेडको आइसोलेसनमा ८० भन्दा बढी संक्रमित छन्। ‘तर यहाँ पानी पर्ने बित्तिकै झ्यालबाट पानी छिरेर ताल बन्ने गरेको छ। बत्ती, खानेपानी र खानेकुराको व्यवस्थापन पनि राम्रो छैन’, आइसोलेसनमा रहेका एक संक्रमितले भने।

संक्रमित बढ्न थालेपछि सिन्धुलीमा पनि रातारात ५० बेडको आइसोलेसन बेड निर्माण थालिएको छ। ६२ बेडको आइसोलेसन रहेको धादिङमा संक्रमित दैनिक बढ्न थालेपछि आइसोलेन बेड अभाव हुन थालेको छ। काभ्रेमा पनि जम्मा ३३ वटा मात्र आइसोलेसन बेड रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र झाले बताए। नुवाकोट अस्पतालमा ३० बेडको आइसोलेसन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.