माथिल्लो डोल्पामा भारी असिना-पानी
डोल्पा : माथिल्लो डोल्पामा निरन्तर दुईदिन परेको असिना र वर्षाले अन्नबालीमा क्षति पुर्याएको छ। लामो समयको खडेरीपछि परेको भारी वर्षा र असिनाले बालीमा क्षति पुर्याएको हो। शे फोक्सुण्डो गाउँपालिकाक १ देखि ४ मा लगाएको फापर,उवा,गँहु,आलुमा पूरै क्षति पुगेको वडा नम्बर ४ का अध्यक्ष पेमावाङछेन गुरुङ्गले जानकारी दिए । दुईदिन लगातार परेको वर्षा र असिना पानीले बाली पूरै ढलेको छ भित्र्याउने बेलाको अन्न खेतमै ढलेपछि कृषक चिन्तित भएको गुरुङ्गले बताए ।
कोरोनाको कारण यस वर्ष माथिल्लो डोल्पाका कृषकले यार्सागुम्बा टिप्न पनि पाएनन्। भएको अन्नबाली समेत असिनाले सखाप पारेको स्थानीय तेन्जीन टासी गुरुङ्गले दुख व्यक्त गरे। उनले भने, 'अब सरकारले क्षतिपूर्ति दिनुपर्ने नत्र भोकै मर्ने अवस्था आएको छ।' वर्षाले शे–फोक्सुण्डो गाउँपालिकाको १,२,३ र ४ मा रहेका निर्माणधिन विकास योजनाहरु वर्षाले क्षति पुर्याएको छ।
ग्रामिण सड्क,पर्यटन पदमार्ग,पुल,सड्क,सिँचाइलगायतका विकासका योजना पूर्णरुपमा क्षति पुगेको वडा अध्यक्ष पेमावाङछेन गुरुङ्गले जानकारी दिए । यस्तै बाढीले खोलमा रहेका पुल बगाएको छ। सञ्चारको पहुँच नभएकाले वास्तविक क्षतिबारे जानकारी नआएको वडा अध्यक्ष गुरुङ्गले बताए।