सप्तरीको एउटै नगरपालिकामा थप २० जनामा संक्रमण
राजविराज : सप्तरीको हनुमाननगर कंकालिनीमा २० जनासहित सप्तरीमा २३ जनालाई कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा ३ महिलासहित २० जनालाई कोरोना संक्रमण देखिएको हो भने धरानमा उपचाररत ३ जना विरामीमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ का १४, १५ र ५५ वर्षीया महिला, २२, ३५, ४५ र ६० वर्षीय पुरुष, वडा नम्बर २ का २५ वर्षीय पुरुष, वडा नम्बर १० का १६, १७, ४३, ५४, ५५, ६६ र ३० वर्षीय दुई पुरुष, वडा नम्बर–१२ का ३८ र ३१ वर्ष उमेरका दुई जना पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। यस्तै राजविराज नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। अस्पतालले बुधबार सप्तरीको कुल ९९ जनाको रिपोर्ट सार्वजनिक गरेकोमा अन्य ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
यसैगरी धरानमा उपचाररत सप्तरीका तीन जना बिरामी पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सुनसरीको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचाररत हनुमाननगर कंकालीनी नगरपालिका–५ का ३१ वर्षीय, सुरुङ्गा नगरपालिका–१ का ६० वर्षीय र राजविराज नगरपालिका–५ का ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। धरानमा उपचाररत तीन जना बिरामीको आइतबार स्वाब संकलन गरिएको थियो।
यो समेत सप्तरीमा संक्रमितको संङ्ख्या ७ सय ५७ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया निरीक्षक नारायणप्रसाद राउत बरैले जानकारी दिए। जसमध्ये ५ जना पुरुषको मृत्यु भएको छ भने ५४१ जना निको भइ घर फर्किएका छन्। बाँकी संस्थागत र होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !