कपिलवस्तुमा थप १ हप्ता निषेधाज्ञा
कपिलवस्तु : जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलँदै गएका कारण नियन्त्रणका लागि थप १ हप्ता निषेधाज्ञालाई निरन्तरता दिइएको छ। जिल्लामा कोरोना संक्रमणकै कारण ३ जनाको ज्यान गइसकेको र दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दो छ। यसै कारण बाध्य भइ निषेधाज्ञालाई थप १ हप्ता निरन्तरता दिनु परेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भाद्र २२ गते राती १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञा अवधिभर अतिआवश्यक सेवाका पसल तथा सवारी साधनबाहेक सबै बन्द हुने जनाइएको छ। बैंक तथा वित्तीय संस्था भने कोरोना संक्रमण नियन्त्रणका उपायहरु अपनाएर दैनिक १० बजेदेखि १ बजेसम्म संचालन गर्न अनुमति दिइएको छ।
मेडिकल, पानी, दूध जस्ता वस्तुबाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ। उद्योग तथा कलकारखानाको भने स्वास्थ्य मंन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार सुरक्षाको सर्तकता अपनाएर संचालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
दमकल, एम्बुलेन्स, शव बाहन, दूध, खानेपानीका गाडीबाहेक अन्य सबै निजी तथा भाडाका सवारी साधान संचालनमा पूर्ण रोक लगाइएको छ। राजमार्ग भएर गुड्ने गाडी जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन्। तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन बीहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज शैनीले बताए।