सप्तरीका तीन स्थानीय तहमा भदौ २२ सम्म निषेधाज्ञा
राजविराज : कोभिड–१९ को संक्रमण बढी देखिएको सप्तरीको तीनवटा स्थानीय तहमा थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ। बढी संक्रमण देखिएको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आगामी २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
सप्तरी जिल्लाभरि साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा आज मध्यराति सकिन लागेको बेला सोमबार राति सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले एक सूचना जारी गरी सो निर्णयबारे जानकारी गराएका हुन्। प्रजिअ आचार्यद्वारा जारी सूचनामा तीन स्थानीय तहमा अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ।
जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले सोमाबर सिफारिश गरेको आधारमा लगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले निषेधाज्ञाको क्षेत्र कम गर्दै तीन स्थानीय तहमा भने जारी राख्ने निर्णय गरेको हो। उक्त क्षेत्रमा अत्यावश्यक सेवाअन्र्तगतका खाद्यान्न, तरकारी र फलफूलका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ। अन्य स्थानीय तहमा अत्यावश्यक सेवामा पर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ।
नेपाल सरकारले सञ्चालन गर्न रोक लगाएको बाहेकका पसल, सेवा र व्यवसाय स्वास्थ्य सर्तकता अपनाएर मात्र सञ्चालन गर्न पाइए पनि साप्ताहिक हाट बजार सञ्चालन गर्न नपाइने निर्णय भएको बैठकमा सहभागी नेकपाका प्रदेश सदस्य सुखराम यादवले बताए। संकट व्यवस्थापन केन्द्रको बैठकमा संघीय सांसद, प्रदेश सांसदहरु, राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।
भदौ १५ गते राति जारी निषेधाज्ञाको सूचना ।
प्रतिक्रिया दिनुहोस !