एकै परिवारका आठजनामा कोरोना देखिएपछि सप्तरीको कञ्‍चनरुप 'सिल'

एकै परिवारका आठजनामा कोरोना देखिएपछि सप्तरीको कञ्‍चनरुप  'सिल'

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित एउटै परिवारका आठजनामा कोरोना संक्रमण देखिएपछि कञ्चनरुप–६ स्थित घोघनपुर 'सिल' गरिएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रका अनुसार संक्रमित व्यक्तिका परिवारमा पीसीआर परीक्षण गराउँदा थप ७ जनामा कोरोना संक्रमण देखिएकाले कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न उक्त टोल अर्को आदेश नहुञ्जेलसम्मका लागि 'सिल' गरिएको हो । 

साविकको घोघनपुर गाविस–४ को क्षेत्रभरी 'सिल' गरिएको जनाउँदै उनले सो क्षेत्रमा स्वास्थ्य चौकी रहेकोले स्वास्थ्य सेवासहित बजार, पसल बन्द गरिएको छ । नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले उक्त टोलमा हिँडडुल, आवतजावत बन्द हुने गरी 'सिल'  गर्दै प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । यस्तै कञ्चनरुप नगरपालिका–२ र ७ मा स्वास्थ्य सेवा बाहेकका हाटबजार, पसल बन्द गर्ने निर्णय गरिएको छ । 

कञ्चनरुप नगरपालिका–६ स्थित एकै परिवारका १०, १२, १३, ३६ र ६२ वर्षीय पुरुष तथा ३० र ६२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ । राजविराजबाट फर्किएर गएका ३६ वर्षीय व्यापारीलाई ज्वरो र रुघाखोकी लागेर शंका गरी परीक्षण गर्दा  ५ दिन अघि कोरोना पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गमा परेका परिवारका ७ जनासहित छिमेकीहरु समेत १६ जनाको शनिबार स्वाब संकलन गरिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जनाए । 

पीसीआर परीक्षण गरिएकामध्ये संक्रमितको परिवारका आमा, श्रीमती, छोराछोरी र परिवारका नातेदारहरु नै ७ जना रहेको गुप्ताले बताए ।यसअघि नै कोरोना पुष्टि  भएका व्यापारी होम आइसोलेशनमा बसिरहकाले थप संक्रमित उनका परिवारका ७ जनालाई पनि होम आइसोलेसनमै राखिएको छ ।

कञ्चनरुप नगरपालिका– २ का तीन जना पुरुषमा समेत बुधबार कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए । वडा नम्बर– २ का २१ र २५ वर्षीय पुरुष पनि एकै परिवारका हुन् । दुई साता अघि भारतबाट आएका उनीहरु संस्थागत क्वारेन्टाइनमा बसेका छन् । यी २ जनालाई कञ्चनरुप नगरपालिकाले बुधबारदेखि सञ्चालन गरेको कञ्चनरुप नगरपालिका–११ स्थित दुर्गा आधारभूत विद्यालय सिमराको आइसोलेसनमा राखेको जनाएको छ ।  

कञ्चनरुप नगरपालिका–२ का ३६ वर्षीय व्यापारी पुरुषमा समेत बुधबार नै कोरोना रिपोर्ट पोजिटिभ आएको छ । अस्पतालमा उपचारार्थ भर्ना भएका एक बिरामीलाई भेटन उनी केही दिनअघि विराटनगर पुगेर फर्किएका थिए । उनलाई राजविराजस्थित आइसोलेसन केन्द्र ल्याइएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कञ्चनरुपका ८० जनाको स्वाब परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजिटिभ आएको गुप्ताले जानकारी दिए । सह संयोजक गुप्ताले हालसम्म कञ्चनरुप नगरपालिकामा पुष्टि भएका २३ जना संक्रमतिमध्ये नौ जना निको भइ घर फर्किएको बताए ।

यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालले गरेको परीक्षणअनुसार राजविराज नगरपालिका– ४ का ३५ वर्षीय पुरुष तथा तिलाठी कोईलाडी गाउँपालिका– ८ का २७, २८, ५५ र ७५ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।

सप्तरी जिल्लामा हालसम्म संक्रमितको सङ्ख्या १२७ महिला र ६९६ पुरुष गरी ८२३ पुगेको छ । तीमध्ये ७७ महिला र ५२८ पुरुष गरी ६०५ जना निको भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । हाल आइसोलेसनमा २१२ जना उपचाररत रहेका छन् भने छ जना संक्रमतिको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.