खोज्दा भेटिँदैन एम्बुलेन्स

खोज्दा भेटिँदैन एम्बुलेन्स

हेटौंडा : हेटौंडा–८, की सुमित्रा नेपालले बिरामी आमालाई अस्पताल लान बुधबार दिनभर एम्बुलेन्स खोजिन्। निषेधाज्ञाले सार्वजनिक सवारी बन्द भएपछि एम्बुलेन्स खोज्दा उनको दिन बित्यो। अन्ततः नेपालले अटोमा राखेर आमालाई अस्पताल लानुपर्‍यो।

वृद्ध बुवाको स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि हेटौंडा— ४ का देवेन्द्र अर्यालले पनि बुवालाई चितवन मेडिकल कलेज लैजानु पर्ने भयो। बिहीबार दिनभर एम्बुलेन्स खोज्दा पनि नभेटेपछि उनले स्कर्पियो रिजर्भ गरेर बुवालाई भरतपुर लगे। ‘दिनभर खोजे, सबैतिर फोन गरे, भन्न बाँकी कहीँ छैन,तर एम्बुलेन्स पाउन सकिएन’, उनले गनासो सुनाए। हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका सुत्केरीले पनि एम्बुलेन्स नपाएर निजी गाडी र अटोमा महँगो भाडा तिरेर फर्किनुपर्ने बाध्यता छ।

यस्तो अवस्थामा नेपाल रेडक्रस सोसाइटी मकवानपुरको एम्बुलेन्स बिग्रिएर थन्किएको छ। अन्य केही एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएका एम्बुलेन्स चालक बताउँछन्। एम्बुलेन्स अभावबारे जानकारी गराउँदा अस्पतालका चिकित्सक र प्रशासनले बेवास्ता गर्ने, एम्बुलेन्सबारे जानकारी माग्दा कतैबाट पनि चित्तबुझ्दो जवाफ नआउने सर्वसाधारणको गुनासो छ। हेटौंडा अस्पताल, हेटौंडाको चुरेहिल अस्पताल, हेटौंडा सहकारी अस्पतालमा एम्बुलेन्स नभएको र भएका केही भरतपुर गएका एम्बुलेन्स चालक बताउँछन्।

हेटौंडाका विभिन्न अस्पताल र संघसंस्थाका करिब दुई दर्जन एम्बुलेन्स छन्। एम्बुलेन्स खोज्दा विभिन्न बहाना बनाउँदै चालकहरू सम्पर्कमा आउन नचाहने हेटौंडास्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए। संक्रमितलाई आइसोलेसन लानुपर्ने अवस्थामा चालकलाई फोन गर्दा फोन नउठाउने र सम्पर्कमा आएकाहरू पनि जान नमान्ने उनको अनुभव छ। यसबारे जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पताललाई जानकारी भए पनि समस्या सम्बोधन भएको छैन।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल आफैं एम्बुलेन्स सञ्चालनको जिल्लास्तरीय समितिका अध्यक्ष हुन्। हेटौंडा नगर क्षेत्रमा उपमहानगरले नियमन गर्ने बताउँदै उनले भने, ‘समस्या आइरहेको छ तर यसलाई उपमहानगरले नियमन गर्ने हो, अन्य स्थानीय तहको समस्या छैन।’ हेटौंडा उपमहानगरका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्की भने उपमहानगर क्षेत्रको एम्बुलेन्स सञ्चालन हेटौंडा अस्पतालले हेर्ने बताउँछन्। कानुनी रूपमा कुनै अधिकार नभएकोले अस्पतालको एउटा एम्बुलेन्सबारे मात्रै आफूहरूलाई जानकारी हुने अस्पतालका निमित्त अध्यक्ष प्रकाश पौडेलको भनाइ छ।

मकवानपुरमा जारी निषेधाज्ञाको फाइदा जिल्लाका एम्बुलेन्स चालकले लिइरहेका छन। एम्बुलेन्स चालकले बिरामीको बाहना गर्दे यात्रुलाई मकवानपुर–चितवन, मकवानपुर–वीरगन्जसम्म ओसारपसार गरेको पाइन्छ। यात्रुले पनि जिल्ला प्रशासनसँग पास लिने झमेला गर्नुभन्दा केही बढी रकम तिरेर एम्बुलेन्समा यात्रा गर्छन्। ‘हेटौंडामा जनसंख्याको चापअनुसार एम्बुलेन्सको पनि अभाव छ’, स्वास्थ्यकर्मी उत्सव चौलागाईंले भने, ‘एम्बुलेन्सको दुरुपयोग रोक्न सके धेरै राहत हुने थियो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.