मर्मत र बस्ति संरक्षणमा बेवास्ता गरेपछि स्थानीयद्धारा बेनी-दरवाङ सडक बन्द
बेनी : ठेकेदारले मर्मत र जोखिममा परेका बस्ति संरक्षणमा बेवास्ता गरेपछि बेनी नगरपालिका-६ डम्मराका बासिन्दाले म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसंग जोड्ने बेनी-दरबाङ सडक शुक्रबार दिउँसोदेखि बन्द गराएका छन्।
डम्मरामा सडकमा गरालो राखेर सवारी आवत जावत गर्न रोक लगाएका हुन्। ठेकेदारले भत्काएको सडक मर्मत तथा जोखिममा परेको बस्तिको संरक्षणमा बेवास्ता गरेकाले सडकनै बन्द गराएर आन्दोलनमा उत्रनुपरेको स्थानीय बिशाल खत्रीले बताए।
‘जथाभावी सडक निर्माण गरेका कारण दर्जनौ घर भत्कने अवस्थामा छन्,’ उनले भने ‘हिलाम्मे सडक मर्मतमा पनि वास्ता नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो।’ सडक बन्द हुँदा मंगला, मालिका र धवलागिरी गाउपालिकाका बासिन्दालाई आवत जावतका साथै ढुवानी प्रभावित भएको छ।
बेनी-दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको पुर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नारायण पौडेलले ठेकेदारनै सम्पर्कमा नभएकाले मर्मत तथा जोखिमयुक्त ठाउँमा संरक्षणको काम गर्न समस्या भएको बताए।
‘बल्ल बल्ल डोजर अपरेटर खोजेर पल्टिन लागेको पर्खाल हटाउन पठाउदैछौ,’ उनले भने ‘लकडाउन भएपछि गएका ठेकेदार सम्पर्कमै छैनन्। पहिरोले छिया छिया बनाएको छ। मर्मत गर्न समस्या भएको छ।’
२०६३ मा ट्याक खुलेको करिब डेढ दशकसम्म पनि स्तरोन्नतिले पूर्णता नपाउँदा पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।
ट्याक खुले लगत्तै तत्कालिन विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)ले करोडौ खर्चेर सञ्चालन गरेको सडक सुधारको काम प्रभावकारी भएन। २०७४ देखि सडक डिभिजनले कालोपत्रेका लागि सुरु गरेको स्तरोन्नतिको कामले पनि गति लिन सकेको छैन्।
यात्रुहरु साँघुरो, खाल्डाखुल्डी, ग्रेड र मोड सुधार नभएको जिर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। २४ किलोमिटर दुरीको यो सडक पार गर्न गाडीमा साढे दुई देखि तीन घण्टा लाग्छ।
बर्खामा हिलो र हिउँदमा धुलोले हैरान बनाएको छ। तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले २०७४ असोज ४ गते बेनी देखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्रे गर्न समानान्तर लामा जेभीसंग ४५ करोड ५३ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सम्झौता अनुसार २०७६ माघ ४ गते सकिनुपर्ने यो आयोजनाको असार मसान्तको भौतिक प्रगति करिब पचास प्रतिशत प्रतिशत छ। संघबाट २०७५ पुषमा प्रदेशको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो। आयोजना ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा काम सुस्त बनेको कार्यालयका प्रबाधिकहरुले बताएका छन्।
११ मिटर फराकीलो बनाइने सडकको सात मिटर चौडाई कालोपत्रे गर्न लागिएको हो। लाम्पाटा देखि दरवाङ खण्डको ८ किलोमिटर खण्डको सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते ठेक्का सम्झौता गरेको बिरुवा-क्याराभान जेभीले पनि कामलाई गति दिन सकेको छैन्।
सोही सडकको दुखुखोलामा करिब दश वर्षपछि मोटरेबल पुल निर्माण भएको छ। बेनी-दरवाङ सडक कालोपत्रे भएमा आवत जावत र ढुवानी सहज बन्नुका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस !