जसका सन्तान नै सिर्जना...!
ज्यूँदै मर्याको भनि नाम छ कस्को ?
उद्यम बिना बित्तछ काल जस्को।।
(भानुभक्त आचार्य, प्रश्नोत्तरीबाट)
यद्यपि यो आलेख युवाकवि मोतीराम भट्टमा केन्द्रित रहेको छ, तैपनि यसको आरम्भ आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी शीर्षकको कविताअन्तर्गतका यी पंक्तिबाट गरिएको छ। वास्तवमा भानुभक्तलाई चिनाउने र नेपाली काव्य धरातलमा उनलाई आदिकवि भनेर उपाधि प्रदान गर्ने पहिलो व्यक्ति मोतीराम भट्ट नै हुन्। भनिन्छ, मोतीको चमक नपाएको भए भानु चम्किने थिएनन्। यसर्थ जीवनमा कहिल्यै भेट्ने अवसर नपाए पनि नेपाली साहित्य संसारमा यी दुवै महान् स्रष्टा अति निकट देखिन्छन्। त्यो जमानामा तनहुँका भानुभक्त र काठमाडौँका मोतीरामबीच सहज सम्पर्क हुनु सम्भव थिएन।
अर्को कुरा, भानुभक्तको मृत्यु हुँदा मोतीराम दुई/अढाई वर्षका मात्र थिए। नाट्य सम्राट बालकृष्ण समले ‘भक्त भानुभक्त’ नामक नाटकमा मोतीरामको पास्नीमा भानुभक्त त्यहाँ पुगेको कल्पनात्मक घटना प्रस्तुत गरेका छन्। यो प्रसंग नाटकलाई रोचक बनाउन कल्पना गरिएको हो, सत्य होइन। माथिका कविताका हरफले जीवनको सार्थकताबारे अति नै महत्वपूर्ण सन्देश दिन्छन्। जीवनको सार्थकता उद्यममा हुन्छ भन्ने सामान्य अर्थ बुझिए पनि यसको गहिरो भाव छ। त्यो भावमा रचनात्मकता, सिर्जनात्मकता, उत्पादनशीलता, उत्कृष्ट कार्य आदि पर्दछन्।
सिर्जनात्मक जीवनको गतिशील यात्रा छोटो होस् कि लामो त्यो इतिहासमा दर्ता हुन्छ। नेपाली साहित्यिक जगत्मा केही यस्ता स्रष्टा छन्, जसले थोरै बाँचेर पनि धेरै योगदान गरेका छन्। यस्ता स्रष्टाहरूमा छोटो आयु पाएका भए पनि प्रख्यातिको उच्च शिखरमा पुग्न सफल व्यक्तित्व हुन्, मोतीराम भट्ट। नेपाली साहित्यिक ब्योमका उज्ज्वल नक्षत्र युवाकवि मोतीराम भट्ट विभूतिका रूपमा पनि सम्मानित छन्। भट्टले नेपाली वाङ्मयका क्षेत्रमा गरेको योगदान सदा सर्वदा स्मरणीय छ। मूलतः प्राथमिककालीन नेपाली साहित्यको उत्तराद्र्धको भक्तिधारा परम्परापश्चात् साहित्यको क्षितिजमा यिनको उदय भएको थियो। त्यही भक्तिधारा परम्पराको प्राचीनतालाई भत्काई काव्यिक फाँटमा श्रृंगारिक भावधाराको प्रवर्तन गरेर नेपाली साहित्यको धरातलमा युगान्तकारी परिवर्तन ल्याउने काम मोतीरामले गरे।
नेपाली साहित्यको इतिहासमा जुन समय वा कालखण्डलाई माध्यमिक काल भनिन्छ, त्यसका प्रवर्तक मोतीराम नै हुन्। त्यसैले नेपाली साहित्यको माध्यमिक काललाई मोतीयुग, श्रृंगारिक युगजस्ता नामले पनि चिनिन्छ। वास्तवमा मोतीराम माध्यमिक कालका संस्थापक मात्र थिएनन्, उनी त त्यस युगका केन्द्रीय प्रतिभाका रूपमा समेत प्रतिष्ठित छन्। सिर्जनात्मक कार्यले गर्दा भट्ट नेपाली साहित्यिक धरातलमा अमर बनेका छन्। १९२३ भाद्र २३ गते कुसेऔंसीका दिन पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवीका पुत्रका रूपमा काठमाडौंको भोसीको टोलमा जन्मिए। उनै मोतीराम २०५३ भाद्र कुसेऔंसीकै दिन यस लोकबाट बिदा लिए।
जीवनको मात्र तीन दशकको भर्भराउँदो, खाऊँ खाऊँ, लाऊँ लाऊँ र केही गरेर देखाऊँ भन्ने उमेरमै उनको जीवनयात्रा टुंगिएको देखिन्छ। झन्डै तेह्र/चौध वर्ष जति नेपाली साहित्यका क्षेत्रमा सक्रियतापूर्वक साधनारत उनले दिएको देन अभूतपूर्व र अतुलनीय छ। वास्तवमा अत्यन्त अल्पावधिमा पनि यिनले नेपाली वाङ्मयको साहित्यिक भूमिलाई निकै हराभरा बनाएकाले बिर्सन सकिँदैन।
मोतीरामलाई शिक्षा दिने उद्देश्यले ६ वर्षकै बालवयमा बनारस पठाइयो। त्यहाँ यिनलाई फारसी स्कुलमा भर्ना गरियो। त्यस युगमा पनि ब्राह्मण कुलको सन्तानलाई कुनै संस्कृत विद्यालयमा भर्ना नगरी अध्ययनार्थ फारसी स्कुलमा भर्ना गरिएको प्रसंग रोचक छ।
मोतीराम भट्ट मूलतः नेपाली भाषाका परमभक्त थिए। यिनले गद्य र पद्य दुवै विधालाई समानान्तर रूपमा एक/एकवटा काँधमा बोकेर माध्यमिककालीन नेपाली साहित्यको आरम्भ गर्नुका साथै विकास र विस्तारमा सबल नेतृत्व प्रदान गरेका थिए। यिनलाई शिक्षा दिने उद्देश्यले ६ वर्षकै बालवयमा बनारस पठाइयो। त्यहाँ यिनलाई फारसी स्कुलमा भर्ना गरियो। त्यस युगमा पनि ब्राह्मण कुलको सन्तानलाई कुनै संस्कृत विद्यालयमा भर्ना नगरी अध्ययनार्थ फारसी स्कुलमा भर्ना गरिएको प्रसंग रोचक छ। यसरी फारसी स्कुलमा भर्ना भएर औपचारिक शिक्षा आरम्भ गरे।
यिनलाई नेपाली, हिन्दी, फारसी, उर्दू, संस्कृत, अङ्ग्रेजी, नेवारी लगायतका नौवटा भाषाको ज्ञान थियो भनिन्छ। यी बहुभाषा विज्ञ थिए। अध्ययनका क्रममा बनारसको बसाइमा हिन्दी भाषाका भक्त तथा सशक्त कवि भारतेन्दु हरिश्चन्दसँग सम्पर्कमा रहने र उनको संगत गर्ने सौभाग्य पनि मोतीरामलाई प्राप्त भयो। संगतले नै उनमा साहित्यको अध्ययन र सिर्जनाप्रति आकर्षण बढेको देखिन्छ। उनको हिन्दी भाषाप्रतिको मोह र यसको उन्नयनका लागि समर्पण भाव देखेर नै मोतीराममा पनि मातृभाषा नेपालीप्रति श्रद्धापूर्ण समर्पण र प्रेमभाव उजागर भएको पाइन्छ। यसका अतिरिक्त हरिश्चन्द्र हिन्दी र उर्दू गजलका एक सिद्धहस्त गजलकार भएकाले यिनको गजलप्रतिको आकर्षणमा उनीसँगको संगतले प्रमुख भूमिका खेलेको देखिन्छ।
नेपालीभाषी जगत्मा साहित्यिक दृष्टिले सिंगो भदौ महिनाभर मोतीराम भट्टको सम्झनामा विविध कार्यक्रम हुने गर्दछन्। नेपालका विभूति व्यक्तित्वका रूपमा प्रतिष्ठित मोतीरामलाई वाङ्मयका विभिन्न क्षेत्र र विधाका व्यक्तिले श्रद्धापूर्वक सम्झन्छन्। वास्तवमा बहुमुखी प्रतिभाका धनी मोतीराम नेपाली वाङ्मयका अद्भुत प्रतिभा मानिन्छन्। यिनको योगदानको क्षेत्र यति धेरै फराकिलो छ कि यिनी के हुन् भन्दा पनि के होइनन् भन्ने प्रश्न प्रमुख रूपमा उठाउन सकिन्छ। पहिलो कुरा त यिनी नेपाली भाषा साहित्यका युगप्रवर्तक मानिन्छन्। यिनले नै प्राथमिककालीन उत्तराद्र्धको भक्ति धारा परम्पराको अन्त्य गरेर श्रृंगारिक धाराको प्रवर्तन गरी नयाँ युगको आरम्भ गरे, जसलाई माध्यमिक काल भन्दछौं।
त्यस कालखण्डका केन्द्रीय कविका रूपमा यिनको पृथक् पहिचान छ। नेपाली भाषासाहित्यको खोज अनुसन्धान गर्ने पहिलो व्यक्ति पनि मोतीराम नै हुन्। भानुभक्त र उनका रचनाको यिनले नै खोजी गरे भन्ने कुरामा कसैको विमति रहँदैन। यसआधारमा यिनलाई पहिलो अनुसन्धाता मान्न सकिन्छ। भानुभक्तको जीवनी लेखेर यिनले नेपाली साहित्यमा पहिलो जीवनीकारको रूपमा पनि आफूलाई उभ्याए। जीवनी लेखनकै सन्दर्भमा भानुभक्तका काव्य र कविताहरूको पारख गर्दै यिनी पहिलो समालोचक वा समीक्षक पनि बन्न पुगेका छन्। मोती मण्डली नेपाली साहित्यकारहरूको पहिलो संगम वा सांगठनिक रूप हो, यसका संस्थापक पनि मोतीराम भट्ट नै हुन्। नेपाली भाषाको पत्रकारिताबारे खोजी गर्दा पहिलो पत्रकार/सम्पादकका रूपमा मोतीराम भट्टकै नाम आउँछ।
बनारसबाट प्रकाशित हुने भारत जीवन नामक पत्रिकामा नेपाली भाषाको पृष्ठ गोरखा भारत जीवनको सम्पादन गर्ने कार्य मोतीरामले गरे। नेपाली भाषाको वर्णविन्यासगत शुद्धताका लागि चिन्तन गर्ने प्रथम व्यक्तिसमेत उनै थिए भनिन्छ। यसरी नेपाली व्याकरणको पहिलो चिन्तक पनि यिनलाई नै मान्न सकिन्छ। नेपाली पद्य कवितामा समस्यापूर्तिको थालनी पनि यिनकै पहलमा भएको थियो। नेपाली साहित्यमा मौलिक नाटक लेखनको सुरुआत पनि यिनैले गरेका हुन्। यीबाहेक छापाखाना स्थापना गर्ने, पुस्तकालय सञ्चालन गर्नेजस्ता कार्यमा पनि यिनको पहल पहिलो देखिन्छ। यिनी नेपाली भाषाको कृति प्रकाशन गर्ने पहिलो व्यक्ति पनि हुन्।
मौलिक गद्य साहित्य लेखनका दृष्टिले पनि यिनको नाम अगाडि आउँछ। पुरस्कार पाउने पहिलो नेपाली साहित्यकार पनि उनै हुन्। बनारसमा एकपटक भारतेन्दु हरिश्चन्दले कविहरूको जमघटमा उनीहरूलाई एउटा पंक्ति दिए र त्यसलाई पूरा गर्न भने। पंक्ति यस्तो थियो-
ऐसा भी बेअक्ल कहीँ देखा है आपने
मोतीराम भट्टले तुरुन्तै यो पंक्ति लेखेर सुनाए
कपडा जला के अपना लगा आग तापने
यसरी तुरुन्तै यति सुन्दर र प्रभावकारी हरफ लेखेर पूरा गरी सुनाएपछि हरिश्चन्द ज्यादै प्रभावित भए अनि तारिफ गर्दै मोतीरामलाई तुरुन्तै १० रुपियाँको नोट पुरस्कार दिए। योे प्रसंग पनि निकै चर्चित छ। त्यो समयको भारतीय १० रुपियाँको मूल्य आजको सन्दर्भमा तुलना गरेर हेर्दा अवश्य पनि कम थिएन।
त्यसो त गद्य र पद्यका विविध विधामा युवाकवि भट्टको योगदान उत्तिकै उल्लेखनीय छ। तापनि यिनी नेपाली गजलका फाँटमा सर्वाधिक लोकप्रिय छन्। भट्ट नेपाली गजलका जनक मानिन्छन्। उनैले नेपाली काव्यिक जगत्मा गजललाई भित्याए। उनले आफूले मात्रै गजल लेखेनन्, मोतीमण्डलीमा आवद्ध सबै स्रष्टालाई गजल लेख्न सिकाए, उत्प्रेरित गरे। नेपाली गजलको पुनर्जागरणपश्चात् यिनले गजलमा गरेको योगदानको उच्च मूल्यांकन भइरहेको छ। यिनका यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्, जस्तो भक्तिरसको र दुई आँखीभौं त तयार छन् तरबार पो किन चाहियो, मलाई हिजोसम्म क्या क्या छकाये लगायतका केही श्रृंगारिक गजल निकै चर्चित छन्।
मोतीराम भट्ट छन्दका कुशल प्रयोक्ता त थिए नै, इस्लामिक अरुज शास्त्रका पनि अभिज्ञाता थिए। यसकारण यिनले आफ्ना सबै गजलमा शास्त्रीय बहरहरूको सटीक ढंगले प्रयोग गरे। यिनका गजलमा प्रमुखतः दस जति शास्त्रीय बहरको प्रयोग भएको पाइन्छ। बहरमा लेखिएका हुनाले यिनका सबैजसो गजल गेयगुणयुक्त छन्। यसर्थ नेपाली गजलका क्षेत्रमा यिनको नाम सर्वोच्च स्थानमा छ। अन्य विधामा पनि यिनको स्थान अग्रपंक्तिमा नै छ।
विभिन्न विधाका संस्थापकका रूपमा समेत यिनी प्रतिस्थापित छन्। भट्टका सन्तान छैनन्। जीवनको अन्तिम क्षणमा आमाले सन्तान नभएकोमा पिर मानेकी हुँदा यिनले आफ्ना सिर्जनाहरू नै सन्तान हुन् भनेर उनलाई सम्झाएका थिए रे। आफ्ना रचना पाठकलाई समर्पित गर्दै यिनले भनेका थिए— पर्छे यो कविता शरण सकलका पालन गरुन् प्रीतिले।
भट्ट मातृभाषाका भक्त र अन्य भाषाका समेत उपासक थिए। यिनी मातृभूमिभक्त पनि थिए। यिनको लेखनको मूल प्रवृत्ति श्रृंगारिक धारा भए पनि यिनले श्रृंगारेत्तर भावका कविता पनि लेखेका छन्। उदाहरणार्थ यिनको एउटा कवितामा प्रयुक्त देशभक्तिभाव अभिव्यञ्जित कविताका यी हरफ द्रष्टव्य छन्-
अटल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरमा।
रिपूको मन थर्कोस् थरथर गरी छीन घरिमा।।
प्रतिक्रिया दिनुहोस !