घरमा शौचालय नहुँदा किशोरी बलात्कृत
राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिकामा १७ वर्षीया किशोरी गएराति शौचालय जान घर बाहिर निस्किइन्। घरमा शौचालय नभएका कारण रातको ९ बजे निक्लिएका सुस्त मनस्थितीकी किशोरीलाई २१ वर्षीय एक युवकले च्याप्प समाते। उनको मुखमा गम्छाले बाँधेपछि दुई जना साथीलाई फोन गरेर बोलाए। मोटरसाइकलमा आएका उनीहरुसहित मिलेर किशोरीलाई खेतमा पुर्याएपछि सामूहिक बलात्कार गरे।
प्रतिवाद गर्दा किशोरीको हातमा चोटपटक लागेको चिकित्सकहरुले बताएका छन्। आफूलाई जवरजस्ती करणी गरेको भन्दै प्रारम्भिक बयान दिएकी किशोरीले आरोपितमध्ये २ जनालाई पहिचान गरेकी छिन्। उनलाई उपचारका लागि राजविराज लगिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।
उजुरी आएलगत्तै किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर रामराजा केशरीले बताए। बलात्कापछि युवाहरुले पीडित किशोरीलाई बिहान ३ बजे मोटरसाइकलमा घर नजिकै ल्याएर छाडेको उपचारका लागि सँगै राजविराज आएकी पीडितकी आमाले बताइन्। पक्राउ नपरेकाले आरोपितहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
कोभिड–१९ को संक्रमण रोकथामका लागि लकडाउन सुरु भएयता चैत महिनादेखि हालसम्म सप्तरीमा २१ वटा बलात्कारको घटना भएकामध्ये अधिकांशमा बालिका पीडित भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !