राजदूत पराजुली र ओमानका लगानी प्रवद्र्धन मन्त्रीबीच भेटवार्ता
काठमाडौं : ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धनमन्त्री काइस मोहम्मद अल युसुफसँग भेट गरेकी छन्।
भेटमा राजदूत ढकालले नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रबर्द्धन मन्त्रीलाई बधाई तथा शुभकामना दिएकी छन्।
राजदूत ढकालले व्यापार प्रवद्र्धनमन्त्रीसँग नेपालको वर्तमानस्थिर राजनीति, अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराएकी छन्। उनले नेपालमा वैदेशिक लगानीको उचित वातावरण भएको, जलविद्युत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन क्षेत्रमा लगानी गर्न ओमानलाई अनुरोध गरेकी छन्।
मन्त्री युसुफले नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले नेपालका कृषि क्षेत्रका उत्पादनलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइनेसमेत बताएका छन्।
भेटमा ओमानको प्रवर्द्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समीकोसमेत सहभागीता थियो।
प्रतिक्रिया दिनुहोस !