बाढीले घर डुबानमा : तटीय क्षेत्रमा त्रास
![बाढीले घर डुबानमा : तटीय क्षेत्रमा त्रास](https://annapurnapost.prixacdn.net/media/albums/Badhi-Duban_20200926131916_ngyOpl8DAp.jpg)
राजविराज : लगातारको वर्षाले सप्तरीका नदी, खोलामा पानीको बहाव बढेपछि तटीय बस्तीका घर डुबानमा परेर जोखिम बढेको छ।
सप्तकोशी नदी लगायत जिल्लाको खाँडो, महुली, बलान, खडक, त्रियुगा, जितालगायत नदी-खोलामा पानीको सतह बढेर बाढी आएपछि जोखिम बढेको हो। खाँडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी-कोइलाडी गाउँपालिका-१ को बेल्ही टोलमा ५० घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार बेल्हीमा ५० घर, सकरपुरामा ६५ घर र कोइलाडी र को. बर्साइनमा करिब एक सय घर डुबानमा परेको छ। सकरपुरामा लगातारको वर्षाको पानी निकास नभएर तथा कोइलाडी र को. बर्साइनमा महुली, जिता खोला र कोशी नदीको बाढीले डुबानमा परेको हो।
लगातारको वर्षापछि राजविराज बजारसमेत जलमग्न बनेको छ। वर्षाको पानीको निकास नहुँदा राजविराजको वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ का सयौ घरमा पानी पसेको छ। पाँच दिनदेखिको अविरल वर्षाले विभिन्न नदी, खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी, डाकनेश्वरी, सप्तकोशी, कञ्चनरूप नगरपालिका, बलान बिहुल, महादेवा, राजगढ, अग्निसाइर कृष्णासवरण, तिरहुत र रुपनी गाउँपालिका घरहरू डुबानमा परी क्षति हुने जोखिम बढेको छ।
बाढीले सयौं विघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ। अविरल वर्षाले राष्ट्रिय आयोजनाको हुलाकी सडक खण्डलगायत ग्रामीण भेगका सडक, बाटो अवरुद्ध भएको छ।
नदी, खोलामा आकस्मिक बाढी आई तटीय र होचा क्षेत्र डुबानमा परेपछि स्थानीय जनप्रतिनिधि निरीक्षण अनुगमनमा जुटेका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी एव्म प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले सम्भावित बाढीबाट हुन सक्ने क्षति रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)