जब माया मिल्यो...
राजविराज : सप्तरीको अग्निसाइर कृष्णसवरण–१ घोंघीदाहाका ४९ वर्षीय उमाकान्त चौधरी १२ वर्षसम्म गोठमा गाईबस्तुजस्तै बाँधिएका थिए। गाईबस्तुको दाम्लो चराउन लैजाँदा खोलिन्थ्यो। तर, मानसिक रोगबाट पीडित चौधरीलाई बाँधिएको साङ्लो खोलिएन। बेला–बेला खोलिदिऊँ झैं लागे पनि ‘अप्रिय घटना’ हुने डरले २०६३ सालदेखि उनलाई बाँधेर राख्नु परिवारको बाध्यता थियो।
तर, उनै चौधरी गाउँ छाडेको २० महिनापछि बुधबार साँझ फरक पहिरन र पहिचानका साथ झुल्किए। विगतमा वर्षौंसम्म छिछि दूरदूर गर्ने छिमेकीले उनलाई स्वागत गरे। स्थानीय वृद्धवृद्धाले ‘मलाई चिन्यौ’ भनेर सोध्दा उनी मुस्कुराए। तब नामै किटेरजवाफ फर्काए। साना नानीहरूको टाउकोमा हात राखेर मायाले सुम्सुम्याए। वृद्धवृद्धासामु झुके। ‘आफ्नो घर देखाऊ’ भन्दा उनले चारैतिर नियाले अनि सरासर घरमा प्रवेश गरे।
मानव सेवा आश्रमका अभियन्ताले दिएको माया र सम्मानले उनमा यस्तो सकारात्मक परिवर्तन आएको हो। ‘उमाकान्तमा आएको परिवर्तनको खास कारण नै माया र सम्मान हो’, आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले उमाकान्तलाई परिवारको जिम्मा लगाउँदै भने, ‘उमाकान्त औषधोपचारले शारीरिक रूपमा स्वस्थ्य भए। प्रेमले आशा र विश्वासलाई शक्ति प्रदान गर्दा मानसिक रूपले ठीक भए। मानिस भोकले मर्न धेरै समय लाग्छ। तर, माया र सम्मानबिना एकै क्षण पनि बाँच्न कठिन छ। ’
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले माया र सम्मान नपाउने व्यक्तिमा डिप्रेसन देखिनेबताए। ‘जीवनप्रति नैराश्य तथा एक्लोपन हुन्छ। बेलैमा सही व्यवस्थापन गर्न सकिएन भने मानसिक समस्या आउँछ। माया र सम्मान नपाउनेले नै आत्महत्यासमेत गर्ने गर्छन्’, डा. झाले उमाकान्तको परिवारसँग पुनर्मिलनका क्रममा भने।
यसरी भयो उद्धार
उमाकान्तसँग २०५४ सालमा विवाह गरेकी सुशीलाले मजदुरी गरेर तीन छोरी हुर्काइन्। उनले दैनिक मजदुरी नगरे चुल्हो बल्दैनथ्यो। पतिको उपचार गराउन आर्थिक समस्याका साथै कहाँ लैजाने, कसले लैजाने भन्ने समस्या थियो। चार कट्ठमा अधिया खेती र बाँकी समय मजदुरी गरिरहेकी उनलाई घरखर्च धान्नै हम्मे थियो। श्रीमान्को स्याहार गर्न कुरुवा बस्नुपरे नाबालक छोरीहरू हेरचाह गर्ने अरू कोही थिएनन्।
परिवारसँग उमाकान्तको समस्या कसरी समाधान गर्ने भन्ने कुनै उपाय थिएन। फलामको सिक्री मासुले नै पुरिएको थियो। श्रीमती सुशीलाले अनेक सास्ती बेहोर्दै उपचार गर्न अस्पताल नलगेकी होइनन्। तर, रोग निको नभएपछि उमाकान्तको १२ वर्ष बन्धनमै बित्यो। हातमा साङ्लो बाँधिए पनि उनका अगाडि जान श्रीमती र छोरीहरू डराउँथे।
गाउँको व्यक्ति १२ वर्षदेखि विक्षिप्त अवस्थामा साङ्लोमा बाँधिएको देखेर अनिल चौधरीलाई चिन्ता लागिरहन्थ्यो। उनले नै अन्नपूर्ण पोस्ट्संवाददातालाई खबर गरे। त्यसबारे दुई वर्षअघि (२०७५ मंसिर १९) अन्नपूर्ण पोस्ट्मा ‘१२ वर्षदेखि साङ्लोमा’ शीर्षक समाचार छापिएको थियो। त्यसपछि आश्रमका सचिव सुमन बर्तौलाको टोली घरमै लिन पुगेको थियो।
बर्तौलाका अनुसार आश्रममा पुगेपछि हेटौंडा अस्पतालमा लगेर हातको जटिल शल्यक्रिया गरी साङ्लो निकालियो। घाउ निको हुन लामो समय लाग्यो। उमाकान्तमा रहेको हिंसात्मक प्रवृत्तिले तीन महिना हेटौंडा आश्रम तनावग्रस्त बन्यो। माया, प्रेमले बिस्तारै सकारात्मक परिवर्तन देखिन थाल्यो। कुरा गर्न थाले। नुहाउन थाले। करेसाबारीमा जान थाले। धेरै समयपछि उनले श्रीमती र छोरीहरूको सम्झना गरे। गाउँलेलाई सम्झिाए। त्यसपछि आश्रमले घरमा पुनर्मिलन गराएको हो।
आश्रमका सल्लाहकार नारायण ढुंगानाले आत्मीयता बढेर घर फर्काउन मन नमानेको सुनाए। तर उमाकान्तले घरपरिवार र गाउँलाई पटक–पटक स्मरण गरेपछि घरमा पुनर्मिलन गराउने निर्णयमा पुगेको उनको भनाइ छ।
आश्रमकी भौतिक प्रवद्र्धन सल्लाहकार शृंखला खतिवडाले हेलाँमा परेकालाई माया दिनु आश्रमको लक्ष्य रहेको बताइन्। कतिपयलाई दीर्घकालीन औषधि सेवनको खाँचो हुने भए पनि माया र सम्मानबिनाको औषधिले पनि काम नगर्ने उनले सुनाइन्। पुनर्मिलन कार्यक्रममा पुगेकी प्रदेशसभा सदस्य रुवी कर्णले सरकारले गर्नुपर्ने कामको जिम्मेवारी काँधमा उठाएको भन्दै आश्रम परिवारको प्रशंसा गरिन्। संघीय सरकारले सहयोग गरिरहेको बताएकी कर्णले प्रदेश २ को आश्रमको सबलीकरणका लागि प्रदेश सभामा माग गर्ने प्रतिबद्धता जनाइन्।
प्रतिक्रिया दिनुहोस !