लुम्बिनीका नेताको रहस्यमय मौनता : पदसँग राजधानी साटेर 'माटोमाथि बेइमानी'

लुम्बिनीका नेताको रहस्यमय मौनता : पदसँग राजधानी साटेर 'माटोमाथि बेइमानी'

बुटवल : तत्कालीन लुम्बिनी अञ्चलका पहाडी जिल्ला टुक्र्याएर गण्डकी प्रदेशमा मिसाउने र पश्चिम तराईलाई एउटा प्रदेश बनाउने गरी संविधान संसोधनको प्रस्ताव विरुद्ध बुटवलमा ठूलो आन्दोलन भयो। शेरबहादुर देउवा सरकारको नेतृत्वमा संविधान संसोधनको प्रयास भयो। आन्दोलनकै कारण त्यसले मूर्त रुप पाएन। त्यो आन्दोलनको केन्द्र थियो, बुटवल।

संविधान संसोधनको विरोधमा बुटवलमा‘अखण्ड प्रदेश’नामको आन्दोलन सुरु भयो। यो आन्दोलन गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, प्युठानदेखि तराईका जिल्लासम्म फैलियो। बुटवलमा मानवसागर नै उर्लियो। त्यही मानवसागरको बीचमा भाषण गर्दै अखण्ड प्रदेश र रुपन्देहीलाई प्रदेश राजधानी बनाउने घोषणा गर्नेहरू थिए, विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, चन्द्र भण्डारी, सोम पाण्डे लगायतका नेताहरु। कांग्रेसका नेताहरु आफ्नै सरकारको विरुद्धमा सडकमा उत्रिएका थिए।

बुटवलमा ०७३ मंसिरमा उर्लिएको त्यो मानवसागर अनि सबै नेताका चर्का भाषण यतिबेला बुटवलबासीले सम्झिएका छन्। पाँच नम्बर प्रदेशको राजधानी बुटबलबाट दाङको भालुवाङ लैजाने विवादास्पद प्रस्तावको स्थानीय रुपमा चर्को विरोध भइरहँदा यो क्षेत्रका नेताहरु पनि चुप लागेर बसेका छन्। उनीहरूले अहिलेसम्म मुख खोलेका छैनन्। हिजो बुटवललाई राजधानी बनाउन कसैले रोक्‍न नसक्ने भनेर कुर्लिने नेताको मौनता रहस्यमय देखिएको छ। 

प्रदेश सरकारले प्रदेशसभामा नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोक्ने गरी प्रस्ताव पेश गरेको छ। प्रस्ताव पेश भएसँगै कांग्रेस आन्दोलनमा उत्रिएको छ भने नेकपाभित्र पनि यसको विरोध भएको छ।

निर्वाचनको घोषणा पत्रमै राजधानीको एजेण्डा राखेका नेकपा महासचिव विष्णु पौडेलेसहितका नेताको अभिव्यक्तिको पर्खाईमा लुम्बिनीबासी छन्। सरकारमै रहेका कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका नेता टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, छविलाल विश्वकर्मा समेत राजधानीको विषयमा चुइक्क बोलेका छैनन्। प्रस्ताव पेश भएको चार दिनसम्म पनि नेताले आवाज नदिएपछि ‘पदसँग राजधानी साटेर माटोमाथि बेइमानी गरेको आरोप नागरिक प्रतिनिधिले लगाएका छन्। 

पूर्वाधार तथा पहुँच सबै हिसाबले बुटवल राजधानीको रुपमा स्थापित भइसकेको अवस्थामा केही पात्रको राजनीतिक र व्यापारिक स्वार्थका लागि जबरजस्ती राजधानी सार्ने डिजाइन रचिएको आरोप उनीहरूले लगाएका छन्।अर्थमन्त्री हुने चर्चा चलिरहेका महासचिव पौडेलमाथिको नागरिक आलोचना र प्रहारको केन्द्रमा छन्।

बुटवलमा आइतबार भएको विरोधसभामा बोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले  भने,‘हामी महासचिव (विष्णु पौडेल)सँग विश्वस्त छौं, उहाँ रुपन्देहीलाई नै राजधानी बनाउने पक्षमा हुनुहुन्छ, अर्थमन्त्रीका लागि राजधानी साटे भन्ने आरोप हामीले पत्याउदैनौं’, खरेलले थपे,‘तर तपाईहरुले जनतासंग बाचा गरेको भुलेर गलत निर्णय लिए त्यसको परिणाम जनताले दिनेछन्।’

राजधानी सार्न पाइदैन भन्ने अडानमा लुम्बिनी क्षेत्रका नेकपाका नेता छैनन्। प्रदेशका सांसदले ‘माथिका नेताको आदेश’ भन्दै पन्छिएका छन्। तर मतदाता भने त्यो मान्ने पक्षमा छैनन्। उनीहरुले निर्वाचनताका सार्वजनिक घोषणापत्र र चुनावी भाषण सामाजिक सञ्जालमा राखेर नेतालाई सम्झाइरहेका छन्।

बुटवलमा भौतिक पूर्वाधार करिब तयार रहेको, बहुसंख्यक जनसंख्याका पहुँच, विमानस्थल, ऐतिहासिक र पुरातात्विकस्थल भएकाले राजधानी अन्यत्र सार्न नहुने तर्क छ। प्रदेशको करिब ४४ लाख जनसंख्यामध्ये २९ लाख हाराहारीमा लुम्बिनी क्षेत्रको छ। प्युठान, रोल्पाली समेत भालुवाङ प्रस्ताव नआउदासम्म घोराहीभन्दा बुटवल नै ठीक भन्ने मनस्थितिमा थिए।

कोरोना महामारीका कारण मुलुक आर्थिक संकटमा परिरहेका बेला राजधानीका लागि अर्बौ रकम खर्च गर्नु उपयुक्त नहुने तर्क धेरैको छ। देउखुरी उत्पत्यकामा राप्ती किनारको पर्खाल समेत उठाउदै प्रदेश संरचना बनाउदा अर्बौ व्यवभार थपिनेछ। सरकारले अस्थायी मुकाम बुटवलमै समेत करिब एक अर्ब पूर्वाधार निर्माणमा सकेको छ। विश्लेषक युवराज कँडेल भालुवाङमा राजधानी तोकिनु अदूदर्शिता भएको बताउछन्। ‘भालुवाङ सामरिक र पर्यावरणीय रुपमा उपर्युक्त स्थान होइन', उनको तर्क छ।

लुम्बिनी क्षेत्रबासीले संकटका बेला राजधानीको किचलो निकालेर जनता लडाउने काम गरेकोमा मुख्यमन्त्री शंकर पोखरेलसँग रुष्ट छन्। बुटवलबाट राजधानी सार्नका लागि पोखरेल निरन्तर लबिङमा थिए। उनले केही दिनअघि दुवै अध्यक्षलाई पत्रसमेत लेखेका थिए। नेकपाभित्रको आन्तरिक राजनीतिक लडाईको सिकार बुटवल भएको अनुभव यहाँका स्थानीयले गरेका छन्। 

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले राजधानीको विषयमा स्पष्ट धारणा दिन नेतालाई आग्रह गर्छन। ‘कोरोना महामारीमा चौपट भएको व्यवसाय थन्काएर आन्दोलनमा आउनु रहर होइन', उनले भने,‘राजधानीका विषयमा नेताले स्पष्ट धारणा दिनुपर्छ। प्रदेशका माननीय सडकमा आउनुपर्छ।’सात प्रदेशमध्ये चार वटाका मुकाम पहिले तोकिएकै स्थानमा भएकाले प्रदेश ५ को मात्रै सार्नु उपयुक्त नहुने स्थानीय तर्क छ। आर्थिक व्यायभारका हिसाबले पनि राजधानी सारिराख्‍नु नोक्सानी मात्रै हो।

नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरीले कम खर्च लाग्ने र पूर्वाधार तयार भएकै स्थान बुटवलमै राजधानी रहनुको विकल्प नहुने तर्क गर्छन्। ‘राजधानीका लागि सुगमता, पूर्वाधारयुक्त, सुरक्षाका दृष्टिले समेत उपर्युक्त स्थान चाहिन्छ। यो कहिले कता, कहिले कता गरिरहने प्रशासनिक संरचना होइन, खर्च बढी हुन्छ। त्यसलाई नियन्त्रण गर्नुपर्छ', उनले भने।

कांग्रेसका नेता बालकृष्ण खाँणले बुटवलबाट राजधानी सार्ने निर्णय सच्याउन मुख्यमन्त्रीलाई आग्रह गरेका छन्। अहिले कांग्रेस मात्रै सडकमा विरोधमा छ। संघसंस्थाका तर्फबाट भने नेकपाका कार्यकर्ता विरोधमा उत्रिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.