भेटिन थाले ‘दुर्लभ पन्छी’

भेटिन थाले ‘दुर्लभ पन्छी’

काठमाडौं : काठमाडौं उपत्यकामा वर्षौं नदेखिएको झिली नामको जलपन्छी यो साता भक्तपुरको मनोहरा खोलामा देखियो। उपत्यकामै आँसीठुडे पन्छी चार दशकपछि गत ९ गते सोही खोला किनारमा विचरण गर्दै गरेको पाइयो। 

मण्डारिनहाँस डेढ दशकपछि गत पुसमा सुनसरीको बर्जु ताल, नारायणी नदी र तनहुँको मस्र्याङ्दी जलविद्युत्को ड्यामसाइटमा भेटियो। कालो टाउँके हाँस पनि वर्षौंपछि हिउँदयामकै बेला जगदीशपुर तालमा देखियो। काठमाडौं उपत्यका र नेपालमा प्रायः देखिन छोडेका यस्ता जलपन्छी कोरोना कहरै बीचमा संरक्षणकर्मीले भेटेका छन्। 

कोरोना संक्रमणले विश्व नै आक्रान्त भइरहेका बेला चितवन, कोसी, दैलेखलगायतका ठाउँमा करिब दुई दर्जन लोपोन्मुख र दुर्लभ पन्छीका प्रजाति देखिएका/भेटिएका छन्। 

झिली चरा चीनलगायत उत्तरी ध्रुवको रैथाने भन्ने बुझाइ रहेकोमा यसपटक मनोहरामा बच्चासमेत कोरलेको पाइएपछि अनुसन्धानको पाटो फराकिलो भएको पन्छीविद् डा. हेमसागर बराल बताउँछन्। उनी भन्छन्, ‘राष्ट्रियस्तरमा दुर्लभ र अतिसंकटापन्न सूचीमा रहेका यस्ता पन्छी देखिनु निकै खुसीको कुरा हो, यसले पन्छीको बसाइसराइ, अन्य आनीबानी, विश्वव्यापी तापमान र वातावरणमा आइरहेको परिवर्तनबारेमा पनि बुझ्न मद्दत गर्छ।’ 

यसअघि प्रायः नेपालमा नदेखिने मण्डारिन हाँसलगायतका जलपन्छी फिरन्ते सूचीमा  रहेकोमा अब नियमित हिउँदे आगन्तुक बन्ने संकेत देखिएको बरालले बताए। 
नेपालमा ८ सय ८८ प्रजातिका पन्छी अभिलेख भएको छ। तीमध्ये करिब ६ सय रैथाने प्रजाति रैथाने सूचीमा सूचीकृत छन्। हिउँदयामको सुरुआतसँगै करिब डेढ सय प्रजाति चीन, मंगोलिया, रुसको साइबेरिया र आसपासका भेगबाट जाडो छल्न नेपाल आउने गर्छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार करिब ६५ प्रजाति विचरणका क्रममा गर्मीयाममा आउँछन्। 

नेपालमा अभिलेख भएकामध्ये २९ प्रजाति बटुवा र ७४ प्रजाति फिरन्ते सूचीमा छन्। बसाइसराइको क्रममा नेपालको बाटो हुँदै अन्यत्र जाने प्रजाति बटुवा र बाटो बिराएर फाट्टफुट्ट मात्रै देखिनेलाई फिरन्ते प्रजातिका रूपमा बुझ्ने गरिएको छ। पन्छीविद्हरूका अनुसार करिब ५० प्रजाति नेपाललाई ‘ट्रान्जिट’ बनाएर अन्यत्र विचरणका लागि जान्छन्। 

त्यसैगरी करिब ७४ प्रजाति आक्कलझुक्कल देखिने फिरन्ते सूचीमा छन्। बटुवा पन्छी नेपालका नदी, सिमसार र जलाधार क्षेत्रमा बढीमा एक हप्ता हाराहारी आराम गर्ने र आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन्। यस्तो स्वभाव भएका जलपन्छीका प्रजातिलाई बटुवा प्रजातिका रूपमा बुझ्ने गरिएको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)का संरक्षण अधिकृत कृष्ण भुसाल बताउँछन्। 

यस वर्ष हिउँदे आगन्तुकका केही प्रजाति विगतका वर्षभन्दा केही छिटो आउन थालिसकेका छन्। श्वेताखीभौं, मालकहाँस, विजुलागैरी लगायतका हाँसका प्रजातीसँगै बगाले बगेडी नेपाल आउने क्रम सुरु भइसकेको छ। श्वेताखीभौं दुई साता अघि नै कैलालीको घोडाघोडी ताल र काठमाडौंको बागमतीमा देखिएको भुसालले बताए। उनका अनुसार मालकहाँस गत साता काठमाडौंमा र विजुलागैरी नवलपरासीको कावासोतीमा देखिएको छ। 

आज अंग्रेजी महिना अक्टोवरको दोस्रो शनिबार। यो दिनलाई पन्छीको विश्व बसाइँसराइ दिवसका रूपमा मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे महिनाको दोस्रो र अक्टोबर महिनाको दोस्रो शनिबार यस्तो दिवस मनाइन्छ। यो वर्षको दिवस ‘पन्छीले जोड्छन् हाम्रो संसार’ नाराका साथ मनाइँदैछ। 

सन् २००६ देखि अफ्रिका, युरोप र एसियाका केही मुलुकमा मे महिनामा मनाउने गरिएको यो दिवस सन् २००१८ देखि वर्षमा दुई पटक मनाउन थालिएको हो। दिवसका अवसरमा पन्छी अवलोकनसँगै लोपोन्मुख र दुर्लभ पन्छीको महत्व, पन्छीले पारिस्थितिक प्रणालीमा पुर्‍याउने महत्व लगायतका बारेमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिन्छ। नेपालमा बीसीएन, पोखरा बर्ड सोसाइटी, हिमालयन नेचर, वर्ड एडुकेसन सोसाइटी, कोसी बर्ड सोसाइटीजस्ता संघसंस्थाले यस्तो कार्यक्रम गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.