कोरोना संक्रमण भएपछि गाउँपालिका र अस्पतालको सेवा बन्द
पाल्पा : पदाधिकारी तथा कर्मचारीहरुका कोरोना पुष्टि भएपछि पालिका र अस्पतालको सेवा बन्द भएको छ। पाल्पाको निस्दी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लेखा अधिकृतसहित केही कर्मचारी तथा सर्वसाधारणमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गरिएको छ। जनप्रतिनिधी, कर्मचारी तथा सर्वसाधारण गरी ५० जनाको स्वाब परिक्षण गरिएकोमा अधिकांश कर्मचारी केही सर्वसाधारण गरी १० जनामा कोरोना सक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय सिल गरिएको हो।
गाउँपालिकाले कोरोना संक्रमण फैलन नदिन असोज २४ गते कार्तिक १ गतेसम्म पालिकाको कार्यालय सिल गर्दै स्वास्थ्य सेवा बाहेकको सम्पुर्ण कामकाज बन्द गरी कार्यालय सिल गरेको हो। पालिकाले कार्तिक १ गतेसम्म वडा कार्यालय, शैक्षिक संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, गैरसरकारी संघसंस्थाहरु, होटल तथा अन्य व्यवसायहरु र नीजि तथा सार्वजनिक सवारी साधनहरु पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।
रामपुर अस्पताल, रामपुर नगरपालिका स्वास्थ्य चौकीका अधिकांश स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि अस्पताल तथा स्वास्थ्य चौकीमा अत्यावश्यक इमरजेन्सी सेवा बाहेकका सम्पर्ण सेवाहरु बन्द गरेको छ। अस्पताल सहित स्वास्थ्य चौकीका २७ जनामा कोरोना सक्रमण पुष्टि भएपछी सेवा बन्द भएको हो।
कोरोना पुष्टी हुनेहरूमा चिकित्सक, नर्स तथा स्वाब संकलन गर्ने कर्मचारी, रामपुर नगरपालिकाका कर्मचारी, मालपोत कार्यालयका कर्मचारीलगायत सर्वसाधारण समेत रहेका छन्। रामपुर अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ देखिएको रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर विजय परियारले बताए।
रामपुर अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मी कर्मचारी मध्ये २७ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। ४४ स्वाब संकलन गरिएको मध्ये ३४ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने बाँकी १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु हेम आइसोलेसनमा रहेको रामपुर नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !