धरानमा कोरोनाले थप तीन जनाको मृत्यु
धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान र धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।
दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो। उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ। उनको आज बिहान ३:५० मा मृत्यु भएको थियो। तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६:४० बजे मृत्यु भएको थियो। उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ।
तीनै जनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए। -रासस
प्रतिक्रिया दिनुहोस !