शिक्षा, सिर्जनशीलता र सम्भाव्यता
सत्रौं शताब्दीमा सर आइज्याक न्युटनले गुरुत्वाकर्षण सिद्धान्त प्रतिपादन गरेका थिए । यसको आधार कुनै भव्य कक्षाकोठा होइन खुला चौर थियो । उक्त सिद्धान्त विज्ञानमा एउटा ठूलो छलाङ लगाउन निकै मद्दतकारी सिद्ध भयो । गुरुत्वाकर्षण उनले निर्माण गरेका होइनन्, त्यो पहिलेदेखि नै थियो । यसलाई उनले महसुस गरे, बुझे र संसारलाई बुझाए । त्यस्तै संसारका उत्कृष्ट साहित्य र कला जसमा सर्जकको सिर्जनशील सोच रहेको हुन्छ तिनले त्यस्तो सोच्न सक्ने आधार यही समाजबाट भेटेका हुन्छन् । कलाकार र साहित्यकारले आफ्ना उत्कृष्ट सिर्जनामार्फत समाजलाई सही दिशाबोध गराउनुका साथै मानव सभ्यतामा थप इँटा थप्ने कार्य गर्छन् । यस्ता अनेक उत्कृष्ट उदाहरण छन् जसको ज्ञानको प्रमुख स्रोत भनेको आफ्नो वरिपरिको वातावरणको सूक्ष्म अवलोकन, निरीक्षण र विश्लेषण रहेको हुन्छ । त्यसैले विद्वान्हरूले भन्ने गर्छन कि ज्ञान कसैको मस्तिष्कभित्र, पुस्तकभित्र वा कुनै चमत्कारका रूपमा जन्मिँदैन; त्यो हाम्रैवरिपरि रहेको हुन्छ । यसलाई महसुस गर्दै खोज्न सक्नुपर्छ ।
शिक्षामा सिर्जनशीलता थप्न पाठ्यपुस्तकबाहिर पनि क्रियाकलाप जोड्दै समुदायसँग सहकार्य गरी शिक्षामा अनेक सम्भाव्यता जोड्नु आवश्यक छ।
के हामीले बुझेको र बुझाउन खोजेको ज्ञान पनि त्यही नै हो ? अहिलेको महामारीका कारण लगभग सात महिनादेखि औपचारिक शिक्षाका केन्द्रहरू बन्द छन । विशेष गरी सामुदायिक शिक्षामा पढ्ने बालबालिकाका अभिभावक अत्यधिक चिन्तित देखिन्छन किनकि अहिलेको परिवेशमा शिक्षाका लागि अपनाइएको विकल्प अपनाउन तिनका आफ्नै सीमितता र कठिनाइ छन् । त्यो शिक्षा वा भनाैँ ज्ञान त्यो कक्षाको विषयगत पाठ्यपुस्तकभित्र मात्रै कैद छ ? अथवा ती बालबालिकाले गर्ने विषयगत गृहकार्यले मात्रै ज्ञानको प्रस्फुटन गराउन सक्छ ?
ग्रामीण भेगमा रहेका विद्यालय शिक्षक अहिलेको प्रविधिमैत्री बन्न संघर्षरत देखिन्छन् तर एकछिन सोचौं त तिनका ज्ञान के त्यो प्रविधिले मात्रै मापन गर्न सकिन्छ ? उक्त ज्ञानको प्रसारण गर्न प्रविधिले मात्रै सम्भव छ ? तिनले प्रत्यक्ष दैनिक गर्ने कार्य कुशलता, सीपयुक्त खेतीपाती, विभिन्न सामुदायिक कार्य कौशलता ती सबै ज्ञान होइनन् ? कक्षाका विषयगत पुस्तकहरू कण्ठ पारी लिखित नतिजामा उत्कृष्टता हासिल गर्नुले ज्ञानको मापन गर्दै निश्चितता प्रदान गर्न सक्छ ? हाम्रो सोचको सीमितताका कारण कतै हाम्रा बालबालिका सुनौलो अवसरबाट वञ्चित त हुँदै छैनन् ? हाम्रा स्कुले नानीहरू पुस्तकमा पढ्ने ती ज्ञानका कुरा व्यावहारिक रूपमा अनुभूति गर्ने अवस्थालाई सदुपयोग गर्न सक्ने वातावरण निर्माण किन हुन् सकेन ?
धान कसरी रोप्ने, गोड्ने, गाई भैंसीको दूध कसरी निकाल्ने, कसरी दही र मोही बनाउने र खाना कसरी पकाउने, भाँडा कसरी माझ्ने, लुगा कसरी धुने यी सबै ज्ञान होइनन् ? यही विषयवस्तु विकसित मुलुकका बालबालिकाले प्रत्यक्ष अनुभूति गर्न सक्ने अवस्था नरहे पनि हाम्रो सन्दर्भमा त सम्भव थियो र छ पनि । तर हामी कता अल्झियौ ? ती ज्ञान जो जीवन जिउने कला सिकाउँछ, त्यसको आवश्यकता सकिएको हो ? प्रभावकारी रूपमा कुरा कसरी गर्ने, मेहनत गर्नुको अर्थ के हो, अरूलाई सहयोग गरिँदा कस्तो अनुभूति हुन्छ, आफ्नो वरिपरिको सामाजिक संरचना कस्ता छन्, के कस्ता सामाजिक संस्था छन्, कस्ता बोटबिरुवा र वनस्पति हाम्रोवरिपरि छन्, तिनको के उपयोग छ आदि । यी र यस्ता अनेक पक्षलाई पुस्तकका अक्षरहरूले अनुभूति गराउन सक्दैन । त्यति मात्रै होइन सधंै जाँचका लागि मात्रै घोक्ने अभ्यास रहेको हाम्रो अवस्थामा बालबालिकाले पुस्तक पढ्दा आउने आनन्दको अनुभूति गर्न नसक्दा पढाइप्रतिको वितृष्णा बढेको देखिन्छ । त्यसैगरी तिनले पढ्ने पाठ्यक्रमले विद्यार्थीलाई सिर्जनशीलता, मनोविश्लेषणात्मक क्षमता, सूक्ष्म विश्लेषण गर्दै आफ्नो बुझाइको परिधि बढाउने तर्कयुक्त क्षमतामा ह्रास ल्याउँदै छ । यसका कारण कतिपय उच्च डिग्रीधारक बने पनि परिवार, समाज र राज्यको रूपान्तरणमा खासै योगदान गर्न सकेका हँुदैनन् । आफ्नो व्यक्तिगत जीवनसमेत सहज र व्यवस्थित पार्न सकेका हँुदैनन् । आर्जित ज्ञान र आफ्नो दैनिकी जोड्न नसक्दा अनेक समस्यामा अल्झिन बाध्य भएका देखिन्छन् ।
एकछिन सोचांै त, हामीसँग जुन ज्ञान छ त्यसलाई प्रविधिसँग जोड्दै संसारमा बाँड्न सकिन्थ्यो कि ? जस्तो कि एउटा शिक्षकले गाई दुहेको र विद्यार्थीले नजिकबाट अवलोकन गरेको वा सहभागी भएको भिडियो । त्यस्तै अस्ति भर्खर धान रोपाइँ सकियो । त्यसमा सहभागी हुनुका साथै विभिन्न सामुदायिक कार्यमा शिक्षक–विद्यार्थी सँगै सहभागी भएका भिडियो बनाउँदै प्रविधिको माध्यमले संसारभरि फिँजाउन सक्दा त्यो ज्ञान हँुदैनथ्यो र ? त्यही कुरा अरूले बनाएको हामी हाम्रा विद्यार्थीलाई पस्किँदै गर्व गर्ने तर आफैँ निर्माण गर्न किन हिच्किचाउने ? अहिले पनि नेपालका त्यस्ता विभिन्न ठाउँ छन् जहाँ कोरोनाको खासै प्रभाव परेको छैन । त्यस्ता ठाउँको विशेषतालाई संसारभरि पस्किन सकिँदैनथ्यो र ?
बास्तवमा के कारण छ जसले गर्दा शिक्षामा सिर्जनशीलता समाहित गर्न निरुत्साहित बनाउँछ ? हाम्रो शिक्षा हाम्रो आवश्यकताअनुरूपको सीपयुक्त हुनुपर्ने होइन ? यस्तो नहुनुको पछाडि मुख्य कारण त उच्च नेतृत्व तहलाई नै जान्छ किनकि तिनका निर्णयहरूमा सिर्जनशीलता पटक्कै भेटिन्न । तर विद्यालयका प्रधानाध्यापक जो मुख्य नायक हुन्छन्, जसको नेतृत्व क्षमताले विद्यालयको गुणात्मक शिक्षालाई प्रभावित पार्छ, आफ्ना सहकर्मीलाई सिर्जनशील बन्न प्रोत्साहित गर्छ; तिनले कार्य गर्न सक्ने वातावरण पनि कम जिम्मेवार हुँदैन । त्यस्तै अभिभावक वर्ग जो शिक्षाको नाममा ब्रान्ड खोज्दै हिँड्छन्, तिनलाई यसमा दोषी मान्ने कि नमान्ने ?
राज्यले आफ्नो अकर्मण्यताका कारण बालबालिका तहदेखि नै दुई थरीका नागरिक उत्पादन गर्दै आएको परिप्रेक्ष्यमा शिक्षा शैली र शुल्कको विषयलाई लिएर अभिभावक र विद्यालयबीच अहिले जुन किसिमको असन्तुष्टि छ, जसका कारण तिनका सम्बन्ध नमीठो बनाएको छ । यसको असर ती बालमस्तिष्कमा के पर्दै होला ? जब सम्बन्ध बिग्रिन्छ, स्वाभाविक रूपले सम्बन्धित पक्षका बारेमा नकारात्मकता उजागर हुन्छ । यस्तोमा घरमै रहेका ती बालबालिका जो भोलि स्थिति सामान्य भए पुनः विद्यालय पुग्लान् तर तिनका शिक्षक र विद्यालयप्रतिको सम्मान विगतमा झैं रहिरहला ? भनिन्छ, सम्मानविहीन नेतृत्वले रूपान्तरणमा सकारात्मक भूमिका खेल्न सक्दैन । त्यसो भए ती शिक्षक र विद्यालयले कस्तो भूमिका खेल्ला एक क्षमतावान् नागरिक निर्माणमा ? बालबालिका परिवारको मात्रै होइन राज्यको समेत भविष्य हो, जसमा राज्यले सही र उचित लगानी गर्न सक्यो भने मात्रै समृद्ध नेपालको कल्पना गर्न सकिन्छ । यस्तोमा राज्यको भूमिका सन्तोषजनक छ ?
अहिलेको विषम परिस्थितिमा शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्दै विभिन्न अनलाइन सभा, गोष्ठीमार्फत विज्ञहरूको विचार प्रस्तुत गरिन्छ । विभिन्न मिडियामा समेत यस्ता प्रस्तुति प्रशस्तै प्रस्तुत गरिएको भेटिन्छ । तर दुर्भाग्य ! एउटा विद्यालयको सामान्य शिक्षक जो हरपल विद्यार्थीसँग रहेका हुन्छन्, तिनलाई बुझेका हुन्छन्, तिनको सबल र दुर्वल पक्षका जानकार हुन्छन्, ती शिक्षकको दृष्टिकोण कतै समावेश गरिएको पाइँदैन । जब कि निर्मित नीति निर्देशन लागू गर्नेमा अग्रपंक्तिमा फेरि तिनै शिक्षक रहनुपर्छ जसको सहयोगबिना कुनै पनि कार्यक्रमलाई परिणाममुखी बनाउन सम्भव छैन । यस्तोमा कस्तो परिणामको अपेक्षा गर्न सकिएला ?
शिक्षामा सिर्जनशीलता थप्न पाठ्यपुस्तकबाहिर पनि क्रियाकलाप जोड्दै समुदायसँग सहकार्य गरी शिक्षामा अनेक सम्भाव्यता जोड्नु आजको अपरिहार्य आवश्यकता हो ।