संक्रमितको पुनः परीक्षणको माग
दोलखा : दोलखाका कोरोना संक्रमितले १० दिन आइसोलेसनमा बसेपछि लक्षण नदेखिए स्वतः स्वस्थ भएको घोषणा गर्ने चेतावनी दिएका छन्। संघीय सरकारले आइसोलेसनमा बसेको १० दिनपछि लक्षण नदेखिए पुनः परीक्षणका लागि स्वाब संकलन नगर्न परिपत्र गरेपछि दोलखाका संक्रमितले स्वतः स्वस्थ भएको घोषणा गर्ने चेतावनी दिएका हुन्।
लक्षण नदेखिएर आइसोलेसनमा बसेकाको दोस्रो पटकको परीक्षणका लागि स्वाब पठाइएकोमा कसैको पनि रिपोर्ट नआएपछि संक्रमितले यस्तो चेतावनी दिएका हुन्। दोलखाबाट धुलिखेलस्थित प्रदेश प्रयोगशालामा पठाइएको स्वाब प्रयोगशालाले अनावश्यक भनी परीक्षण गरेको छैन।
लक्षण नदेखिएका संक्रमितको पुनः परीक्षण नगर्नू भन्ने पत्र आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए। पत्रमा ‘१४ दिन आइसोलेसनमा बसेका संक्रमितमा लक्षण नदेखिए संक्रमणमुक्त भएको भन्ने बुझिने’ उल्लेख रहेको प्रमुख झाले बताए। तर, शंका लागेमा संक्रमितकै खर्चमा पुनः परीक्षण गर्न सकिने उनको जिकिर छ।