युवा समूहबीच कुटाकुट, भीरबाट खसालेका घाइतेको उद्दार,अवस्था गम्भीर
बेनी : म्याग्दीको रघुगंगा–६ कोटगाउँमा युवा समूहबीच कुटाकुट हुँदा एकजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका कोटगाउँका ३५ वर्षीय डम्मर पुनलाई आइतबार प्रभु एयरको हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको हो ।
म्याग्दीका प्रहरी नायव उपरीक्षक किरनजंङ्ग कुँवरका अनुसार शनिबार राती युवाहरुको दुई समूहबीच कुटाकुट हुँदा घाइते भएका पुनको अवस्था गम्भीर छ । स्थानीयले आइतबार बिहान भीरमा अड्किएको अवस्थामा पुनलाई उद्दार गरेर बेनी अस्पताल ल्याएका थिए ।
'अर्को समूहले कुटपिट गरेर पुनलाई भीरमा खसालेको बुझिएको छ,' डिएसपी कुँवरले भने, 'बेनीमा उपचार हुन नसकेपछि पोखरा पठाइएको हो ।' कोटगाउँ र रातामाटाका युवाको समूहबीच कुटाकुट भएको थियो ।
प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । कुटाकुटमा संलग्नको खोजीमा प्रहरी परिचालन भएको छ ।
प्रतिक्रिया दिनुहोस !