फस्टाउँदै किवी खेती
बेनी : जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले ६ रोपनी पाखोबारीमा किवी खेती गरेको पाँच वर्ष भयो। कोदो, मकै र गहुँबाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन। ‘किवी लगाएपछि जंगली जनावरले पनि दुःख दिएका छैनन्’, तिलिजाले भनिन्, ‘कोदो–मकै लगाउँदा भन्दा आम्दानी पनि राम्रो छ।’ कोदो लगाउँदा वर्षमा दुई दुई क्विन्टल उत्पादन हुन्थ्यो। किवीका ७० मध्ये ५० वटा बोटले फल दिन्छन्।
गत वर्ष प्रतिकिलो २ सय ५० रुपैयाँका दरले पाँच सय किलोग्राम किवी बेचेको तिलिजाले बताइन्। यसपालि गत वर्षभन्दा बढी फलेको छ।
चार रोपनी पाखोबारीमा लगाएको ५० वटा किवीका बोटबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गएको याममा पाँच सय किलोग्रामभन्दा बढी उत्पादन गरे। मकै, कोदो र आलु खेती गर्दा वर्षमा बढीमा २० हजार रुपैयाँ आम्दानी हुने उक्त क्षेत्रफलमा किवीबाट ७५ हजार कमाइ भएको पुर्जा बताउँछन्। ‘अरूले प्रतिकिलो तीन सय रुपैयाँभन्दा बढीमा बिक्री गर्छन् तर हामीले उपभोक्तालाई आकर्षित गर्न प्रतिकिलो डेढ सयमा बेच्यौं’, पुर्जाले भने, ‘अन्नबालीको भन्दा किवीबाट धेरै बढी आम्दानी भयो।’
अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दीका कृषक पछिल्लो समय व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। म्याग्दीको राम्चे, बरन्जा, दिच्याम, कुहुँ, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट, बाँसखर्क र शालिजा क्षेत्रमा केही वर्षयता किवी खेती विस्तार भएको छ। ३२ वर्षअघि जापानबाट आएका स्वयंसेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक राम्चेमा किवी भिœयाएका थिए।
स्वादिलो, धेरै पौष्टिक तत्त्व पाइने र स्वस्थ्यकर मानिने किवीको बजारमा माग र खपत बढेको छ। लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेका अनुसार समुद्री सतहदेखि १५ सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ। ‘भिटामिन सीलगायत पौष्टिक तत्त्व पाइने किवी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ,’ उनले भने ‘राम्रो भयो भने एकै रोपनीमा चार लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ।’ पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ।
अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ। किवी चीनमा विकास भएको फलफूल हो। न्युजिल्याडले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ। सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेटअनुसार प्रतिगोटा एक सय रुपैयाँ छ। निजी नर्सरीबाट तीन सय रुपैयाँ प्रतिबिरुवा बिक्री हुन्छ।
कृषि ज्ञान केन्द्रले गत वर्ष मोडेल फार्म कार्यक्रममार्फत एउटा किवीको फार्म स्थापनाका लागि अनुदान दिएको थियो। यो वर्ष चार वटा किवी फार्म स्थापनाका लागि आवेदन परेको छ। सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए।
प्रति ८ वटा पोथी बिरुवा बराबर एउटा भाले किवीको बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ। फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो।
प्रतिक्रिया दिनुहोस !