चाडपर्व मनाउन छुट
विराटनगर : नेपालीहरूको दोस्रो महान पर्व तिहार सुरु भइसकेको छ। अर्को पर्व छठ पनि नजिकिँदैछ। तिहार सुरु नहुँदै छठ पर्व मनाउन पाउनुपर्ने विषयमा विराटनगरमा धेरै हल्लाखल्ला भयो।
तिहार र छठका बारेमा प्रशासनले कुनै निर्णय लिन नपाउँदै आन्दोलन गर्ने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो। प्रशासनले खोला, पोखरी र नहरमा छठ पर्व मनाउन नदिए सरोकारवालाले जबरजस्ती गर्ने अडान लिए। यस्तै चर्चा भइरहेका बेला प्रशासनले चाडपर्व मनाउन कुनै रोकछेक नगरिएको जनाएको छ। धार्मिक परम्पराअनुसार सुरक्षित तबरबाट चाडपर्व मनाउन आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।
‘चाडपर्व मनाउन कसैलाई पनि रोक लगाइएको छैन र रोकिँदैन पनि,’ उनले भने, ‘तर चाडपर्वका नाममा हुने भीडभाड र हुलहुज्जत भने नियन्त्रणमा लिइने छ।’ भीडभाड गर्दा कोरोना संक्रमणको अवस्था झनै भयावह बन्नेतर्फ सबैलाई सचेत गराइएको निरौलाले बताए। ‘छठ पर्वका नाममा घाटमा जग्गा भाडामा लगाउनेहरूले हल्लाखल्ला गरेको पाइयो,’ उनले भने, ‘चाडपर्वमा समूहमा भेलाजम्मा नहुन र भीडभाड नगर्न सबैमा अनुरोध गरिएको छ।’ तर चाडपर्व नै मनाउन नपाउने गरी बन्देज नलगाइएको उनले स्पष्ट पारे।
तिहार तथा छठ पनि आफैं सुरक्षित भएर मनाउन सबैलाई खुला रहेको निरौलाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !