फुक्यो संवादको गाँठो

फुक्यो संवादको गाँठो

मोदीको सन्देश : सम्बन्ध सुमधुर बनाऔं, ओलीको प्रत्युत्तर : नेपाल पनि त्यही चाहन्छ


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाएका छन्। प्रधानमन्त्री ओलीसँग बिहीबार बालुवाटारमा शिष्टाचार भेट गर्दै भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगलाले आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाए, ‘भारतले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ। केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस् भन्ने म चाहन्छु। त्यसका लागि वार्ता गर्न भारत सदा तयार छ। त्यही सन्देश पुर्‍याइदिनुहोस् भनेर प्रधानमन्त्री (मोदी) ज्यूले भन्नुभएको छ।’ 

विदेशसचिव शृंगलाले दुई देश सरोकारका विविध विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग विस्तृत र सौहार्दपूर्ण कुराकानी भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराए। 

समकक्षी मोदीलाई प्रत्युत्तर सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आफ्नो पनि दुई देशको ऐतिहासिक सम्बन्ध सकेसम्म छिटो पूर्ववत् सुमधुर बनाउने चाहना रहेको बताए। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार ओलीले पनि संवादकै माध्यमबाट समाधान चाहेको अवगत गराए। 

‘भारतसँगको सम्बन्धलाई हामी उच्च प्राथमिकता दिन्छौं। परापूर्वकालदेखिको मैत्रीपूर्ण सम्बन्ध पुन: सुमधुर होस् भन्ने हाम्रो पनि चाहना छ’, प्रधानमन्त्री ओलीले सचिव शृंगलासँग भने, ‘सीमालगायत समस्या समाधान संवादका माध्यमबाट मात्र सम्भव छ। हामी जुनसुकै तहको वार्ताका लागि तयार छौँ।’ 

‘हामी दुई देशबीचको आपसी  र बहुआयामिक सम्बन्धलाई एक्काइसौं शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौं। सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपमा समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं’, सल्लाहकार भट्टराईका अनुसार सचिव शृंगलासँग प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतका रूपमा छाडेका समस्या हुन्। यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ। त्यसैले मिलेर समाधान गरौं। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्छु।’

भेटलाई सचिव शृंगलाले उपलब्धिमूलक भनेका छन्। ‘हामीबीच उपलब्धिमूलक र उपयोगी वार्तालाप भएको छ। द्विपक्षीय सहयोगका धेरै विषयमा हामीले कुरा गर्‍यौं। यसले हाम्रो सहयोगको बहुआयामिक र व्यापक स्वरूपलाई देखाएको छ’, प्रधानमन्त्रीसँगको भेटपछि उनले भनेका छन्। 

एक वर्षपछि औपचारिक वार्ता 
सीमा विवादका कारण झन्डै एक वर्षदेखि रोकिएको संवाद औपचारिक रूपमा बिहीबार खुला भएको छ। परराष्ट्र सचिवस्तरमा भएको बैठकले लामो समयदेखि नेपाल–भारतबीच रहेको आशंका अन्त्य गरेको छ। दुुई मुलुकबीच संवादको ढोकासमेत खोलिदिएको छ।  भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नेपालले उक्त कदमको विरोध गरेको थियो। लगत्तै नेपालले संविधान संसोधन गरी ती भूभाग समेटेर राष्ट्रिय सहमतिमा नयाँ नक्सा सार्वजनिक गर्‍यो। त्यसपछि नेपाल र भारतबीच औपचारिक संवाद ठप्प भए। 

नेपाल–भारतका विभिन्न औपचारिक÷अनौपचारिक संयन्त्रको निरन्तरको पहलपछि झण्डै एक वर्षपछि दुुई मुलुकबीच औपचारिक वार्ता सुुरु भएको छ। नेपालका तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेल र भारतका तर्फबाट विदेशसचिव हर्षवर्धन शृंगलाले बैठकको नेतृत्व गरेका थिए। बैठकमा नेपाल–भारतबीच देखिएका सीमा विवादबारे विषय उठेन। 

बैठकबाट बाहिरिँदै भारतीय विदेशसचिव शृंगलाले द्विपक्षीय बैठक फलदायी भएको प्रतिक्रिया दिएका  थिए। उनले द्विपक्षीय हितका विषयका धेरै पक्षमा छलफल भएको र त्यसले आउने दिनलाई सहज बनाउने बताए। परराष्ट्रसचिव पौडेलले भारतीय विदेशसचिव शृंगलासँगको अनौपचारिक छलफलमा कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत सीमा विवादको समाधान खोज्न दुवै मुलुक अग्रसर हुनुपर्ने प्रस्ताव राखेका थिए। विदेशसचिव शृंगलाले वार्ताका माध्यमबाट सबै खाले विवाद समाधान गर्न भारत तयार रहेको प्रत्युत्तर दिएको स्रोतले बताएको छ। 

सचिवस्तरीय बैठकपछि विदेशसचिव शृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरे। त्यस अवसरमा मन्त्री ज्ञवालीले लिम्पियाधुरा क्षेत्रको विवाद समाधान गर्न भारत अग्रसर हुनुपर्ने बताएका थिए। उनले सीमा विवाद र ईपीजी प्रतिवेदनमा गम्भीर ढंगले छलफल गर्न आवश्यक रहेको उल्लेख गरे। 

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटमा सचिव शृंगलाले भारतको कोरोना भ्याक्सिन आउनासाथ प्राथमिकतासाथ नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाए। त्यस अवसरमा शृंगलाले कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने रेम्डिसिभिर र अन्य स्वास्थ्य सामग्री मन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेका थिए।  बैठकपछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, संस्कृति, हवाई तथा रेल सञ्जाललगायत द्विपक्षीय हितबारे छलफल भएको उल्लेख छ। बैठकमा भारतीय लगानीमा निर्माण भइरहेका विभिन्न परियोजनाबारे परिचर्चा भएको थियो। बैठकले द्विपक्षीय हितमा सञ्चालन भइरहेका परियोजना सन्तोषजनक रूपमा अघि बढिरहेको ठहर गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.