भौंज्याहा : एक सामाजिक क्रुसेड

भौंज्याहा : एक सामाजिक क्रुसेड

खस र आर्य समाज तथा सनातन संस्कृतिमा जति सामाजिक र धार्मिक सुधारका अभियन्ता, सन्त, महात्मा, महापुरुष र औतारीहरू देखिए; त्यतिको संख्यामा सायद कुनै अन्य धर्मदर्शनमा देखिएनन्। हरेक युगमा कुनै न कुनै युगपुरुष, महात्मा, द्रष्टा, तपस्वी र सुधारकको उद्भव भएकै छ। तर पनि यसै समाज तथा सनातन संस्कृतिको पछिल्लो संस्करणमा जति समस्या, विभेद, विद्वेष र अन्धविश्वास अन्य कुनै पनि समुदायमा देखिँदैन। ईश्वरकै हकमा पनि विश्वका अधिकांश धर्मदर्शनमा एक ईश्वरको आराधाना छ, र ऊ नै अन्तिम हो।

हामीकहाँ शास्त्रप्रदत्त व्यवस्थामै अनगिन्ती ईश्वरको कल्पना छ, र एउटा सामान्य मान्छे पनि ईश्वरको सत्तामा उक्लन सक्ने प्रावधान छ। जति धेरै ईश्वर, ईश्वरीय व्याख्या र मान्यता, उति नै समस्या पनि समाजमा विद्यमान छ। तिनका विरुद्ध समयसमयमा सुधारक, चिन्तक, लेखक, संघसंस्था र प्रतिष्ठानहरूले विद्रोह गर्दै र आवाज उठाउँदै पनि आएका छन्। तर पनि समस्या अनगिन्ती छन्।

पुस्तकले मृत्यु, पापपुण्य, स्वर्ग–नर्क, पुनर्जन्म तथा मृत्युसंस्कारसँग गाँसिएका धेरै मान्यतालाई खारेज गरेको छ। मरेर गइसकेको मान्छेको आत्माको शुद्घि वा शान्तिका लागि गरिने कष्टसाध्य उपक्रमहरू निरर्थक रहेको लेखकको ठहर छ।

खास समाज र सनातन संस्कृतिका हिमायतीमाझ विद्यमान अनेकौं धार्मिक, सामाजिक र सांस्कृतिक समस्यामाथि निर्मम प्रहार गर्दै समाज सुधारका पाटाहरू खोतल्न पछिल्लो समय नेपाली साहित्य बजारमा एउटा पुस्तक आएको छ- ‘भौंज्याहा’। ‘महारानी’ उपन्यासका लागि मदन पुरस्कार पाएर चर्चामा आएका पर्वतका लेखक चन्द्रप्रकाश बानियाँको पछिल्लो कृति हो यो। निबन्ध संग्रहको रूपमा प्रकाशित पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो। ४० थान निबन्ध समेटेको यस पुस्तकको प्रकाशनसँगै ‘भौंज्याहा’मा उठाइएका मुद्दाहरू जनमानसमा चर्चाको  विषय बनेका छन्। 

यसले सामाजिक–धार्मिक जीवनका अनेक आयामको चर्चा गरेको छ, यद्यपि केही राजनीतिक र ऐतिहासिक विषयमा देखिएका चुकहरूमाथि पाठकको ध्यानाकर्षण गरेको छ। ‘म’ हुनुको शास्त्रीय व्याख्यादेखि त्यसको भौतिक यथार्थसम्म, जातहरूको उत्पत्तिकथा, स्वर्ग र नर्कसम्बन्धी जनविश्वास र शास्त्रीय मान्यता, मृत्युसंस्कार, काजकिरिया, गोत्रहरूको शास्त्रीय आधार र तिनको तरलता, रजस्वला र त्यसको व्यवस्थापन आदि दर्जनौं विषय छन्। यी सबै विषयवस्तुको विनिमयमा लेखकले एउटा संरचनागत एकरूपता कायम गरेका छन्। उनी जनमानसमा व्याप्त उक्त विषयप्रतिको आममान्यताबाट प्रवेश गर्छन्, शास्त्र वा ग्रन्थहरूबाट साक्ष्य र प्रमाणहरू भेला पार्छन्, तिनको निर्मम विपठन गर्छन्। निजी विश्वदृष्टिको आधारमा तिनको वैज्ञानिक विश्वसनीयतामाथि प्रश्न गर्छन्। सम्भव भए नवीन उपायहरू पनि सुझाउँछन्। यही संरचना प्रायः सबै निबन्धमा प्रयुक्त छ। 

निबन्धका सबै कथ्य र संरचनाको चर्चा गर्न सम्भव छैन। गोत्र वंश निबन्धमा गोत्रको मान्यता नै यति तरल देखिन्छ कि कसैले कुनै पनि बेला, आफ्नो चाहनाअनुसार गोत्र परिवर्तन गर्दिन सक्छ। लेखकले पृथ्वीनारायण शाहले काशी गएर आफ्नो गोत्र परिवर्तन गरेको साक्ष्य प्रस्तुत गरेका छन्। गोत्र एउटै पारिवारिक अनुवंशिक स्रोतको मान्यता हो भनिरहँदा कसैले गोत्र समाउन र छोड्न मिल्ने, साट्न मिल्ने, परिवर्तन गर्न मिल्ने, वा कसैलाई अन्य गोत्रमा पठाउन मिल्ने भएपछि गोत्रको सारभूत मान्यता प्रश्नको घेरामा छ।

पुस्तकले मृत्यु, पापपुण्य, स्वर्ग–नर्क, पुनर्जन्म तथा मृत्युसंस्कारसँग गाँसिएका धेरै मान्यतालाई खारेज गरेको छ। मरेर गइसकेको मान्छेको आत्माको शुद्धि वा शान्तिका लागि गरिने कष्टसाध्य उपक्रमहरू निरर्थक रहेको लेखकको ठहर छ। त्यसैले अनेकौं दिनसम्म काजकिरियाका नाममा दुःख झेल्नु र अल्झिरहनुमा कुनै पनि वैज्ञानिकता नरहेको निबन्धकारको मान्यता छ। रजस्वला हुनुको वैज्ञानिक यथार्थविपरीत यससँग गाँसिन पुगेका सामाजिक मान्यताहरूले उत्पन्न गरेको विभेद, विद्वेष र जोखिमको लेखकले कडा शब्दमा निन्दा गरेका छन्। वैज्ञानिक आधार र तर्कहरूको समुचित व्याख्याबिनै भिराइएको जनैको र थोपरिएको गायत्रीको औचित्यमाथि पनि उनको निर्मम प्रहार छ। कुलदेउता, मष्टोप्रथा, दाजु दिवंगत भएपछि देवर–भाउजूबीच विवाह हुने र सन्तानसमेत जन्माउने चलनको उनले विवेचनामात्रै गरेका छैनन्; तिनमा आउनुपर्ने सुधारको वकालत पनि गरेका छन्। पुस्तकको शीर्ष निबन्ध ‘भौंज्याहा’ले देवर–भाउजूको समागमबाट जन्मेका सन्तानलाई इंगित गर्छ।

निबन्धका विषयहरू हेर्दै थाहा हुन्छ— उनको विषय छनोटका आयतन र उनको आक्रमण गर्न खाजेको क्षेत्र। उनको कलमले छोएका थप विषयमा खस जातिको उत्पत्तिकथा र विस्तार, उच्च तथा सम्भ्रान्त परिवारमा प्रचलित भाषा र शब्दावलीको सामाजिक प्रभाव, खतरनाक बन्दै गएको अन्ध राष्ट्रवाद, लखन थापालाई उनीभन्दा अघि आउने सहिदको अपमान गर्दै दिइएको प्रथम सहिदको बिल्ला, पैतृक वर्ण र द्यौसी भैलोको उत्पत्ति, नेपाली र हिन्दूत्वको भ्रमपूर्ण सम्बन्ध, माक्र्सवादी भाग्यवादको उपहास, पशु बलिको विरोध, दौरा–सुरुवालको निष्पक्ष विवेचना, बुद्धावतारको नालीबेली, स्वर्गको खोजीको निरर्थकता, काठमाडौंको नामकरण, सालिक भञ्जनको फेसन आदि हुन्। कतिपय निबन्ध मानवशास्त्रीय दृष्टिकोणले पनि अर्थपूर्ण छन्। तिनले जातहरूको उत्पत्तिमा विद्यमान कतिपय भ्रमलाई चिर्ने कोसिस भएको छ। उदाहरणका लगि नेपालका खस जातिले आफू आर्यवंशी हौं भनेर गरेको विश्वासलाई उनले चुनौती दिएका छन्।

निबन्धकारको इमानदारिता लेखनमा छ। जुन खस कुल र सनातन धर्मसंस्कृतिमा उनी हुर्के र बढे, त्यसैको पनि तटस्थ विश्लेषण र आवश्यक परेको खण्डमा निर्मम आलोचना उनले गरेका छन्। पहिचानवादको लहरमा अचेल आफ्नो जात र समुदायसँग सम्बन्धित सबै कुरा उत्कृष्ट भन्ने भ्रमको व्यापार चलिरहेका बेला उनले आँखा खोलिदिएका छन्। राष्ट्रका र आलोचना गर्न नहुने भनिएकै विषयमा पनि चित्त बुझेन भने बोल्नुपर्छ भन्ने दृष्टान्त छन्। तर त्यसका लागि यथेष्ट शास्त्रीय र ऐतिहासिक साक्ष्य र तथ्य चाहिन्छ, त्यो कुरा पनि यसै पुस्तकले दर्र्शाएको छ। सामाजिक र धार्मिक मान्यताका अतिरिक्त पुस्तकले केही ऐतिहासिक विषयमा विमति प्रस्तुत गरेको छ। प्रथम सहिद भनेर स्वीकृत लखन थापाभन्दा अघि पनि देशका लागि बलिदानी दिने थुप्रै वीरको उनले तर्क गरेका छन्।

भाषिक दृष्टिले अलि क्लिष्ट पनि हुन सक्छ। जुन भावभूमिबाट यो निबन्ध संग्रह प्रकाशित भयो, त्यसको विवेचना गर्दा केही लेखकीय आग्रह प्रस्ट हुन जान्छन्। उनी आफ्नो अनिश्वरदावी राजनीतिक चिन्तनतिर अलि बढी आग्रही भएका कारण शास्त्रका ती सकारात्मक, समाजसम्मत र समताका पक्षपाती पाटाहरूको अन्देखा गरेको प्रस्टै देखिन्छ। वैज्ञानिकता हाम्रो व्याख्यामा हुनु जरुरी छ। शास्त्र फगत एक प्रतीकात्मक नीतिकोश हो। अर्को कुरा, हिन्दू धर्मग्रन्थका अतिरिक्त अनेकौं अन्य र आगन्तुक दर्शन र पद्धतिहरूको प्रभावले नेपाली समाजले आजको रूप धारण गरेको हो। तर लेखकले ती अन्य प्रभावको विवेचना गरेका छैनन्। उनको एकलव्य दृष्टि हिन्दू धर्मशास्त्रतिर देखिन्छ।

तेस्रो, शताब्दीयौंको अन्तरालमा जाति, भाषा र समुदायमा जुन प्रकारको आपसी विमितीय भयो; त्यसले धार्मिक, सांस्कृतिक र नश्लीय शुद्धताको प्रश्नलाई आफैं अमानक बनाइदिएको छ। त्यसैले खसहरूमै सही, त्यस प्रकारको शुद्धता खोज्नु र बाह्य प्रभावप्रति चिन्ता भाव प्रकट गर्नु पनि औचित्यहीन लाग्छ। जति नै वैज्ञानिक व्याख्या र विवेचना गरिए पनि, धर्म र संस्कृतिसँग गाँसिएका विषय धेरै संवेदनशील हुने र समुदायको पहिचान र प्रतिष्ठासँग गाँसिएका हुन्छन्। त्यसैले त्यस्ता विषयको चर्चालाई थप ग्राह्य बनाउन अलि संयमित, अनि वक्र र थोरै प्रतीकात्मक बनाउनु जरुरी हुन्छ। नत्र, यो सम्पूर्ण क्रुसेड प्रत्योत्पादक पनि हुनसक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.